Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो गीत जसले हरेक वर्ष दशैँ आएको आभाष दिलाउँछ ! (भिडियोसहित)

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०७७, ०८ : ०२ मा प्रकाशित

सरस्वती अधिकारी, काठमाडौं - महान् चाड वडादशैँले प्रत्येक नेपालीको घरआँगन टेकिसकेको छ । के गाउँ, के शहर देशै दशैँमय बनेको छ । दशैँ भन्ने बित्तिकै हाम्रो मानसपटलमा इष्टमित्र र आफन्त एकैठाउँमा भेला भएर रमाइलो गर्ने भन्ने स्मरण भईहाल्छ । मिठो खानु, राम्रो लाउनु, पिङ खेल्नु, हावामा चंगा उडाउनु, वर्षौंदेखि छुट्टिएकाबीच भेटघाट हुनु, गाउँभरिका मान्छे एकैठाउँमा जम्मा भए हाँसखेल गर्नु दशैँका विशेषता हुन् ।

त्यति मात्र कहाँ होर ? दशैँमा मालश्रीको धुन अनि सदाबहार गीत नगुन्जिएसम्म दशैँ आए जस्तै नै लाग्दैन ! प्रत्येक बर्ष जब दशैँ आउँछ, तब रेडियो, टेलिभिजनमा मालश्रीको धुन बज्न थाल्छ । अनि सदाबहार गीतहरु गुन्जायमान हुन थाल्छन् । यी धुनहरु गुन्जिएपछी परदेशी अनि आफ्नै काममा व्यस्त स्वदेशीलाई दशैँ आएको संकेत मिल्दछ । छुट्टी मिल्नेहरूलाई खुसीले गदगद बनाइदिन्छ । स्कुल, कलेज या कुनै संघसस्थाले गर्ने दशैँ विशेष सांस्कृतिक कार्यक्रममा पनि यी धुनहरु गुन्जिएकै हुन्छन् । सामाजिक संजाल पनि दशैँ आएपछि गुन्जायमान भइदिन्छ, अनि दशैँ आएको आभाष दिलाईहाल्छ ।

दशैँमा गुन्जने सदाबहार गीतहरु धेरै छन् । "नमुछे आमा दहीमा टीका नछरे जमरा", "फौजीलाई कुन हो दशैं कुन हो तिहार", "वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै", "दशैं आयो, खाउँला पिउँला" लगायत धेरै गीत छन् जसले दशैँ आएको आभाश दिलाउने गर्छ ।

हामी आज एउटा यस्तो गीतको चर्चा गर्दै छौँ जुन दशैँमा सदाबहार गुन्जिने गर्दछन् । जब दशैँ नजिकिन्छ तब बालकदेखि वृद्धवृद्धासम्मको मानसपटलमा आइहाल्ने गीत हो "दशैँ आयो"   ।
चलचित्र मुग्लानको "दशैं आयो" गीतले हरेक वर्ष चर्चा पाउँछ। जुन गीतको शब्द लोकनाथ सापकोटाले भरेका छन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा उदीतनारायण झा, दीपानारायण झा, नारायण लामा, जुना प्रसाइँलगायतको आवाज रहेको छ । गीतमा परदेश गएको छोरा घर आएको,  छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुराहरुलाई अत्यन्त पृथक ढंगमा प्रस्तुत गरिएको छ । यो गीतमा दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा, मिथिला शर्मा रमित ढुंगानालगायत कलाकारहरुको अभिनय रहेको छ।

चरीररिररिरै चरीररिररिरै चरीररिररिररि रै.....
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो 
नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो 
हो हो दशैँ आयो, हो हो दशैँ आयो

गीतमा वर्षदिनमा दशैँले नेपालीको घर आँगन, गाउँघरमा पाइला टेकेको कुरालाई प्रस्तुत गरिएको छ । जुन गीत हरेक नेपालीको ओठमा गुन्जायमान छ ।

कोदो फुल्यो बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा
कत्ति राम्री देखिन्छौं बरीलै जमरा र रातो टिकैमा
साइको घडी हातैमा बरीलै, ढाकाटोपी ढल्क्यो शिरैमा 
तिमीलाई नि सुहाउँछ बरीलै जमरा र रातो टिकैमा
हो हो दशैँ आयो, हो हो दशैँ आयो.....

गीतको यो अंशमा मायाप्रेम जोडिएको छ । गीतमा बारीमा कोदो फुलेको, धानको बाला आलीमा झुलेको कुरा उल्लेख गरिएको छ । त्यसैगरी आफ्नो मायालुलाई साइको घडी, ढाका टोपी, जमरा र रातो टिकाले सुहाएको कुरालाई गीतले सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

पिढीमा बसी औंला भाँची, छोराको आउने दिन गन्दै थिन् 
दशैँको दिन ती बुढी आमै आइपुग्दा छोरा दंगै छिन्

आफ्नो परदेशिएको छोराको पर्खाइमा रहेको आमा छोरा कहिले आउँछ भनि दिन गन्दै बसेको र दशैँको टिका थाप्न घर आइपुगेको खुशीको क्षणलाई गीतले व्यक्त गरेको छ । पक्कै पनि योभन्दा अरु खुशी एउटी आमालाई अरु के हुन्छ र ?

भदौरी खहरे छुटेर जाँदा असोजमा रंग छाउँछ
ठूलाको हात सानाको माथ आशिष दिँदै दशैँ आउँछ 

भदौको भेल छुटेर शरद ऋतुमा छाउने नयाँ उमङ्ग त्यसैमाथि आउने दशैँ । ठूलाले सानालाई दर्शाउने माया प्रेम र दशैँमा दिईने आशिर्वाद यसको छुट्टै महत्व छ भन्ने कुरा गीतमार्फत प्रस्तुत गरिएको छ ।

हे एक्लै भयौं चमेली राख मलाई पिङको सिटैमा 
कत्ति राम्री देखिन्छौं बरीलै जमरा र रातो टिकैमा

दशैं भन्ने सबैलाई पिङको सम्झना आइहाल्छ । त्यसैमा पनि भुइँ छोड्नु पर्छ भन्ने मान्यता । पिङमा आफ्नो मायालु एक्लै भएको कुरालाई ठट्यौली शैलीमा प्रस्तुत गरिएको छ ।

फुल्दछन् खुशी जमरा भरी निधारमा अक्षता हाँस्दछन्
मुग्लान जाने आफन्तलाई घर आउँ भनि डाक्दछन्

घटस्थापना गरी नौ दिनसम्म नवदुर्गाको पूजा गरी दशौँ दिन प्रसादस्वरुप ग्रहण गरिने जमरा र टिकाको बयान गरिसाध्य नै छैन । त्यसैमाथि परदेशीलाई पनि घरदेश फर्काउने यो दशैँ खुशी नै खुशीको बहार हो । त्यैसले त नेपालीको महान चाड मानिन्छ दशैँलाई ।

हो ती पल्लाघरे लाहुरे दाइले परदेशको कोशेली बाँड्दैछन् 
लाहुरेनी भाउजू मुसुमुसु हाँसी भित्र र बाहिर गर्दैछिन्

झोलाभरी कोशेली बोकेर फर्कने लाहुरेहरुले गाउँमा कोशेली बाड्दै खुशी साटेको अनि वर्षौंपछि आफ्नो मायालु भेट्दा लाहुरेनीलाई मिलेको खुशी उक्त अंशले प्रस्तुत गरेको छ ।

कोदो फुल्यो बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा
नेपालीलाई सुहाउँछ  बरीलै जमरा र रातो टिकैमा 
हो हो दशैँ आयो, हो हो दशैँ आयो......

नेपाली जमरा र रातो टिकाले खुबै सुहाउँछ । वर्षभरीको दुख पीरलाई थाती राखेर मुहारमा खुशी ल्याउँछ दशैँले !
तर यस वर्ष भने कोरोनाले दशैँलाई अलि खल्लो बनाएको छ । सबै आफन्त एकैठाउँमा जम्मा हुन पाएका छैनन् । जो जहाँ छ त्यहि रहेर दशैँ मनाउनुपर्ने बाध्यता बनेको छ यो दशैँ ।

भिडियो हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको