Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांशमा वाणिज्य बैंकको जोड, ४ वटाले गरे लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १२ : ४१ मा प्रकाशित

नगद लाभांशमा वाणिज्य बैंकको जोड, ४ वटाले गरे लाभांश घोषणा

असाेजसम्ममा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत कुल ४ वटा वाणिज्य बैंकले लाभांश घाेषणा गरेका छन् । याे समय भनेकाे धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने बेला हाे ।

साेही अनुसार नेप्सेमा सूचिकृत ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । बैंकहरूकाे यसपालीकाे लाभांश हेर्दा वाणिज्य बैंकहरूले नगद लाभांशमा जाेड दिएका बुझ्न सकिन्छ 

यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

हालसम्म लाभांश घाेषणा भएकाे ४ वटा वाणिज्य बैंकमध्ये कुमारी बैंक र सिटीजन्स बैंकले बाेनस बिना नै नगद लाभांशकाे घाेषणा गरेका छन् । यता बैंक अफ काठमाण्डु र एनसीसी बैंकले बाेनससहित घाेषणा गरेपनि जाेड भने नगदमा दिइएकाे देखिन्छ । दुवै बैंकले बाेनस भन्दा धेरै नगद दिने भएका छन् ।

बैंकहरूले नगद लाभांशमा जाेड दिनु एक हिसाबले हेर्दा लगानीकर्ताहरूका लागि फाइदाजनक पनि छ । पछिल्लाे समय सेयर बजार निरन्तर घटिरहेकाे छ । घट्दो बजारमा कुनै कम्पनीले बाेनस दिएर मूल्य समायोजन भैसकेपछि कम्पनीको सेयरमूल्य अझै घट्न सक्ने सम्भावना हुन्छ। नगद लाभांश घाेषणा गर्दा भने लगानीकर्ताहरुको हातमा नगद पर्ने हुँदा अन्य आवश्यकताहरु पूरा गर्नकै लागि लगानीकर्ताहरुले सेयर बिक्री गर्नुपर्ने बाध्यता कम हुन जान्छ । मूल्य समायोजन नहुँदा सेयर मूल्य पनि माथिल्लै लेभलमा रहन्छ। यता बाेनस दिँदा भने सेयर संख्या बढ्न जान्छ र त्यसले अन्तत: सप्लाई बढ्न गई मूल्य तलातिरै राख्ने काम गर्दछ।  

यी हुन् हालसम्म लाभांश घाेषणा गरेका ४ वटा वाणिज्य बैंक

१. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  बैंकको बाईसौँ वार्षिक साधारण सभा कात्तिक २१ गते, सोमबार  कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजेदेखि संचालन गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तर मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ । त्यसैले असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक ४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुँदैछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एकदिन बुकक्लोज गरिसकेकाे छ ।

३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । हालसम्म बैंकले साधारण सभा र बुकक्लाेज मिति ताेकेकाे छैन ।

४. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले पनि हालसम्म साधारण सभा र बुकक्लाेज मिति ताेकेकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको