भारतको चर्चित मिडिया कम्पनी जि इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडले प्रवर्द्धक समूहबाट रु २२ अर्ब ३७ करोडभन्दा बढी रकम जुटाउने प्रस्ताव सेयरधनीहरूमार्फत अस्वीकृत भएको छ।
कम्पनीले प्रवर्द्धक समूह अन्तर्गतका दुई कम्पनीहरू — अल्टिस टेक्नोलोजिस र सनब्राइट माउरितस इन्भेस्टमेन्टलाई लक्षित गरी १६.९५ करोड कित्ता रूपान्तरणीय वारन्ट जारी गर्ने प्रस्ताव गरेको थियो। यसमार्फत प्रवर्द्धक हिस्सेदारी १८.४ प्रतिशतसम्म पुर्याउने योजना थियो।
तर कम्पनीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार यो प्रस्तावले आवश्यक दुई-तिहाइ बहुमत (७५%) पार गर्न सकेन। कुल मतदानमध्ये केवल ५९.५१ प्रतिशत मत मात्रै पक्षमा परे, जसले गर्दा प्रस्ताव असफल भएको हो।
प्रस्तावित विशेष प्रस्तावलाई पारित गर्न ७५ प्रतिशत मत आवश्यक पर्थ्यो। तर ४० प्रतिशतभन्दा धेरै मतदाताहरूले प्रस्तावको विरोध गरेपछि उक्त योजना अगाडि बढ्न सकेन।
बजार विश्लेषकहरूका अनुसार प्रवर्द्धक हिस्सेदारी बढाउन गरिएको प्रयासप्रति साना तथा संस्थागत सेयरधनीहरूको समर्थन झिनो देखिएको छ। विशेषगरी कम्पनीको पछिल्लो समयको प्रदर्शन, सोनी सँगको गाभिने प्रस्तावको स्थगन, तथा व्यवस्थापनको पारदर्शितामाथि उठेका प्रश्नले सेयरधनीहरूको विश्वास कमजोर पारेको देखिएको छ।
कम्पनीले यसबीच एक वक्तव्य जारी गर्दै अधिकांश सेयरधनीहरूले दिएको समर्थनप्रति आभार व्यक्त गरेको छ र बाँकी सेयरधनीहरूको निर्णयको समेत सम्मान गर्ने जनाएको छ। कम्पनीले दीर्घकालीन योजना र बजारमा प्रतिस्पर्धा गर्न रणनीतिक वित्तीय स्रोतहरूको आवश्यकता रहेको स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस