Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति ,कस्तो छ नयाँ व्यवस्था ?

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १४ : ०३ मा प्रकाशित

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति ,कस्तो छ नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही व्यवस्थामा लचिलो नीति लिएको छ। हाल मुलुकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि केन्द्रीय बैंकले पनि विदेशी मुद्राको सहटी व्यवस्थामा लचिलो नीति लिएको हो।

आज एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एकीकृत परिपत्र –२०८० मा संशोधन गर्दै सहटी व्यवस्था थप सरल बनाएको छ।

अब ‘कपि डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गरिसक्नुपर्ने छ । अन्यथा सोही आयातकर्ताले कपि डकुमेन्ट देखाएर विदेशी मुद्राको अनुमति लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि यो ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था थियो ।

यस्तै गरी, सटही सुविधा प्रदान भएको १२० दिन अर्थात् ४ महिना भित्र सामान आयात गरिसक्नुपर्ने भएको छ । यसअघि ९० दिनभित्र सामान आयात गरिसक्नुपर्ने थियो। हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जा तत्कालै विदेशबाट मगाउनुपरेमा बिक्रेताले उधारोमा १ लाख डलर मूल्यसम्मका सामान अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउन पाउने भएका छन् । यसअघि उधारो सुविधा १० हजार डलरसम्म मात्रै थियो ।

यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलब्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जानेको हकमा अधिकतम ५०० डलरसम्म सटही सुविधा पाउने भएका छन् । यस्तै, अन्य मुलुक जाँदा २०० डलरसम्म सटही सुविधा पाउने व्यवस्था छ ।

५०० डलर सटही सुविधा पाउने मुलुकको सूचीमा अस्ट्रेलिया थपिएको छ । यसअघि वैदेशिक रोजगारीमा जाँदा अस्ट्रेलियाको हकमा ५०० डलर सटही सुविधा थिएन । राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि लचिलो नीति लिएको हो ।

आयात खुम्चँदै जाँदा राष्ट्र बैंकमा २१ खर्ब रुपैयाँभन्दा बढी सञ्चिति पुगेको छ । यही कारण, यसअघि २०८० मा लिएको कडा नीतिलाई लचिलो बनाएको हो । सो समयमा विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित राष्ट्र बैंकले कडा नीति लिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको