प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँचदिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्।
आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै उनले तुर्कमेनिस्तानको अवाजा शहरका लागि यात्रा गरेका हुन्, जहाँ साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) सम्मेलन आयोजना हुँदैछ।
नेपाल हाल एलएलडिसीको अध्यक्ष राष्ट्र भएकाले प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षका हैसियतमा सम्बोधन गर्नेछन्। साथै, उनी एक उच्चस्तरीय गोलमेच बैठकमा सहअध्यक्षका रूपमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको टोलीमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सहभागी छन्।
प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।
उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस