Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको दीर्घकालीन सुधार : इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ देखि हकप्रद सेयरमा ‘राइट रिनाउन्स ट्रेडिङ’ सम्म

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, २१ : ४१ मा प्रकाशित

सेयर बजारको दीर्घकालीन सुधार : इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ देखि हकप्रद सेयरमा ‘राइट रिनाउन्स ट्रेडिङ’ सम्म

नेपालको पुँजी बजारलाई आधुनिक र विश्वस्तरीय मापदण्डमा पुर्‍याउने लक्ष्यसहित गठित कार्यदलले अर्थ मन्त्रालयलाई दीर्घकालीन सुधार योजना बुझाएको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा बनेको सो कार्यदलको संयोजन नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीले गरेका हुन्। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देशक (कामु) निरञ्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यका रूपमा सहभागी थिए।

कार्यदलले तत्काल, मध्यमकालीन र दीर्घकालीन गरी तीन चरणमा सेयर बजार सुधारको खाका तयार पारेको छ। तत्काल र मध्यमकालमा लागू गर्नुपर्ने सुझावबाहेक, दीर्घकालीन सुधारलाई पुँजी बजारको स्थायित्व र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

दीर्घकालमा सिफारिस गरिएका मुख्य सुधार

कार्यदलले दीर्घकालीन सुधारका लागि सेयर बजार सञ्चालन र नियमनका लागि छुट्टाछुट्टै विशेष ऐन तयार गर्ने, वित्तीय क्षेत्रसँग सम्बन्धित ट्रष्टी ऐन ल्याउने, धितोपत्रसम्बन्धी कसुर र सजायका लागि स्पष्ट नियमावली बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ। साथै लगानी परामर्श सेवा र रिसर्च एनालिस्टका लागि छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना गर्दै रणनीतिक साझेदार भित्र्याउने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कारोबार प्रणाली लागू गर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ। सेयर बजारमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, इक्विटी डेरिभेटिभ्स, सिक्युरिटीज लेंडिङ एण्ड बरोइङ जस्ता आधुनिक वित्तीय उपकरण सञ्चालन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्राविधिक ढाँचा तयार पार्नुपर्ने उल्लेख छ।

सरकारी तथा संस्थागत ऋणपत्रको व्यवस्थित कारोबारका लागि छुट्टै नीति र प्रणाली विकास गर्नुपर्ने, साथै संगठित संस्थाले जारी गर्ने हकप्रद सेयरमा ‘राइट रिनाउन्स ट्रेडिङ’ लागू गर्न विनियम बनाउनुपर्ने प्रस्ताव पनि गरिएको छ।

बीमा बजारलाई लचिलो बनाउन हाल जीवन बीमकले निर्जीवन बीमकको र निर्जीवन बीमकले जीवन बीमकको सेयर खरिद गर्न नपाउने प्रावधान हटाई बीमा ऐनमा संशोधन गर्ने सुझाव पनि कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको