Like us!
Follow us!
Connect us!
Watch us!

आशंका, विश्लेषण र विवाद नै अहिले लगानीकर्ताको मनोबल बिगार्ने 'फ्याक्टर'

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०७ : २३ मा प्रकाशित

आशंका, विश्लेषण र विवाद नै अहिले लगानीकर्ताको मनोबल बिगार्ने 'फ्याक्टर'

बजार चल्नलाई सबैभन्दा अगाडि चाहिने भनेको सकारात्मक मानसिकता हो। लगानीकर्ताहरूमा सकारात्मक मानसिकता भए मात्र उनीहरुले आफ्नो पुँजी बजारमा लगानी गर्ने गर्छन्। 

जति बजारमा पुँजी प्रवेश हुन्छ बजार बढ्नलाई  टेवा पुग्ने गर्छ। र सकारात्मक माहोल अथवा लगानीकर्ता सकारात्मक नभएमा उनीहरुले लगानी गरेको पुँजी पनि लगानी बेचेर फिर्ता लाने गर्छन्।

केपी ओली सरकारको नेतृत्वमा बहुमतको सरकार बनेपछि लगानीकर्ताहरूमा उत्साह थपिएको थियो। अझ बजारले विश्वास गरेको पात्र विष्णु पौडेल अर्थमन्त्री बन्ने कुरा सुरु भएसँगै बजार लयमा फर्किसकेको थियो। जब हल्लाको कुरा सत्यतामा परिणत भयो  बजारले  बुलको स्वरूप लिँदै माथिल्लो यात्राको बाटो खुल्ला गर्यो।

केन्द्रीय बैंक राष्ट्र बैंकले जब यस आर्थिक वर्षको  मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारमा लगाइएको मार्जिन लोनमा राखिएको क्याप संस्थागत लगानीकर्तालाई हटायो तब बजार बुल चरणमा प्रवेश गरेको विश्लेषकहरूले घोषणा नै गरे। 

लगानीकर्ताहरूको यति मनोबल बढेको थियो कि उनीहरूले बजारमा थप पुँजी लगानी गरे। प्राविधिक विश्लेषकहरूले पनि यो बुल नै हो भनेर अबको बुल यात्रा यतिसम्मको हुने भनेर प्रक्षेपण गर्न पनि भ्याएका थिए।

यद्यपि अहिले बजारको अवस्था फेरिएको छ।  ३ हजारको वरिपरि पुगेर करेक्सन लिएको बजार अहिले घटेर २५००को वरिपरि आइसकेको छ। ५०० अङ्कको करेक्सनपछि लगानीकर्ताहरू प्यानिक देखिन्छन्। 

धेरै लगानीकर्ताहरूको शतप्रतिशत लगानी नेप्सेको माथिल्लो बिन्दुमै भइसकेको छ। थप लगानी गर्ने पुजी नभएको र निरन्तर बजारमा घटेको भोल्युमले अब बजारमा के गर्ने? यो प्रश्न अहिले बजारको धेरै लगानीकर्ताहरूमा देखिन्छ। 

राजनीतिक उथलपुथलको आशंका

केही समयदेखि नै बजारमा अहिलेको सरकार ढल्न लागेको हो कि भन्ने चर्चा चलिरहेकै अवस्था थियो। नेपालको परराष्ट्र मन्त्री आरजु देउवाको भारत भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो नदिएपछि यो सरकारको आयु लामो नभएको भन्दै बजारमा हल्ला चलाइएको थियो।  

यद्यपि संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीबीच सोमबार भेटवार्ता भैसकेको छ। बजारमा भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई भेट्न समय नदिएको भन्ने चर्चा पनि ब्यापक थियो।  

यता नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवाले पटकपटक यो सरकार चुनावसम्म निरन्तर अभिव्यक्ति दिइसकेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला दल कांग्रेस र एमादेबीचको सत्ता सहकार्यले नागरिक खुसी भएको पाइएको अभिव्यक्ति सोमबार मात्रै दिएका थिए। सरकारको काम कारबाहीमा पनि दुई पार्टी को बीचमा अहिलेसम्म केही विवाद देखिएको छैन। यस्तो अवस्थामा सरकार ढलिहाल्छ भन्ने केवल अफवाह मात्रै देखिन्छ। 

यद्यपि दुर्गा प्रसाई पक्राउ  पर्नु, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई  सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी मुद्दामा समात्न लागेको चर्चा र प्रधानमन्त्री ओली र काठमाडौँ महानगरका मेयर बालेन शाह को पक्ष र विपक्षमा  भइरहेका गतिविधिले नेपालको राजनीति सकारात्मक तरिकामा अगाडि बढेको नसकेको भन्दै लगानीकर्ताहरू ससंकित बन्न  पुगेका छन्।

बजार धेरै घट्यो:सरकार

३ हजारको वरिपरि बिन्दुमा पुगेको बजार अहिले २५००को वरिपरि आइसकेपछि यो बजार धेरै नै घटेको नेपाल सरकारको ठम्याई छ। बजार धेरै नै घटेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्से कार्यालय नै पुगेर त्यहाँका अधिकारीलाई यही प्रश्न गरेका थिए।

नेप्सेका अधिकारीले केही गलत तत्वले हल्ला फैलाएर लगानीकर्ताहरू तिनैको पछाडि लाग्दा बजारमा गिरावट आएको अर्थमन्त्रीलाई जानकारी गराएका थिए। 

बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन:नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रसारित विश्लेषक र विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर  सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्से ले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान गर्ने कुनै निकायबाट गरिएको छैन भनेर स्पष्ट गरेको छ।

नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट गरेको छ।सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, क्लबहाउस, र अन्य सञ्चार माध्यममा आएका विश्लेषणहरूलाई मात्र आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। 

ब्रोकर लगानीकर्ता विवाद 

ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज र बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल बीच हिसाब राफसाफको विषयमा विवाद सोमबार आएपछि त्यसको असर बजारको फाइनान्स सेक्टरमा देखियो। यो सेक्टरमा ५.५६ अंकले घट्दा यसको असर पुरै नेप्सेमा देखियो। 

सिप्ला सेक्युरिटिजले लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोडको चेक लिएर भागेको भन्दै सबै ब्रोकरलाई सम्बोधन गर्दै उनलाई कारोबार नगर्न नगराउन अनुरोध गर्दै चिठी पठाएको थियो। 

अर्को तर्क लगानीकर्ता दिपेन्द्र अग्रवालले पनि  ब्रोकर नं.२० (सिप्ला सेक्युरिटिज) विरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  उजुरी दर्ता गरेका छन्। उनले निवेदनमा सिप्ला सेक्युरिटिजको अनियमितताका बारे सूचना दिँदै कारबाहीको माग गरेका हुन्।

सिप्ला सेक्युरिटिजले २०८१ जेठ ९ मा रकम भुक्तानी गरी निस्सा पेश गर्न आदेश दिँदा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको अग्रवालले बताए। उनका अनुसार ब्रोकरले उनलाई हिसाब मिलानका लागि बोलाएको भए पनि कुनै मितिमा वा माध्यमबाट सोको पुष्टि गरिएको छैन।

ब्रोकरलाई व्यापार भइसकेपछि विक्रेतालाई रकम भुक्तानी गर्नुपर्ने कानुनी दायित्व रहेको र विक्रेताले अनिवार्य रूपमा उपस्थित हुनुपर्दैन भन्ने कुरा अग्रवालले स्पष्ट गरेका छन् यस्तै,विदेशमा रहेका लगानीकर्तालाई पनि यस प्रक्रियामा बोलाउने चलनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

साथै उनले नेप्सेका केही कर्मचारी सिप्ला सेक्युरिटिजको गतिविधिमा संलग्न रहेको आशंका व्यक्त गर्दै तुरुन्त कारबाहीका लागि आग्रह गरेका छन्। यस्तै,ब्रोकरहरूले लगानीकर्ताबाट २० प्रतिशतसम्मको ब्याज असुल्ने कार्यमा नेप्सेले आँखाचिम्लेर बसेको भन्दै अग्रवालले आलोचना समेत गरेका छन्।

ब्रोकर र लगानीकर्तालाई यसरी सार्वजनिक रुपमा विवाद गर्न दिएर नियामकले बजारमा लगानी गर्ने वातारण बिग्रेको एक ब्रोकर संचालकले अर्थसंसारलाई बताए। दुवै पक्षलाई एक ठाउँमा राखेर अनुसन्धान गर्नु पर्नेमा सार्वजनिक रुपमा उत्रिंदा यसले बजारमा नकारात्मक उर्जा प्रवाह भएको उनले बताए। 

नौं महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, कार्यवाहक अध्यक्ष र सरकारको भूमिका शून्य

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । यसरी बोर्डमा कार्यकारी अध्यक्ष नभएको साढे करिब नौं  महिना  पुगेको  छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो ।

अहिले कामचलाउ अध्यक्षका रूपमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा बोर्ड सदस्य महेश बरालले नेतृत्व गरिरहेका छन् । 

सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कामचलाउ नेतृत्वको रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएर बोर्डमा पठाएको छ । बोर्डबाट हमाल गए यता  प्राथमिक निष्कासन स्वीकृति भएको छैन। पूँजी सङ्कलनको प्रमुख माध्यम नै अहिले ठप्प छ। नियमित काम बाहेक बोर्डले नीतिगत र अरू कुनै पनि काम गर्न सकेको छैन।  

विभिन्न कम्पनीहरूले प्रस्ताव गरेका अर्बौका साधारण सेयर, हकप्रद सेयर,विभिन्न फन्डहरु बोर्डको अनुमतिको पर्खाइमा छन् । तर, बरालले आवश्यक निर्णयहरू नगरिदिँदा बोर्डमा भने कामले गति लिन सकेको छैन । धितोपत्र बोर्डमा झन्डै करिब ४ दर्जन कम्पनीहरूले ७८ अर्ब रुपैयाँ माथिको सेयर निष्कासनका लागि निवेदन दिएका छन् । तर, निर्णय गर्न सक्ने अध्यक्षको अभावका कारण ती कम्पनीहरूलाई बोर्डले स्वीकृति दिनसकिरहेको छैन् । 

बोर्डका अध्यक्ष महेश बराल भने काम धेरै समयदेखि रोकिएकाले समय लागेको र आफुले काम गरिरहेको बताउछन् । अर्थसंसारसँगको कुराकानीमा उनले भने ‘धेरै समयदेखि काम जाम भएर बसेको थियो त्यहि भएर समय लागेको हो । त्यहि पनी काम त भईराखेकै छ त ।’,हामी मिटिङ पनि गरिरहेकै छौं। ’  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको