Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको राजीनामै छ एमालेको जोड, सांसदहरु किन छन् उग्र ?

अर्थ संसार

सोमबार, २४ असार २०८१, ११ : १० मा प्रकाशित

प्रधानमन्त्रीको राजीनामै छ एमालेको जोड, सांसदहरु किन छन् उग्र ?

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदै छन्, अहिलेसम्मको राजनीतिक समीकरणमा उनको पक्षमा बहुमत जुट्ने सम्भावना देखिँदैन, तैपनि एमालेले लगातार उनको राजीनामामा जोड गरेको छ ।

केही दिन अघिसम्म सत्ता सहकार्य गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच राजीनामालाई लिएरै आइतबार प्रतिनिधि सभा बैठकमै भनाभन नै भएको छ ।  माओवादीसँग सत्ता गठबन्धन तोडेर प्रतिपक्षमा पुगेको पहिलो दिन नै एमालेका सांसदहरू प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचनामा उत्रिएका छन् । उता माओवादी केन्द्रका सांसदहरूले पनी त्यसको प्रतिरक्षा गरेका छन् ।

उनीहरूले भ्रष्ट र अनैतिक दलले नैतिकताको पाठ सिकाउन नहुने, प्रधानमन्त्री संवैधानिक व्यवस्था पालना गरेर अघि बढेको बताउँदै प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म धैर्य गरेर बस्न आग्रह गरे । 

यता नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिन दबाब दिइरहेका छन् । 

समर्थन फिर्ता लिइसकेको एमालेले आइतबार संसद बैठकअघि संसदीय दलको बैठक राखेर आज र अहिल्यै राजीनामा दिन आग्रह गरेको प्रमुख सचेतक महेश बर्तौलाले समेत जानकारी दिए । 

‘अल्पमतमा परेपछि तत्काल राजीनामा दिनुपर्छ भन्ने हाम्रो मत हो । बैठकबाट हामीले यस्ता निर्णय गरेका छौं । तर अल्पमतमा पर्दा पनि सरकारले कतिपय निर्णय गरेको छ । यस्तो गर्न मिल्दैन, बर्तौलाले भने, ‘हामी अगाडि राजीनामा दिनुपर्छ भन्नेमा छौं । यस्तो नभए असार २८ गते हामी प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्छौ ।’

एमालेले असार १९ गते ८ मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्तागठबन्धन बनाउने निर्णय भइसकेको छ । कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार गठन हुन सक्ने आशंका गरिरहेका वेला नयाँ गठबन्धनअनुसार सरकारकोे नेतृत्व गर्ने दल एमालेले राजीनामा मागेको हो । 

कतिपय संविधानविद्ले ७६ (२) अनुसार बनेको सरकारका प्रधानमन्त्रीले विश्वासको मत नपाए ७६ (३) अनुसार सरकार गठनको आह्वान हुन सक्ने बताएका छन् । ७६ (३) अनुसार संसद्को ठूलो दलको नेतृत्वमा सरकार गठन हुन्छ । 

प्रमुख दल एमालेले बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । त्यस्तै, अशोक राई नेतृत्वको जसपा नेपालले पनि सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको छ ।

संसद्मै भिड्दै सांसद

प्रधानमन्त्री प्रचण्डको राजीनामालाई लिएर सत्तापक्ष र विपक्षी संसदमै भिड्दै छन् । 
सत्तापक्षले भुटानी शरणार्थी र गिरिबन्धु ढाकछोप गर्न समीकरण फेरिएको दाबी गरेको छ भने विपक्षीले सत्तारूढ ठूलो दल एमालेले समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने माग गरेको छ  ।

संसद् बैठकमा कस्ले के भने ?
एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले बहुमत गुमाएर सांसदको आसन पनि फेरिएपछि शुक्रबारसम्म पनि कुर्न नहुने बताए । 
‘संंसद्को आसन बदलिसक्यो । यस्तोमा आक्रोश पोखेर हुँदैन । कांग्रेस र एमालेले नयाँ समीकरण बनाउन गरेको सहमतिपछि प्रधानमन्त्री अल्पमतमा मात्रै होइन घोर अल्पमतमा परिसक्नुभयो,’ उनले भने, ‘विश्वास र समर्थन गुमाइसकेपछि २८ गतेसम्म कुरेर किन पद लम्ब्याउने ? भोलि पनि राजनीतिक जीवन बाँकी छ । यसैले दुई दलबीच सहमति भइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिन उपयुक्त हुन्छ ।’ 

भट्टराईलगत्तै बोलेका माओवादी सांसद माधव सापकोटाले आसन परिवर्तन भएको र डुंगा प्वाल परेको भनिए पनि प्रधानमन्त्रीले संसदलाई ‘फेस’ गर्ने बताए । 

‘राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भन्नुभएको छ । तर दुई दलले भागबण्डा गरेर आधा–आधा कार्यकाल चलाउने भन्नुभएको छ । यसैले हामीले यो अदृश्य सहमतिमा कुनै स्थिरताको गुञ्जायस देखेका छैनौं,’ सापकोटाले भने, ‘बरु हामी अहिलेसम्म सहमतिपत्र सार्वजनिक नहुनु र गुपचुप राखिनुमा भय देखिरहेका छौं ।’

कांग्रेस, एमाले र अन्य साना दलले राजीनामा दिन भने पनि संवैधानिक अधिकार प्रयोग गर्ने तर नभाग्ने भन्दै बहादुरहरूले सामना गर्ने उनले स्पष्ट पारे । 

‘मुसा भाग्छन्, तर बहादुरहरूले सामना गर्छन् । साहसीले सामना गर्ने हो । नैतिकताको पाठ नसिकाउनुस् गिरिबन्धुको कालो धब्बा र बेचन झाबाट भएको बेचैनी फर्काउनुस् अनि कुरा गरौला,’ सापकोटाले भने, ‘राजीनामा दिनुपर्छ भनेर कहीँ लेखिएको छैन । संविधानमा भएको व्यवस्थाअनुसार सामना गर्ने, फेस गर्ने संवैधानिक अधिकार प्रयोग गर्छौ । लोकतन्त्रको सुन्दर प्रयोगको अभ्यास गर्छौ ।’

एमाले सांसद रघुजी पन्तले पनि बहुमत गुमाएका दलले नयाँ सरकारका लागि ठाउँ खाली गर्नुपर्ने संसदमै बताए ।

 ‘अहिले आएर अल्पमतमा परेपछि संविधानको धारा ७६ को उपधारा  २ मा जाने कि ३ मा जाने ? राष्ट्रपतिको चिन्ताको विषय हो,’ पन्तले भने, ‘उहाँको काम चाहिँ बहुमत गुमेपछि राजीनामा गरेर बाटो खुलाउने हो । सरकार कसरी बन्छ भनेर चिन्ता गर्ने होइन ।’

अर्थमन्त्री एवं माओवादी सांसद वर्षमान पुनले प्रधानमन्त्रीले विश्वासका मत माग्न पाउने विषयलाई अस्वाभाविक मान्न नहुने बताए । 

‘एमाले, कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वाभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ,’ उनले भने, ‘दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खोजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो ।’

कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनमा गए समर्थन गर्ने नभए विरोधमा उत्रिने उनको भनाइ छ ।  ‘कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनमा गए समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं,’ उनले भने, ‘सुशासनको पक्षमा काम गर्न, ठूला फाइलहरू खोल्न शुरू गर्दा किन आत्तिनु भयो ? कांग्रेस–एमाले भ्रष्टाचारीहरूको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’

एमाले सांसद सांसद योगेश भट्टराईले लामो राजनीतिक चरित्र बोकेर हिँडेको भए राजीनामा गरेर सरकार बनाउने मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । उनले ठूला राजनीतिक दलले आसन र राजनीतिक निर्णय बदलिसिकेको अवस्थामा असार २८ गतेसम्म समय केका निम्ति लिन खोजेको भन्दै प्रश्न गरे ।

‘किन आवश्यक भयो ? विश्वास गुमाइसक्नुभएको छ । समर्थन गुमाउनुभएको छ । लामो राजनीतिक व्यक्तित्व बोकेको भए भोलि पनि राजनीतिक गर्ने बाटो खुला छ । राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै माओवादीले असार १८ गते प्रस्ताव पठाएको खुलासा पनि गरे । त्यति बेला प्रचण्डले आफूले पद छाड्ने र ओलीलाई प्रधानमन्त्री बन्न अनुरोध गरेको उनले जानकारी दिए ।
‘संविधानको पुनरवलोकन गर्नका लागि ऐतिहासिक निर्णय गरेका छौं । आक्रोश पोखेर, बिलौना गाएर केही हुँदैन । तपाईं अल्पमतमा मात्र होइन, धैरै अल्पमतमा पर्नुभएको छ,’ भट्टराईले भने ।

सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डको स्वभाव नै क्षणिक रूपमा सहमति गर्ने खालको भएको टिप्पणी गरे । क्षणिक सहमति गरेर सरकार बनाउने र तत्कालै अर्को राजनीतिक समीकरणतर्फ लाग्ने प्रचण्डको स्वभाव रहेको उनले जिकिर गरे ।

‘कस्तो स्वभाव हो ? एमालेसँग हुँदा कांग्रेससँग समीकरण बनाउन खोज्ने र कांग्रेससँग हुँदा एमालेसँग समीकरण खोज्नुहुन्छ,’ उनले भने, ‘यो अवस्थाले हामीलाई कहाँ लग्यो भन्दा मुलुकको आत्मविश्वास दिन प्रतिदिन गुम्दै गयो । अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गयो । केही समयअघिको लगानी सम्मेलनमा ठूलो कमिटमेन्ट आएन ।’ 

भट्टराईले प्रधानमन्त्रीको जादुयी अंकगणित कुरा र नागरिकको निराशाले दुई ठूला दल मिल्न आवश्यक भएको बताए । 

‘जादुमयी अंकले एमालेप्रति नै अविश्वास व्यक्त गर्न थाल्नुभयो । देउवालाई बोलाएर राष्ट्रिय सरकार बनाउँ भन्ने प्रस्ताव अगाडि बढाउनुभएछ । प्रधानमन्त्रीको प्रस्ताव नाजायज होइन,’ उनले भने, ‘तर यस्तो सरकारमा पनि नेतृत्व प्रचण्ड नै गर्नुपर्ने ? देशका यावत समस्याको समाधान उहाँको नेतृत्वले गर्न सक्दैन भनेर कांग्रेस र एमाले मिलेका हौं ।’

कांग्रेस सांसद रामहरि खतिवडाले देशभरको सडक पहिरोले अवरुद्ध गरेजस्तै गरी सदन पनि सरकारले अवरुद्ध गरेको बताए । 

‘भर्खरै मात्रै देशभर पहिरोले सडक अवरुद्ध छन् । यता सदन पनि सरकारले पहिरोजस्तै बनेर अवरुद्ध गर्यो,’ खतिवडाले भने, ‘पहिरो पन्छाउने काम सडकमा गरेजस्तै सदनको पहिरो पनि पन्छाउनु पर्यो । बाटो छेकेजस्तै भयो ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको