Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो चढ्दा किन घट्यो कारोबार रकम ?

अर्थ संसार

शनिबार, १८ पुस २०७७, १४ : ३७ मा प्रकाशित

नेप्से उकालो चढ्दा किन घट्यो कारोबार रकम ?

काठमाडौं -यो साता नेप्से ४९ अंकले उकालो लाग्दा साप्ताहिक कारोबार रकम भने खुम्चिएको छ । डिसेम्बर महिनाको पहिलो साताको अन्तिम दिन विहिबार नेप्से १९६४.०२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । उत्क्त साता नेप्सेमा ६ करोड ६ लाख ८३ हजार ३० कित्ता बराबरको २८ अर्ब ४८ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो । कारोबारको दोस्रो सातामा नेप्से बढेर २०३२.५२ को बिन्दुमा पुग्दा साप्ताहिक कारोबार पनि बढेर ३० अर्ब ८ करोड रुपैयाँ भन्दामाथि पुगेको थियो ।

तेस्रो सातामा पनि नेप्सेले उकालो यात्रालाइ कायम राख्दै नेप्से सूचक २०३८.७३ को बिन्दुमा पुग्दा साप्ताहिक कारोबार पनि बढेर ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको भएको थियो । महिनाको अन्तिम सातामा भने नेप्से करिब ४९ अंकले बढेर २०८६.२८ को बिन्दुमा पुग्दा कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो साता ३४ भन्दा बढीको कारोबार भएकोमा यो साता भने साप्ताहिक कारोबार घटेर २२ अर्बमा झरेको छ । अघिल्लो साताभन्दा यो साताको साप्ताहिक कारोबार रकममा ११ अर्ब ९५ करोड रुपैयाँले कमी आएको छ । प्रतिशतमा हेर्दा अघिल्लो साताको तुलनामा यो साताको कारोबारमा ३४ प्रतिशत भन्दा बढीले ह्रास आएको हो ।

दिन प्रतिदिन कारोबार रकममा नयाँनयाँ रेकर्डहरु बनिरहेको अवस्थामा कसरी कारोबार रकममा भारी गिरावट आयो भन्ने सबैको चासोको बिषय बनेको छ । यो साता कारोबार रकम किन भारी अंकले घट्यो भनी बिभिन्न सेयर सम्बद्ध व्यक्तिसँग कुरा गरेका छौ । लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल अहिलेको साप्ताहिक कारोबार घट्नुको मुख्यकारण नै राष्ट्र बैंकले ल्याएको नयाँ नीतिलार्इ मान्छन् ।

उनका अनुसार बैंकले बुकभ्यालु माइनसमा भएका कम्पनी, दोस्रो बजार कारोबारमा २५० दिन नपुगेका कम्पनी र नियमित बार्षिक साधारणसभा नगर्ने कम्पनीको सेयरमा बैंक तथा बित्तीय संस्थाहरुले गर्ने लगानीमा राष्ट्र बैंकले अंकुस लगायपछी बजार अहिलेको अवस्थामा आएको हो । लगानीकर्तामा निराशा आएर वा हतोत्साहित भएर कारोबार घटेको नभई राष्ट्र बैंकको नयाँ नीतिका कारणले गर्दा कारोबार रकम घटेको उनि बताउछन् । कारोबारको यो अवस्था अझै केहि समयसम्म रहनसक्ने उनको तर्क छ । सेयर लगानीकर्ता नवराज घिमिरे बजारको अहिलेको अवस्थालाई ठूलो भूइँचालोपछिको पराकम्पनका रुपमा परिभाषित गर्छन् ।

उनका अनुसार दैनिक ९ अर्बभन्दा माथिको कारोबार भइसकेको अवस्थामा कहिले काहीँ कारोबार घटेर न्यून बिन्दुमा आउनु स्वभाविक रहेको उनको तर्क छ । घिमिरेका अनुसार सेयर बजार कारोबार घट्नुका अरु पनि बिभिन्न कारणहरु छन् । तीमध्ये पुसमसान्त नजिकिँदै गरेकाले केही लगानीकर्ताहरुले पर्ख र हेरको रणनीति अनुरुप अहिले सेयरमा लगानी गरिरहेका छैनन् । पछिल्ला केही बर्षको नजिरलाई हेर्ने हो भने पुस मसान्तमा नेप्से केही अंकले घट्ने गरेकाले त्यहि समयमा सेयर खरिद गर्ने उद्देश्यले पनि केहि लगानीकर्ताहरुले अहिले बजारमा आफ्नो लगानीलाई रोकेका छन् ।

बिगतमा बैंक तथा बित्तिय संस्थाहरुले लगानीकर्ताहरुलाइ लोन दिने गरेकोमा अहिले त्यसलार्इ रोक लगाइएको छ । पहिले बैंकहरुले लगानीकर्ताहरुको खातामा सेयर नआउदै पनि उक्त सेयरमा बैंक तथा बित्तीय संस्थाहरुले लगानी गर्ने गरेकोमा अहिले राष्ट्र बैंकले लगानीकर्ताको खातामा भएको सेयर रोक्का गरेर मात्र लगानी गर्न पाउने गरि बैंकहरुलार्इ परिपत्र गरेकाले पनि कारोबार घटेको घिमिरेको तर्क छ ।

स्टक ब्रोकर अग्रवाल सेक्युरिटिजका प्रमुख भुवनेश्वर यादवका अनुसार अहिले बजारमा कारोबार रकम घट्नुका प्रमुख कारणहरु भनेको राजनीतिक परिवर्तन र राष्ट्र बैंकको नया नीति नै हो । अहिले पनि लगानीकर्ताहरुलाई देशको राजनीतिक परिस्थिती कस्तो हुने हो भन्ने यकिन हुन नसकिरहेको अवस्थामा लगानीकर्ताहरु बजारमा ढुक्कले लगानी गर्न डराइरहेका छन् । साथै राष्ट्र बैंकले सेयर धितो राखेर गर्ने लगानीमा पनि बैंक तथा बित्तीय संस्थाहरुलाई कडाई गरेपछि कारोबार रकम घटेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको