Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा अर्को स्टक एक्सचेन्ज : के भन्छन् सरोकारवाला ?

कृष्ण भट्टराई

आइतबार, २९ चैत्र २०७७, १२ : ५८ मा प्रकाशित

नेपालमा अर्को स्टक एक्सचेन्ज : के भन्छन् सरोकारवाला ?

नेपालमा सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने एक मात्र प्लेटफर्म नेपाल स्टक एक्स्चेन्जको विकल्पबारे बजारमा बहस सुरु भएको छ । सेयर बजारमा लगानीकर्ताहरुको संख्या र दैनिक कारोबार रकमसमेत उल्लेखनीय रुपमा बढेको छ ।

नेपाल स्टक एक्स्चेन्जको सेवाप्रति सबैको गुनासो रहँदै आएको छ । अब नेप्सेले मात्र धान्न नसक्ने आवाज उठ्न थालेको छ । नेप्सेको सेयर बजारमा एकाधिकार भएकाले नेप्सेले प्रवाह सेवा पनि चुस्त नभएको लगानीकर्ताहरुको भनाइ छ । केहि दिनअघि अर्थसंसारसँगको कुराकानीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले समेत अब नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता महसुश भएको बताएका थिए ।

नेपालमा सरकारले विसं २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो । नेप्सेले सार्वजनिक रुपमा जारी भएका धितोपत्रहरुको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ, जसलाई सूचीकरण भन्ने गरिन्छ ।

सूचीकरण भएका धितोपत्रहरुको किनबेचका लागि नेप्सेले अनलाइन कारोबार प्रणाली उपलब्ध गराउँदै आएको छ । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरुलाई धितोपत्र किनबेच सेवा प्रदान गर्न गर्दछन् । हाल नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत,नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैकको ५ प्रतिशत र सदस्य व्यवसायीहरुको ०.६२ प्रतिशत स्वामित्व रहेको छ ।

अहिले नेपालमा सेयर बजारले नयाँ उचाई हासिल गरेको छ नेपालमा ३३ लाखभन्दा बढीको संख्यामा डिम्याट खाताहरु सञ्चालन छन् भने १८ लाखभन्दा बढी लगानीकर्ताहरुले सक्रिय रुपमा प्राथमिक धितोपत्रमा कारोबार गरिरहेका छन् । त्यस्तै ५ लाखभन्दा बढी संख्याका लगानीकर्ताहरुले दोस्रो बजारमा सक्रिय कारोबार गरिरहेका छन् ।

अहिले नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकताका सम्बन्धमा सेयर बिश्लेशक,लगानीकर्ता संघका नेता र लगानीकर्ताहरु एबं स्टक ब्रोकरहरुको धारणा के छ ? हामीले उनीहरुसँग कुराकानी गरेका छौं ।

बिमल तिवारी, सेयर बिश्लेषक:

दुई वटासम्म स्टक एकस्चेन्ज हुनु बजारका लागि राम्रो हुने तिवारीको तर्क छ । तर अहिले हाम्रो भएको स्टक एक्सचेन्जलाई पनि व्यस्थित ढंगले चलाउन नसकिरहेको अवस्थामा नयाँ स्टक एक्सचेन्जको स्थापना गर्नुभन्दा पनि पहिले अहिले भएको स्टक एक्सचेन्जलाई व्यबस्थित गराउनुपर्ने उनको भनाई छ ।

अहिले नेपाली बजारमा भएका सानासाना लगानीकर्ताहरुको लगानीले मात्र बजार धानिरहेको अवस्थामा नयाँ ठूला लगानीकर्ताहरु नभित्रिदासम्म बजारको कारोबार रकम धेरै बढ्ने अवस्था देखिँदैन । भर्खरै मात्र नेपाली सेयर बजारमा ठूलो लगानीकर्ताका रुपमा नागरिक स्टक डिलरको प्रबेश भएको छ । अब केही थप यस्ता ठूला लगानीकर्ताहरुको बजारमा प्रबेश भए मात्र नयाँ स्टक एक्स्चेन्ज गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

राधा पोख्रेल, अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघः

हामीले बिगत केही महिनादेखि नै नेपालमा नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि आवाज उठाउँदै आइरहेका छौँ । अहिले नेपालमा एउटा मात्र स्टक एक्सचेन्ज हुदाँ लगानीकर्ताहरुमा बिकल्प हुदैन । जसले गर्दा स्टक एक्सेन्जलाई पनि सुधारिनु पर्ने बाध्यता महशुस हुदैन ।

नेपालमा एकै प्रकृतिको एउटा मात्र कम्पनीको सिन्डिकेट हुँदा त्यस्ता कम्पनीको विकास नभएको थुप्रै उदाहरणहरु छन् । तर पछि त्यस्ता कम्पनीहरुको प्रतिस्पर्धी कम्पनीहरुको स्थापना भएपछि त्यस्ता कम्पनीहरुको विकास भएका उदाहरण नेपालमा थुप्रै छन् । अहिले पनि नेप्सेमा बिभिन्न प्राविधिक समस्याहरु आइरहेका छन् । जसका कारण अहिले लगानीकर्ताहरुले झन्झट ब्यहोर्न परिरहेको छ ।

समग्र पूँजीबजारको विकासका लागि र नेप्सेकै बिकासका लागि समेत नेपालमा नयाँ स्टक एक्सचेन्जको स्थापना हुनुपर्ने उनको तर्क छ ।

कमल पन्थी, लगानीकर्ता

केही महिनादेखि अर्को स्टक एक्सचेन्जको आवश्यकताका बारेमा विविन्न बहसहरु भइरहेका छन् । नेपाल धितोपत्र बोर्डले समेत अर्को स्टक एक्सचेन्जको स्थापना गर्ने सन्दर्भमा अध्ययन भइरहेको भनेको धेरै नै भयो । तर अहिलेसम्म पनि कुनै प्रक्रिया अघि बढेको भने पाइएको छैन । अहिलेको स्टक एक्सचेन्ज उपत्यका केन्द्रित मात्र हुँदा उपत्यका बाहिर बसेर कारोबार गर्ने लगानीकर्ताहरुलाई समस्या परेको उनको तर्क छ । आज घोडेजात्राका कारण उपत्यकामा मात्र सार्वजनिक बिदा छ ।

तर नेप्सेको कारोबार भने देशैभरिका लगानीकर्ताहरुका लागि ठप्प पारिएको छ । यो उपत्यका बाहिरका लगानीकर्ताहरुमाथिको अन्याय पनि हो । अब अहिले नेपाल संघीय स्वरुपमा गइसकेको अवस्थामा प्रदेश अनुसार सार्वजनिक बिदाहरु समेत फरक फरक हुने भएकाले उपत्यका बिदा हुँदा अन्य सबै क्षेत्रहरुको कारोबार ठप्प हुनु गैरन्यायिक हुने उनको तर्क छ । अहिले लगानीकर्ताको संख्या र कारोबार रकममा आएको उछालले नेप्सेको सिस्टममा आइरहने समस्याका कारण लगानीकर्ताहरु हैरान भइरहेका छन् ।

यी सबै समस्याहरुको दीर्घकालिन समाधानका लागि नेप्सको बिकल्पमा अर्को स्टक एक्सचेन्ज स्थापना हुन सकेमा नेपालको पूँजी बजारको दीर्घकालिन विकास हुन सक्ने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको