Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले किन भन्दैछन् ‘बिष्णु बिष्णु’ ?

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, १२ : २३ मा प्रकाशित

लगानीकर्ताले किन भन्दैछन् ‘बिष्णु बिष्णु’ ?

यसपालि विष्णु पौडेलले अर्थमन्त्रीको रूपमा सोमबार शपथ ग्रहण गरेसँगै नेप्से चक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा ओर्लियो । लगानीकर्ताले सोमबार पनि बजार बढ्ने अनुमान गरेका थिए ।

अर्थमन्त्री पौडेलको स्वागतमा अपेक्षा अनुसार बजार नबढे पनि अर्थमन्त्रीको कार्यभार सम्हाल्दै पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकूल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताएका थिए । त्यसको भोलिपल्ट मंगलबार नेप्से परिसूचक ७० अंकले बढेर २३१०.५९ अंकमा पुगेको छ जुन २६ महिनायताकै उच्च विन्दु हो । २०७९ वैशाख २९ गते २३५०.४२ विन्दुमा पुगेयता नेप्सेले २३०० विन्दु नाघेको थिएन ।

प्रमुख दुई राजनीतिक दलले बलियो सरकार गठन गर्ने खबर छरपस्ट भएपछि असार १७ गतेदेखि नै सेयर बजारमा त्यसको प्रभाव देखिन थाल्यो । असार १७ गते सेयर बजारमा १६ अंकको वृद्धि आएको थियो ।  यसपछि असार १८ गते ४७ अंक, असार १९ गते ३.७९ अंक र २० गते १५.४७ अंकको वृद्धि सेयर बजारमा देखियो । असार १७ गतेयता कारोबार भएको १० कारोबार दिनमध्ये ९ कारोबार दिन परिसूचक बढेको छ ।  यसबिचमा असार २४ गते ४.६२ अंकले घट्नुबाहेक अन्य कुनै पनि दिन नेप्सेमा गिरावट आएको छैन । असार १६ गते २०३७ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२५७ अंक पुग्यो। एमालेले अर्थ मन्त्रालय आफूले लिने गरी सत्तासाझेदार दल कांग्रेससँग सहमति गरिसकेको थियो । सोही आधारमा बजार माथि गएको धेरैको अनुमान छ ।

तर,विष्णु पौडेलको नाम लिँदासाथ सेयर बजार किन यसरी उछालिन्छ ? यो प्रश्नको जवाफ भने पौडेलसँग नै पनी छैन । उनले विभिन्न कार्यक्रमहरुमा सञ्चारकर्मीसँग सेयर बजारसँग आफनो के सम्बन्ध छ भन्ने थाहा नभएको बताइरहन्छन् ।  विष्णु पौडलको नामसँग सेयर बजारको त्यस्तो के साइनो छ उनको नाम सुन्नासाथ सेयर बजारमा हरियाली छाउँछ ?

संयोग नै मान्नुपर्छ पौडेलले जब–जब अर्थमन्त्रालयको बागडोर सम्हाले, तब तब सेयर बजारले नयाँ उचाई चुम्यो । उनी अर्थमन्त्रीमा आएको समाचार प्रवाह भएसँगै बजारमा हरियाली छाउछ ।  यहीकारण समेत बुलिस बजार र विष्णु पौडेललाई कतिपय लगानीकर्ता पर्यायको रुपमा हेर्ने गर्छन् । तीन पटकसम्म अर्थमन्त्री बनेका उनलाई सेयर बजारले पूर्ण विश्वास गरेको र प्रत्येकपटक हरियो झण्डा देखाएको छ । यसपटक पनि त्यही अवस्था देखिएको छ । नयाँ सत्ता समीकरण बनेसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछी पनि मंगलबार नेप्से परिसूचक ७० अंकले बढेको छ ।  
यस्तो छ पौडेल अर्थमन्त्री हुँदाको सेयरबजार 
अहिले मात्र होइन, २०७२ सालदेखि नै विष्णु पौडेल र सेयर बजारको ‘ट्युनिङ’ मिल्दै आएको छ । 
२०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारको अर्थमन्त्री सम्हालेका थिए– विष्णु पौडेलले । २०७३ साउन १२ मा नै नेप्सेले १८८१ अंकको उच्चतम् रेकर्ड कायम गरेको थियो ।

२०७७ असोजबाट फेरि एमाले सरकारमा रह्यो र पौडेल नै दोस्रो पटक अर्थमन्त्री बने । २०७८ असारसम्म उनी अर्थमन्त्री थिए । उनकै पालामा नेप्सेले पछिल्लो बुल यात्रा गरेको थियो । २०७८ भदौ २ मा नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दु ३१९८ अंकमा पुगेको थियो ।
नेप्से उच्चतम् अंकमा पुगेका बेला भने कांग्रेस र माओवादी गठबन्धन थियो र अर्थमन्त्री जनार्दन शर्मा थिए । तर, त्यसअघि लामो समयदेखि बजारमा बुल चलिरहेकाले त्यसको जस तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई गएको थियो ।

२०७८ भदौ २ पछि ‘बियरिस ट्रेन्ड’ समाएको बजार २०७९ पुस ७ मा १८६५ अंकसम्म झरेको थियो ।
संसदीय चुनावको नतिजा आएसँगै २०७९ पुस ११ गते पुष्पकमल दाहाल नेतृत्वमा फेरि एमाले सरकारमा जाने सहमति बन्यो । पुस ११ मा अर्थमन्त्रीका रूपमा पौडेलले नै तेस्रो पटक कार्यभार सम्हाले ।उनी आएपछि फेरि सेयर बजार उकालो लाग्दा नेप्से २२०० अंक नाघ्यो । उनको सपथपछि बजार एकाएक माथि उक्लियो र पुस २६ मै २२१३ अंक पुग्यो । त्यसबेला एमाले–माओवादी गठबन्धन दुई महिना पनि टिक्न सकेन । अर्थमन्त्रीबाट पौडेल बाहिरिने चर्चापछि नै बजार ओरालो लाग्यो ।

उनी गएपछि घट्न थालेको बजार गत जेठ १ गते १८१८ अंकमा झरेको थियो । त्यसयता धेरै समयसम्म बजार १९०० देखि २१०० अंकसम्म चलिरहेको थियो ।

बिष्णु पौडेल सेयर बजारका लागी ‘लक्की चार्म’ भएको सेयर बजारका प्राबिधिक विश्लेषक सुवास चन्द्र ढुंगानाले बताए ।

‘बिष्णु पौडेल अर्थमन्त्री हुँदा जहिले पनी बढेकै रेर्कड छ । उहाँ सेयरबजारका लागी ‘लक्की चार्म’ नै हुनुहुन्छ । अहिले पनी बजारले बढ्न बहाना खोजेकैबेला अर्थमन्त्रालयमा उहाँको आगमनले लगानीकर्तामा ‘कन्फिडेन्स गेन’ भएको छ । अगाडी जसरी बजार बढेको थियो त्यसरी नै बढ्छ भन्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ’ उनले भने । 

ढुंगानाका अनुसार मौद्रिक निति नजीकै रहँदा अर्थमन्त्रीमा पौडेल आउनाले मौद्रिक निति केही सहज आउने आशा लगानीकर्ताको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको