Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १३ : २३ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (कार्तिक १८ गते, शुक्रबार) क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

साधारण सभामा प्रस्तुत विशेष प्रस्ताव अन्तर्गत मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक हाल गाभ्ने/गाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा सञ्चालक समितिको भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

क्यापिटलको एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी तुल जंग पाण्डेले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक समिति सदस्यहरु दिपक कुमार श्रेष्ठ, सृजना पाण्डे, रविन्द्र भट्टराई र आनन्द कुमार भट्टराईको समेत उपस्थिती रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा साधारण सभा  सु–सम्पन्न भएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप क्यापिटलले प्रदान गर्ने सेवाहरु समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सेवालाई थप परिस्कृत गर्दै आगामी दिनमा शाखा सञ्जालको बिस्तार गर्ने समेत जनाएको छ ।

क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै समुहिक लगानी कोष तर्फ एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत हाल दुई बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत सञ्चालनमा रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल सहभागिता फण्डमा नेपालकै पहिलो खुलामुखी योजना समेत रहेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष ब्यवस्थापकको अनुमति पत्र समेत प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लगानी कोष संचालन गर्ने समेत जनाएको छ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको