प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनामा देखिएको ढिलासुस्ती, लागत बृद्धि र जनताले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अब यसलाई क्रान्तिकारीरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाबद्धरूपमा अगाडि नबढ्ने र समयमा काम सम्पन्न गर्न नसक्ने प्रवृत्तिले मुलुकको विकास यात्रा नै प्रभावित हुने भन्दै सबै निकायलाई स्पष्ट कार्ययोजना र दृढ इच्छाशक्तिका साथ लाग्न निर्देशन दिनुभयो।
प्रधानमन्त्रीले सुनकोसी मरिन डाइभर्सन आयोजनाको ठेक्का समयमा नलाग्नु, किसानले समयमै मल नपाउनु, सार्वजनिक निर्माणका कामहरू निर्धारित समयभन्दा पछाडि धकेलिनुजस्ता समस्याको तत्काल समाधान खोज्न आग्रह गर्नुभयो। उहाँले "अब सोच, कार्यशैली र कार्यसम्पादनमा परिवर्तन अनिवार्य छ" भन्दै कार्यान्वयनमूलक नतिजा दिन जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यहरूमा छरितोपन, जवाफदेहिता र लगाव अभिवृद्धि गर्न सबै सरकारी निकायहरू, सरोकारवाला निकाय र निजी क्षेत्रलाई आ-आफ्नो भूमिकामा सक्रिय हुन आह्वान गर्नुभयो।
बैठकमा उपस्थित मन्त्रालयका सचिव, योजना आयोगका सदस्य, प्रमुख आयोजना प्रतिनिधिहरू लगायत सरोकारवाला निकायका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले यथार्थपरक कार्यान्वयन र जनअपेक्षा अनुसारको सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस