राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
पार्टीको केन्द्रीय विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता, सञ्चार अधिकार र सूचनाको प्रवाहमा गम्भीर अवरोध पुर्याएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको छ। यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो।'
रास्वपाले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड भएको भन्दै यसलाई नियन्त्रण गर्ने वा संकुचित गर्ने कुनै पनि प्रयासप्रति आपत्ति जनाएको छ। विज्ञप्तामा संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै भनिएको छ,'संविधानले नागरिकलाई दिएको अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस