नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई केवल आतंककारी गतिविधिका रूपमा मात्र व्याख्या गरिँदै आएको बताएका छन् ।
बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित पुस्तक ‘संघर्षमा सिरानचोक’ को विमोचन कार्यक्रममा बोल्दै उनले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य आधारका रूपमा बुझ्नुपर्ने आग्रह गरे।
उनले भने, ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ । तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ ।’
नेपालमा माओवादी संघर्ष कम्युनिष्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका ग्रन्थ पढेर मात्रै सुरु नभएको उनले बताए । नेपालकै विगतको विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा युद्ध थालिएको उनको भनाइ छ ।‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो । त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए,’ उनले भने ।
प्रचण्डले संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको दाबी गरे ।
‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस