Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सेयर किन्ने कि रिडीको ? के छ दुवैको आधारभूत अवस्था ?

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, ११ : २१ मा प्रकाशित

निफ्राको सेयर किन्ने कि रिडीको ? के छ दुवैको आधारभूत अवस्था ?

सेयर बजार हल्लाले चल्छ भन्ने आरोप धेरै लाग्ने गरेको छ । बजारमा लगानीकर्ताले आधारभूत रुपमा कमजोर रहेका कम्पनीहरुमा आँखा चिम्लिएर लगानी गरेको देख्दा यी हल्लाहरु सही हुन भन्ने प्रमाणित हुन्छ । सानो पूँजीका बजारमा सेयर आपूर्ती कम भएका कम्पनीको सेयर कर्नरिंग गर्ने चलन संसारकै हो ।

नेपालमा भने ठूलो परिणाममा सेयर बजारमा निस्कासन गरेका कम्पनीको सेयरसमेत दिनहुँ सर्किट लाग्ने गरि मूल्य बढिरहेको छ । आधारभूत रुपमा राम्रो रहेका, कम्पनीले बर्षेनी मुनाफा गरेर लाभांश वितरण गरिरहेका जोखिम न्युन रहेका कम्पनीमा भने लगानीकर्ताले चासो देखाएको पाइँदैन । भर्खरै सेयर निस्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक र रिडी हाइड्रो पावर कम्पनीको अबस्था र बजारमा सेयरको मूल्यलाई यहाँ दाँज्ने प्रयास गरिएको छ ।

इन्फ्राको सेयर केही साता अगाडि मात्रै निस्कासन भएको थियो । ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । निफ्राको प्रति कित्ता १०० का दरले आठ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत छ ।

अधिकृत पूँजी रु ४० अर्ब भएको बैंकको चुक्ता पूँजी २० अर्ब पुगेको छ । यस हिसावले इन्फ्रा बजारमा धेरै साधारण सेयर निस्कासन भएको टप कम्पनीमध्ये पर्छ । उक्त कम्पनीको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबार सुरु भएपछि ५ दिनदेखि लगातार सर्किट ब्रेक लागिरहेको छ । बैंकको सेयर मूल्य बिहीबार सर्किट लागेर ५४६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

बजार पूँजीकरणका हिसावले निफ्रा खर्ब क्लवमा समावेश भइसकेको छ । बजारमा सेयर निस्कासन गरेको अर्को कम्पनी हो रिडी हाइड्रो पावर डेपलपमेन्ट कम्पनी । नेप्सेमा ५८ लाख ७३ हजार २० कित्ता सेयर सूचीकृत भएको रिडीको चुक्ता पूँजी ५८ करोड ७३ लाख २ हजार १६ रुपैयाँ छ । जलविद्युत कम्पनीमध्ये ऋण मुक्त भएको सम्भवत एक मात्र कम्पनी हो रिडी ।

जलविद्युत कम्पनीहरुको अधिकांश आम्दानी ऋणको किस्ता र ब्याज तिर्न खर्च हुन्छ । त्यो अबस्था रिडीलाई छैन । उसले सबै बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता गरिसकेको छ । अब उसको आम्दानी संचालन खर्चबाहेक सबै आम्दानीमा समावेश हुन्छ ।

रिडीको अर्को सकारात्मक पक्ष भनेको यस कम्पनीले भर्खरै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ कात्तिक १५ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट पनि राम्रो आम्दानी गर्ने छ । सोलार परियोजना संचालन गर्न कम्पनीलाई अतिरिक्त खर्च हुने छैन । सोलार आयोजनाबाट २०÷२५ बर्षसम्म न्युन मर्मत संभार खर्चमा विद्युत उत्पादन भइरहनेछ ।

कम्पनीले सोलार जडान क्षेत्रमा नगदेबाली खेती गरेर अतिरिक्त आम्दानी गर्ने योजना बनाएको प्रबन्ध निर्देशक कुवेरमणि नेपाल बताउँछन् । रिडीको रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीको संस्थापक सेयरमा २५५ (१४ करोड) रुपैयाँ शेयर लगानी गरेको छ । रैरांगले इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रैरांङको संस्थापक सेयर विक्री गर्ने लकिंग पिरियड यही जेठमा सकिँदैछ । त्यसपछि कम्पनीले बजारमा उक्त सेयर बिक्री गर्र्ने योजना बनाएको छ । रैरांङको सेयर नेपाल स्टक एक्स्चेन्जमा बिहीबार २७३ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।

रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ ।

आगामी वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश वा उसले सेयर बिक्री गरेर ठूलै रकम हात पार्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफना शेयरधनीहरुलाई दिने लाभांशमा निकै वृद्धि हुने देखिन्छ । कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।

कम्पनीले २०७०÷२०७१ मा पहिलो पटक १०.५३ प्रतिशत बोसन सेयर दिएको थियो । त्यसपछि हरेक बर्ष क्रमशः १०.५३, ६.३२, ६.३२, ६.३१, ५.२६ र ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । विगत ६ बर्षदेखि हरेक बर्ष लाभांश वितरण गर्ने थोरै जलविद्युत कम्पनीमात्रै छन् । यता भर्खरै सेयर निस्कासन गरेको इन्फ्राले सेयरधनीलाई कुनै लाभांश दिएको छैन । निकट भविष्यमा पनि त्यति आकर्षक लाभांश दिने सम्भावना छैन ।

दुवै कम्पनीको अन्य आधारभूत अबस्था हेरौं । इन्फ्राको भने नेट वर्थ २०७६÷७७ मा ११३.६२ रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी उक्त अबधिमा.७.०६ रहेको थियो । यस हिसावले कम्पनीको मूल्य आम्दानी अनुपात ७७.३३ देखिन्छ । जुन निकै जोखिमपूर्ण हो । यस्तै पिवी रेरियो हेर्दा ४.८ गुणा देखिन्छ । यो पनि निकै महंगो हो ।

रिडीको बजार बुक भ्यालु १०३.४९, प्रति सेयर आम्दादी ६.६२, मूल्य आम्दानी अनुपात २७.७९ र पिबी रेसियो १.७८ छ । यसरी हेर्दा जलविद्युत कम्पनीको आधाभूत अबस्था औषतमा रहेको देखाउँछ । यसरी हेर्दा निफ्राभन्दा रिडीको सेयर निकै आकर्षक देखिन्छ । अहिले थोरैले सेयर बेचिरहेकाले बजारमा आपूर्ती कम भएर मूल्य बढिरहेको सहजै अनुमान गर्न सकिन्छ ।

भोली राम्रो मूल्य पाएको भन्दै ५० देखि ७० कित्तासम्म सेयर पाउने १५ लाखभन्दा बढी लगानीकर्ताले सेयर बिक्री गर्न थाले भने त्यतिखेर डुब्नेहरु अहिले उचालिएर सेयर किन्नेहरु नै हुनेछन् । रिडीमा लगानी गर्नेहरुले भने सेयर मूल्य नबढे पनि लाभांश भने आकर्षक पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको