Like us!
Follow us!
Connect us!
Watch us!

ऐन विपरित ऋण लिएका प्रसाईंमाथि कारबाही गर्न पछि हट्दै सरकार !

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १५ : ५० मा प्रकाशित

ऐन विपरित ऋण लिएका प्रसाईंमाथि कारबाही गर्न पछि हट्दै सरकार !

२० लाखमुनीको ॠण मिनाहा हुनुपर्छ भन्दै बैंक तथा वित्तीय क्षेत्रलाई नै चुनौति हुने गरी अराजक गतिविधी फैलाइरहेका व्यवसायी दुर्गा प्रसाईं आफैँले गैरकानूनी रूपमा अर्बौँको ॠण लिएको खुलासा भएको छ ।

पहुँचको आडमा ऐन विपरित ॠण लिने उनी आफैँले वित्तीय क्षेत्रको विरूद्धमा  बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने लगायतका कृयाकलापको नेतृत्व गरिरहेका छन् ।   

जग्गा किनबेचमा कर छल्ने र ऋण लिँदा बैंकिङ्ग कसूर हुने चलखेल बारम्बार गर्दै आएका प्रसाईंमाथि सरकार र सम्बन्धित निकायले भने कुनै छानबिन गरेको पाइएको छैन । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा प्रसाईंले ऐन विपरित ॠण लिएको कुरा उल्लेख गरिएको छ । यद्यपी त्यहाँ उनको नाम भने उल्लेख गरिएको छैन ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, "भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरको २०७७ । ४ । २ को राजिनामा लिखतबाट अनारमनी ३ को ५७१.४८ वर्गमिटर क्षेत्रफल भएका ५ कित्ता जग्गा एक निजी अस्पतालले आफ्नै सञ्चालकबाट रू. ८ करोड थैली अङ्क कायम गरी खरिद गरेकोमा सोही जग्गा तथा लिग लगापात समेत २०७७ । ४ । ४ मा सोही कार्यालयबाट विभिन्न ४ वित्तीय संस्थासँग दृष्टिबन्धक लिखत पारित गरी रू. १ अर्ब ७४ करोड ऋण लिएको देखियो । सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगापातको मूल्य समावेश गरेको छैन । जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्याङ्कन गराई वित्तीय संस्थाबाट ऋण लिंदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्य भन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले सम्बन्धित बैङ्कहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्दछ । एक दिनको फरकमा रजिष्ट्रेसन प्रयोजनमा जग्गाको थैली अड न्यून देखाउने तर सोही जग्गा दृष्टिबन्धक गर्दा खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अङ्क कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्नुपर्दछ ।"

भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते प्रसाईंले अनारमनी-३ (बिर्तामोड) को १८ आना जग्गा आठ करोड रुपैयाँ थैली रकम कायम गरेर बिक्री गरे । प्रसाईंकै स्वामित्वको बीएन्डसी अस्पतालले त्यो जग्गा किनेको हो । यो किनबेच भएको दुई दिनपछि अर्थात् २०७७ साउन ४ गते सोही जग्गा चार वटा बैंक तथा वित्तीय संस्थामा धितो राखी अस्पतालले एक अर्ब ७४ करोड रुपैयाँ ऋण लियो। अर्थात्, दुई दिनको फरकमा जग्गाको मूल्य रजिस्ट्रेशन गर्दाको भन्दा २२ गुणा बढी मूल्याङ्कन गरिएको थियो ।

कहाँ आफ्नो सम्पत्ति खर्चेर गरीबको ऋण तिरिदिने शंखधर, कहाँ बेतुकमा उफ्रिने दुर्गा प्रसाईं !

प्रसाईंको स्वामित्वको अस्पतालले धितो राखेर बैंकहरूबाट लिएको ऋण बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गत सीधै छानबिनको विषय रहेको देखिएको छ ।

ऐनमा के छ ?

ऐनको दफा ७ (ख) ले ‘धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी कर्जा लिन वा दिनुलाई’ बैंकिङ कसूर मान्दै यस्तो कसूर गर्नेबाट बिगो भराई चार वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

महालेखाले पनि दुई दिनको फरकमा रजिस्ट्रेशन प्रयोजनमा जग्गाको थैली न्यून देखाउने तर सोही जग्गा दृष्टिबन्धक गर्दा खरीद मूल्यभन्दा २२ गुणा बढी थैली कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा थप छानबिन गरी छूट भएको राजस्व असुल्न सरकारलाई सुझाव दिएको छ । तर, महालेखाले दिएको सुझाव अनुसार यस प्रकरणको कुनै छानबिन भएको पाइएको छैन । 

यस बारेमा सरकारले आवश्यक छानबिन प्रकृया अगाडि बढाउनु पर्ने जरूरी देखिन्छ । सरकारले छानबिन गरी राजस्व छलिएको रकम उठाउने प्रयत्न गर्नुपर्छ । अनि धितोको अधिक मूल्यांकन गराई ऋण लिने प्रसाईं र एन विपरित ॠण दिने बैंक दुवैलाई आवश्यक कारबाही गर्नुपर्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको