Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सबस्टेशन बनाउँदै प्राधिकरण

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १७ : ४८ मा प्रकाशित

काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सबस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रूपमा हुने विद्युत विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो ।

प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौं उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए ।

यस्तै, उहाँले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाउने घोषणा गरिसकेका छन् । सोही क्रममा काठमाडौं उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो । प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौंमा बाध्यकारी रूपमा लोडसेडिङ हुनसक्ने अवस्थाको सिर्जना भएको प्राधिकरणको भनाइ छ ।

उपत्यकाभित्र कूल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेशन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।

यही क्रममा साबिकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको वडा नं ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सो सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा नौ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको