Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा बिकेनन् तिहारका फूल,भारतीय फूल बेचिँदा स्थानिय कृषक मर्कामा

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, १० : ४९ मा प्रकाशित

पोखरामा बिकेनन् तिहारका फूल,भारतीय फूल बेचिँदा स्थानिय कृषक मर्कामा

गएको वर्ष पोखराबासीले फूलको अभावमा चर्को मूल्य तिर्न बाध्य भएकै कारण पोखरा महानगरले सयपत्री फूल मेला नै आयोजना गर्‍यो । तामझामपूर्ण समुद्घाटन समारोह भयो । कृषकहरु पनि निकै हौसिए । बारीमा फुलाएका फूलहरु सडकपेटीमा बेच्न परेन, स्टलमै व्यवस्थित तबरले बेच्न पाइयो भनेर मख्ख थिए । तर, महानगरले राम्रो उद्देश्यका साथ मेला गरेपनि व्यवस्थापनमा चुक्यो र स्टलसम्म उपभोक्ता पुग्नै सकेनन् । तिहार सकियो तर स्थानीय कृषकका बारीका सयपत्री फूल एक तिहाई पनि सकिएन ।

पोखरा महानगरपालिकाले सिद्धार्थ चोकमा एउटा निजी कम्प्लेक्स भाडामा लिएर स्थानीय फूलका दर्जन जति स्टल राखेको थियो । महानगरपालिकाले श्री कम्प्लेक्ससँग समझदारी गरेर रैथाने हाटबजार तथा सयपत्री फूल मेला–२०८० कार्तिक २५ देखि २८ गतेसम्म गरेको थियो । यी स्टलमा फूल बेच्न बसेकाहरु निराश हुँदै उठेका छन् ।

महानगरले निःशुल्क रुपमा स्टल उपलब्ध गराएर राम्रो काम गरेपनि ठाउँको प्रचार गर्नुपर्ने जति नगरेको, नाकामा कडाई नगर्दा भारतबाटसमेत फूलमाला आएको, बाहिरी जिल्लाले नै पोखरा कब्जा गरेको उनीहरुको गुनासो छ । महानगरले ठूलाको प्रति थुँगा ५ रूपैयाँ मूल्य तोकेको थियो । तर, मेलामा फूल नबिकेपछि किसानले घटाएर एक थुंगाको एक रुपैंया नै मूल्य राख्दा पनि फूल बिकेन ।

महानगरले प्रतिमाला २ सय तोकेपनि १ सयमा ३ वटा माला बेच्न बाध्य भएको पोखरा २१ की श्रीधरा अधिकारी बताउँछिन् । उनी भन्छिन्– ‘मेरो बुवाले सकिनसकि लगाउनुभएको फूल हो यो । बजार नै पाएन । बरु सडकतिरै बेच्न पाएको भए सबै विक्री हुन्थ्यो । गत वर्षजस्तो नभएपनि हाम्रो लागत खर्च त उठ्थ्यो । तामझामले उद्घाटन गरेको हो । त्यसैगरी यसको प्रचार गरेको भए यहाँ मान्छे पक्कै आउँथे । तर, व्यवस्थापन गरेनन् । १० प्रतिशत पनि यो मेला सफल भएन । पोखरा महानगरपालिका–२६ सुन्दरीबजारका केदार विश्वकर्माले ३ रोपनी जग्गामा लगाइएको फूलबाट ४ लाखसम्म आम्दानी हुने अपेक्षा गरेकोमा ५० हजारजति हातमा परेको सुनाए ।

स्टलमा एक थुप्रो फूल अगाडि भेटिएका उनले भने – ‘बाहिर व्यापार भएको छ । यहाँ फिटिक्कै भएको छैन,’ उनले महानगरलाई सुझाए, ‘महानगरले यहाँ स्टल राखिसकेपछि बाहिरको फूल हटाउनुपर्थ्यो । अर्को वर्षबाट यो सुधार्नुपर्छ ।’ पोखरा बाहिरबाट फूल आउँदा पनि आफूहरूको फूल नबिकेको उनको गुनासो छ ।

पोखरा काहुँखोलामा फूल खेती गर्दै आएका शंकर गुरूङ सडकपेटीमा बेच्न पाएका भए सबै फूल बेचिसक्ने बताउँछन् । महानगरको राम्रो पहल भएपनि सडकपेटी र भ्यानमा फूल बेच्न नरोकेको, रैथाने फूलको मेला छ भनेर प्रचारप्रसार हेतु माइकिङ नगर्दिएको उनको गुनासो छ । पोखरा रिठ्ठेपानी इन्द्रप्रसाद शर्माले पनि २ रोपनी खेतमा फूल फूलाए । तर, एक चौथाई पनि विक्री गर्न नसकेको गुनासो पोखे । महानगरले किसानलाई एकैठाउँमा ल्याएकोमा खुशी भएपनि व्यवस्थापन नभएको भन्दै अर्को वर्ष यसलाई सुधार गर्न सुझाए ।

तीन सय किलो सयपत्री फुलाएका पोखरा–२८, कालिकाका सोबितबहादुर अधिकारीले डेढ सय किलोमात्र बेच्न सके । लागत उठे पनि फूल बेचेर नाफा कमाउन नसकेको उनको भनाई छ ।

कालिकाकै लक्ष्मी अर्याल खत्रीले गत वर्ष कोदोबारीको डिलमै फूलाएको फूलले २० हजार आम्दानी दिएपछि हौसिएर ३ रोपनी जग्गामा ढकमक्क सयपत्री फुलाईन् । यतिबेला न फूलले बजार पायो, न अरु नै अन्न रोपियो । एक चौथाइ फूल पनि टिपेर नसकिँदै तिहार सकियो । ५० हजार रुपैयाँ लगानी उठाउन पनि उठाउन धौधौ भयो ।

यसरी फूल किसान मर्कामा परेपछि पोखरा महानगरले माग भन्दा आपूर्ति बढी भयो, बाहिरी फूल भित्रिएर स्थानीय कृषक मर्कामा पर्नु दुःखद कुरा हो । आगामी वर्ष व्यवस्थापकीय कमजोरी सुधार्छौं ।

6555a32d3a70c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको