प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार आईसीटी फाउन्डेसनद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालहरू नेपालका प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र आवश्यक सबै दायित्व पूरा गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
‘सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ । सामाजिक सञ्जालबाट नेपालमा सञ्चालन हुने सबै काम नेपालको कानुन अनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको क्षेत्रको विकासका लागि जे गर्नुपर्छ, त्यो सरकारले गर्छ, सरकार जनताको लागि हो, जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवद्र्धनमा सरकारले ध्यान दिन्छ, सूचना प्रविधिको क्षेत्रमा स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, तपाईँहरु आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार तपाईंको साथमा छ ।’
प्रधानमन्त्री ओलीले सरकारले सूचना प्रविधिको विकास र प्रवर्द्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जनताको चाहनाअनुसार नीति तथा कार्यक्रम अगाडि बढाइने बताए। उनले देशभित्र र बाहिरबाट सूचना प्रविधिमा लगानी गरेर आम्दानी गर्ने अवसरसमेत रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरे। उनीले डिजिटल प्रविधिको तीव्र विकासले समाजलाई बदलिरहेको उल्लेख गर्दै रुकुम यात्राका क्रममा दुर्गम क्षेत्रका वृद्ध आमाहरूले समेत फेसबुक चलाउन जानेको देख्दा आफू उत्साहित भएको स्मरण गरे।
प्रधानमन्त्री ओलीले नेपाललाई डिजिटल प्रविधि र हरित ऊर्जाका लागि उपयुक्त गन्तव्य भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोगद्वारा देशको समृद्धि र विकास सम्भव हुने बताए। उनले आफ्नो घोषणाबमोजिम गत वर्षदेखि अनलाइन माध्यमबाट एसइईका विद्यार्थीलाई पढाइ गरिएको र त्यसबाट १ लाख ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भई नतिजा सुधारिएको दाबी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस