नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत ७ गतेदेखि लागू गरेको नयाँ मूल्य निर्धारण प्रणालीले सेयर बजारमा व्यापक असन्तोष र निराशा निम्त्याएको छ। लगानीकर्ताहरू सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन्। कारण– कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्य (Weighted Average Price) लाई नै क्लोजिङ प्राइस मान्ने व्यवस्था।
नेप्से सञ्चालक समितिको चैत ५ गतेको निर्णयअनुसार, अबदेखि प्रत्येक कारोवार दिनको २ः४५ देखि ३ बजेसम्मको अवधि भित्र हुने कारोबारको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने भएको छ। यस नियमले बजारमा मूल्य चलखेल (म्यानिपुलेसन) कम गर्ने उद्देश्य राखिएको बताइए पनि, यसको व्यवहारिक असर भने लगानीकर्ताका लागि निकै निराशाजनक देखिएको छ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अधिकांश सेयरको मूल्य ओरालो लाग्न थालेको छ। केवल केही दिनमै नेप्से सूचकांक समेत उल्लेखनीय रूपमा घटेको छ। लगानीकर्ताहरूको विश्वासमा गहिरो चोट परेको छ। कतिपय सेयरहरूमा अन्तिम समयमा अलिकति बाय प्रेशर देखिए पनि क्लोजिङ प्राइस भने औसतले तल झरेको छ, जसले पोजिटिभ संकेतलाई पनि नकारात्मक प्रभावमा परिणत गरेको छ।
सामाजिक सञ्जाल र विभिन्न सेयरसम्बन्धी समूहहरूमा लगानीकर्ताहरूले खुलेर आफ्नो असन्तुष्टि जनाइरहेका छन्। उनीहरू भन्छन्, "अहिले बजार पहिले नै कमजोर अवस्थामा छ, त्यसमाथि यो नियमले झन् मूल्य घटाउँदै लगेको छ। यो त लगानीकर्तामाथि दोहोरो मार हो।" केहीले त यो प्रणालीलाई “भविष्यमा ठूला दुर्घटनाको कारण बन्ने” चेतावनी समेत दिएका छन्।
यद्यपि, केही विश्लेषकहरूले भने यो प्रणालीलाई सकारात्मक कदमको रूपमा लिएका छन्। उनीहरूको भनाइ छ, "यो नियमले सेयर मूल्य चलखेल रोक्नेछ र बजारलाई दीर्घकालीन रूपमा स्वस्थ बनाउनेछ।" तर लगानीकर्ताहरूको अहिलेको भावनात्मक अवस्था हेर्दा, उनीहरूलाई यो ‘स्वस्थ’ भन्दा ‘दण्ड’ जस्तो महसुस भइरहेको छ।
लगानीकर्ताहरुको मुख्य प्रश्न भनेको यत्तिकै हो – “के नेप्से लगानीकर्ताको हितको लागि काम गरिरहेको छ ?” बजारमा सुधार गर्नुको सट्टा, किन यस्ता नियम ल्याएर अझै लगानीकर्ता तर्साउने प्रयास भइरहेको छ ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस