Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा मौलाउँदो विकृति : धितोपत्र बोर्ड र नेप्से किन मूकदर्शक ?

कृष्ण भट्टराई

शुक्रबार, २० चैत्र २०७७, १२ : २५ मा प्रकाशित

सेयर बजारमा मौलाउँदो विकृति : धितोपत्र बोर्ड र नेप्से किन मूकदर्शक ?

अहिले नेपालको सेयर बजार अविभावकविहिन जस्तै देखिएको छ । बजारमा देखिने बिकृति र बिसंगतिहरुको नियन्त्रण गर्नुुपर्ने निकायहरु मौन छन् । यसले गर्दा बजारमा अनुशासनहिनता बढेको छ ।

अहिले नेप्से परिसूचक सर्वाधिक उच्च विन्दुमा पुगेको अबस्था छ । कारोबार रकममा समेत उछाल आएको छ । बजारमा भित्रिएका लाखौ नयाँ उत्साहित लगानीकर्ताहरुले बजारमा उमंग थपेका छन् ।

नयाँ लहर आएसंगै बजारको दीर्घकालिन विकासका लागि बजारमा अनुसासन कायम गराउनु नियामक निकायको प्रमुख जिम्मेवारी पनि हो । तर नियामन गर्ने निकाय नै बजारमा मौलाएका बिकृति विसंगतिको मुकदर्कक बनेपछि लगानीकर्ताको लगानीको सुरक्षा कसले गर्ने ? लगानीकर्ताहरुको अविभावकत्व कसले ग्रहण गर्ने ?

पछिल्ला केहि गतिविधिहरुका कारण आमलगानीकर्ताहरुले ढुक्क भएर सेयरमा लगानी गर्न सक्ने अबस्था देखिँदैन । बजार सिमित बर्गको चंगुलमा गएको हो कि भन्ने महशुस आम लगानीकर्ताहरुले गर्न थालेकाछन् । जोसँग सूचनामा पँहुच छ, त्यसले मात्र कमाउन सक्ने जस्तो अवस्था अहिले बजारमा देखिन थालेको छ । जुन दिर्घकालिन रुपमा बजार विकासका लागि चिन्ताजनक बिषय हो ।

गत सोमबार अजोड इन्स्योरेन्स कम्पनीको सेयरको माग बजारमा एकाएक बढ्यो । त्यसयता मूल्यमा पनि लगातार सर्किट ब्रेक भइरहेको छ । कुनै पनि कम्पनीको सेयरको माग र मूल्य यसरी एकाएक बढ्न सामान्य रुपमा कम्पनीका बारेमा कुनै सकारात्मक समाचार बाहिरिनु पर्छ । त्यस दिन कम्पनीका बारेमा त्यस्तो कुनै प्रकारको समाचार वा सूचना बाहिरिएको थिएन ।

तर मंगलबार भने कम्पनीको साधारणसभामा ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव लैजाने सूचना सञ्चार माध्यममार्फत बाहिरियो । सोमबार कम्पनीको सेयरको माग र मूल्यमा उल्लेखनीय रुपमा बृद्धि हुनु र मंगलबार कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव गर्नुलाई बाघ कराउनु र बाख्रा पनि हराउनु भने जस्तै संयोग मात्र मान्न सकिने अवस्था छैन ।

सोमबार कम्पनीको सेयर मागसँगै मूल्यमा उछाल आउनु र मंगलबार कम्पनीको हकप्रद निष्काशनको समाचार बाहिरिनुले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङको संभावना रहेको तथ्यलाई नकार्न सकिदैन । अझै अर्को कुरा त के छ भने सोमबार कारोबार भएको कम्पनीको सेयरमध्ये २५ प्रतिशत सेयरको कारोबार एउटा मात्र ब्रोकर कम्पनीबाट भएको देखिन्छ । यो कुरालाई सामान्य लगानीकर्ताको आँखाले किमार्थ संयोग देख्न तयार देखिदैन ।

विभिन्न लगानीकर्ताका समूह तथा लगानीकर्ताहरुले अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङ भएको भन्दै नियमक निकाय धितोपत्र बोर्डमा निबेदनसमेत दिईसकेका छन् । तर पनि आजको मिति सम्म बोर्डले कुनै अध्ययन अनुसन्धान प्रक्रिया अगाडि बढाएको देखिदैन ।

नेपालको सेयर बजारमा देखिएको इन्साइडर ट्रेडिङको यो नै पहिलो घटना भने होइन । विगतमा पनि विभिन्न समयमा इन्साइडर ट्रेडिङका गुनासाहरु बाहिरिरहेको देखिन्थ्यो । सम्बन्धित निकाय मौन बसिदिदाँ र यस्तो अपराध गर्ने अपराधिलाई कारवाही गर्न नसक्दा झनै इन्साइडर ट्रेडिङ मौलाउँदै गएको विष्लेशण लगानीकर्ताहरुको छ ।

यस्तै किसान लघुवित्त कम्पनीले यहि चैत ८ गते आइतबार सञ्चार माध्याममा सूचना प्रकाशित गर्दै शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारणसभामा लैजाने उल्लेख गरेको थियो । तर सोमबार कम्पनीले संशोधित सूचना प्रकाशित गर्दै हकप्रद प्रस्ताव हटाएको थियो ।

कम्पनीले हकप्रद निष्काशन प्रस्तावसहित साधारणसभा आह्वान गरेपछि आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १५७ रुपैयाँले बढेर प्रति कित्ता १७३१ रुपैयाँ पुगेको थियो । कम्पनीले हकप्रद प्रस्ताव हटाएसँगै हकप्रदको आशमा महँगो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता मारमा परेका थिए।

त्यससंगै नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । कम्पनीले नेप्सेले सोधेको स्पष्टिकरणको जवाफमा साधारणसभा हुनुभन्दा २१ दिनअगाडि साधारणसभा आह्वान गर्नु पर्ने ब्यबस्था भएको तथा सो दिन विदा परेकाले परामर्श गर्न नसकिएकोले हकप्रद प्रस्तावसहितको सूचना प्रकाशन गरेको तर दोस्रो दिन राष्ट्र बैंकसँग परामर्श गर्दा हकप्रद प्रस्ताव हटाउन सुझाव आएकोले हकप्रद प्रस्ताव हटाएर सूचना प्रकाशित भएको उल्लेख गरेको छ । उसले दोस्रो पटक प्रकाशित सूचना आधिकारिक हुने कम्पनीले उल्लेख गरेको थियो ।

कम्पनीको स्पस्टिकरणपछि नेप्सेले आगामी दिनमा यस्तो कार्य नदोहोर्याउन चेतावनी दिँदै कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । यहाँनिर कम्पनीलाई के कारवाहि भयो ? कम्पनीको दोस्रो बजार कारोबार रोक्का हुँदा नोक्सानी कम्पनीलाई हुन्छ कि लगानीकर्तालाई ? गल्ति कम्पनीले गर्ने, अनि सजाय लगानीकर्ताले व्यहोर्न पर्ने ? यो कस्तो न्याय प्रणाली ?

कम्पनीको हकप्रद सेयर पाउने आशमा महंगो मूल्य तिरेर सेयर किन्ने पनि लगाीकर्ता । अनि सेयर कारोबार रोक्का हुँदा पूँजी स्थिर हुनुको पीडा भोग्ने पनि लगानीकर्ता । कम्पनीको लापरवाहीका कारणले लगानीकर्ताले व्यहोर्न पर्ने नोक्सानीको जिम्मेवार को हुने ? कम्पनी, नेप्से कि धितोपत्र बोर्ड ?

अब साच्चिकै लगानीकर्ताहरुको हितका लागि नियामक निकायहरुले काम गर्ने हो भने कम्पनीको गल्तिको सजाय लगानीकर्तालाई दिने प्रणालीको अन्त्य हुन जरुरी छ । कुनै कारणबस कम्पनीको व्यवस्थापनका कारणले लगानीर्ताको क्षति हुन गएमा त्यस्तो क्षतिपूर्ति स्वयम् कम्पनीको व्यबस्थापनले व्यहोर्न पर्ने कानुनी ब्यबस्था गर्न सके मात्र कम्पनीको ब्यबस्थापनले गर्ने यस्ता गल्तिहरु नदोहोर्याउला । अन्यथा नेप्सेले कारोबार रोक्ने स्पस्टिकरण सोध्ने अनि कम्पनीले स्पस्टिकरण दिएजस्तो गरेपछि कारोबार फुकुवा गर्ने प्रक्रिया कालान्तरसम्म चलि रहने देखिन्छ । यी माथिका घटनाहरु नेपालको सेयर बजारमा देखिएका बिकृतिका प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् ।

नेपालको सेयर बजारमा मौलाएको बिकृतिहरु सम्बन्धित निकायले नियन्त्रण र नियमन गर्न नसकेको यथार्थ घाम जस्तै छर्लंग छ । यसर्थ अब सेयर बजारको विकासका लागि नियामक निकाय निन्द्राबाट उठ्नु जरुरी छ । नेपालको सेयर बजार अहिले हुर्किन थालेको विरुवा मात्र हो । यो अवस्थामा सबै पक्षहरु कम्पनी, ब्रोकर, लगानीकर्ताहरु र नियामक निकायहरु मिलेर यो विरुवाको राम्रो हेरचाह र संरक्षण गर्न सकेमा भोलि सबैले त्यसको फल र सितल छहारी पाउन सक्ने छन् । तर अहिले नै अलिअलि हाँगा फैलाएको अवस्थामै लुछाचुँडी गर्न थाल्यौं भने विरुवा मर्नेछ । जसले गर्दा सबैलाई नोक्सानी हुन जान्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको