दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने तयारी गरेका हुन्।
यी पसलमार्फत चामल, दाल, गेडागुडी, गहुँ, तेल, नुन, चिनी, आटा, पिठो, मैदा, चिउरा, खसी–बोका लगायतका वस्तुमा आकर्षक छुट दिइनेछ। खाद्य कम्पनीले चामल, गहुँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, तेल र पिठोमा ७ रुपैयाँ तथा खसी–बोकामा १० रुपैयाँ छुट दिनेछ। साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ, चिनीमा ५ र अन्य सामग्रीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ।
खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ, जसमा कर्णाली प्रदेशका ४२ स्थान, सुदूरपश्चिमका २८, लुम्बिनीका १५, कोशीका ११, गण्डकीका ७, बागमतीका ५ र मधेस प्रदेशका ३ स्थान समेटिएका छन्।
साल्ट ट्रेडिङले देशभर कम्तीमा ४० स्थानमा पसल सञ्चालन गर्नेछ। काठमाडौं उपत्यकामा कालीमाटी, कोटेश्वर, कपन, बालाजु, इमाडोल लगायत स्थानमा पसल खोलिनेछ भने उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, दिपायल र बैतडी पाटनमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस