अर्थमन्त्री स्वर्णिम वाग्ले ले विपक्षी दलहरूले सरकारको नीति तथा बजेटलाई आफ्नो शैलीमा ढाल्न खोजे त्यसका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटको आधार राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन घोषणापत्र भएको स्पष्ट पारे।
उनले चुनावअघि सार्वजनिक गरिएको ‘रूपान्तरणका सय आधार’ लाई जनताले अनुमोदन गरेको उल्लेख गर्दै त्यही मार्गचित्रअनुसार सरकार अघि बढिरहेको बताए। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सोचकै आधारमा नीति तथा कार्यक्रम ल्याइएको भन्दै उनले विपक्षी दलहरूले आफ्नो दस्ताबेज र विचार लागू गराउन चाहे आगामी चुनाव पर्खनुपर्ने टिप्पणी गरे।
अर्थमन्त्री वाग्लेले सरकार जनताको म्यान्डेटअनुसार शासकीय सुधार र विकासका काममा अघि बढिरहेको दाबी गरे। संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि रचनात्मक सुझाव आउनु सकारात्मक भए पनि दलीय स्वार्थका आधारमा गरिने विरोधको अर्थ नहुने उनको भनाइ थियो।
उनले चालु आर्थिक वर्षका बाँकी कामलाई पूरा गर्दै आगामी बजेटमार्फत अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने र सुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस