चीन र अमेरिकाबीचको व्यापार युद्ध चर्किंदै जाँदा, चीनले दुर्लभ खनिज र चुम्बकको निर्यात अस्थायी रूपमा रोकेको छ, जसले अमेरिकी एयरोस्पेस, सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, उपभोक्ता सामग्री, हतियार निर्माण र अटो उद्योगमा गम्भीर असर पार्ने देखिएको छ।
चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको पारस्परिक भन्सार शुल्कको जवाफस्वरूप यस्तो निर्यात नियन्त्रण गरेको हो। यसले अमेरिकी उत्पादकहरूलाई कडिएका अनुमति प्रणालीसँग जुझ्न बाध्य बनाएको छ।
हप्तौँसम्म ढिलाइ हुन सक्ने
ब्लूमबर्गले स्रोतहरूको हवाला दिँदै जनाएको छ कि कोड वर्गीकरण लगायतका प्राविधिक प्रश्नहरूका कारण निर्यात प्रक्रिया हप्तौँसम्म अवरुद्ध हुन सक्ने सम्भावना छ।
यो निर्णयले दुई विश्वशक्तिहरू बीचको व्यापार तनाव अझ चर्काएको छ।
दुर्लभ खनिजमा चीनको नियन्त्रण
चीनले विश्वका करिब ९० प्रतिशत दुर्लभ खनिज उत्पादन गर्दछ। यी खनिजहरू विशेषगरी रक्षा, विद्युतीय सवारी साधन, ऊर्जा र उच्च प्रविधि उद्योगमा प्रयोग गरिन्छ। अमेरिका सँगै युरोप र जापान पनि यस आपूर्तिमा भर पर्दै आएका छन्।
चीनमा यी खनिजहरू प्रशोधन गर्ने जटिल र प्रदूषणयुक्त प्रक्रिया लगभग पूर्णरूपमा नियन्त्रणमा छ। चीनले कोटा प्रणालीमार्फत निर्यात नियन्त्रण गर्दै आएको छ, जुन अहिले झनै कडिएको छ।
पश्चिमी राष्ट्रहरू विकल्प खोज्न बाध्य
चीनको यो कदमले पश्चिमी मुलुकहरूलाई वैकल्पिक आपूर्ति श्रृंखला निर्माणतर्फ प्रेरित गर्ने सम्भावना छ। हाल अमेरिका सँग मात्र एउटा दुर्लभ खनिज खानी छ, बाँकी अधिकांश आपूर्ति चीनबाटै हुने गर्दछ।
हनीवेल, लकहिड मार्टिन, टेस्ला र एप्पल जस्ता ठूला अमेरिकी कम्पनीहरू यस्ता खनिजमा निर्भर छन्। यस नियन्त्रणले ती कम्पनीहरूको उत्पादन प्रक्रियामा असर पार्ने देखिएको छ।
निर्यात रोक लगाइएका प्रमुख तत्वहरू
चीनले निर्यातमा प्रतिबन्ध लगाएका सात प्रमुख दुर्लभ खनिजमा समारियम, ग्याडोलिनियम, टर्बियम, डाइसप्रोसियम, लुटेटियम, स्क्यान्डियम र इट्रियमसँग सम्बन्धित वस्तुहरू पर्छन्।
यी खनिजहरू अप्टिकल लेजर, रडार उपकरण, पवन टरबाइनका लागि चुम्बक, जेट इन्जिनको कोटिङ र अन्य उच्च प्रविधिमा प्रयोग गरिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस