भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्।
नेपालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि मोदीले उनीहरूलाई फोनमार्फत् बधाई दिएका हुन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै रास्वपा नेतृत्वसँग न्यानो टेलिफोन संवाद भएको उल्लेख गरेका छन्। उनले लामिछाने र शाहलाई निर्वाचनमा प्राप्त विजय तथा पार्टीको उल्लेखनीय सफलताका लागि शुभकामना दिएका छन्।
मोदीले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि पनि शुभेच्छा व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहकार्य जारी रहने बताएका छन्। दुवै देशबीचको पारस्परिक समृद्धि, प्रगति र जनताको हितका लागि मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत् रवि लामिछाने, बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत ट्याग गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस