Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डलाइ सेयरको मूल्य तोक्न कुन कानुनले अधिकार दियो ?

अर्थ संसार

बुधबार, ०२ असार २०७८, ११ : ४८ मा प्रकाशित

धितोपत्र बोर्डलाइ सेयरको मूल्य तोक्न कुन कानुनले अधिकार दियो ?

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्डले मंगलबार विज्ञप्ति जारी गरेर लगानी गर्न जोखिमपूर्ण हुने भन्दै नेप्सेमा सूचिकृत ५१ वटा कम्पनीहरूको सूचि प्रकाशित गरेको छ । लगानीर्ताहरूले अर्बौं लगानी गरेका कम्पनीहरूको नामै प्रकाशन गरेर लगानी गर्नु जोखिमपूर्ण हुने भनेपछि बजारमा एक प्रकारका हलचल आएको छ । जोखिमपूर्ण कम्पनीहरू भनेर नियामक स्वयंले सूची प्रकाशन गरेपछि लगानीकर्ताको अर्बौं रूपैयाँ जोखिममा परेको छ । 

धितोपत्र बोर्ड धितोपत्र बजारको नियामक निकाय हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५ मा बोर्डको काम, कर्तब्य र अधिकार तोकिएको छ । त्यसमा बोर्डका १९ वटा काम तोकिएका छ्न् । तीमध्ये उसले धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि परिच्छेद–९ मा उल्लेख भए बमोजिमको धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबार सम्बन्धी अन्य कसूर हुन नदिन आवश्यक व्यवस्था गर्ने, धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण पुनरावलोकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक देखेको निर्देशन सम्बन्धित संगठित संस्थालाई दिने कार्य गर्न सक्छ । ती बाहेक कुनै पनि धितोपत्रको बजार मूल्य कति हुनु पर्ने भनेर तोक्ने अधिकार उसलाइ कुनै कानुनले दिएको छैन । 

बोर्डले जोखिमपूर्ण भनि सार्बजनिक गरेका कम्पनीको सूचीमा परेका कम्पनीहरू कसरी त्यस्तो भए भनेर कुनै जानकारी छैन ।ती कम्पनीहरूलाइ के कारबाही गरियो भन्ने पनि कुनै उल्लेख छैन । बोर्डले हचुवाको भरमा कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । 

बोर्ड लगानीकर्ताको लगानीको सुरक्षा प्रति सचेत भएको भए उसले कम्पनी नतोकि विज्ञप्ति प्रकाशन गर्न सक्ने थियो । सेयर बजार अहिले आएर एक्कासी बढेको होइन । अहिले अनलाइनबाट घरमै बसीबसी लगानी गर्नेहरूको संख्या ७ लाख नाघेको छ । कुनै कम्पनीको प्राथमिक सेयर निस्कासनका बेला १७ लाखभन्दा बढीले आवेदन गर्छन् । ३५ लाखभन्दा बढीले सेयर खरिद गर्न डीम्याट खाता खोलेका छन् । यसले बजारमा सेयर खरिदकर्ताहरू निकै बढेको देखाउँछ ।सेयरकर्ता बढ्नु सेयरको माग बढ्नु हो । बजारमा जब माग बढ्छ, सेयरको पनि मूल्य बढ्छ नै ।  

अहिले बोर्डले विज्ञप्ति निकालेर लगानीकर्ताहरुको मनमा भय सिर्जना गरेको छ । लगानीकर्ताको अभिभावक भनेर चिनिने नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाइ संरक्षण गर्नुको साटो भय सिर्जना गरेर प्यानिक सेल गर्न बाद्य पारेको देखिन्छ । अहिले मात्र एक्कासी १०० सयको कम्पनी रातारात १३०० पुगेको होइन । त्यस्तै ४०० सयको लघुबित्त राता(रात ५०००ं पुगेको होइन । त्यतिन्जेल धितोपत्र बोर्डले आफ्नो कुनै भूमिका देखेन । 

कमजेर वित्तीय अबस्थाका कम्पनीहरुलाई हक्प्रद सेयर निकाल्न अनुमति बोर्ड आफैंले दिएको हो । प्रतिसेयर नेटवर्गथ ऋणात्मक भएका जलविद्युत कम्पनीमा दैनिक सर्किट लागेर बढ्दा धितोपत्र बोर्ड कहाँ रमिता हेर्दै थियो ?

धेरै लगानीकर्ताको मान्यता के छ भने बजार बढ्न थाल्यो कि धितोपत्र बोर्डले बजार घटाउन कुनै न कुनै षडयन्त्र  गरिहाल्छ । यसअघि पनि त्यस्तो काम धितोपत्र बोर्डले गरेको छ ।

बोर्डको सूचीमा परेका नेपाल पूनर्वीमा कम्पनी, नेपाल बीमा संस्थान, नागरिक लगानी कोष, साल्ट ट्रेडिंग, माथिल्लो तामाकोशी, जलविद्युत लगानी तथा विकास कम्पनी जस्ता सरकारको प्रत्यक्ष लगानी छ । सरकारको समेत स्वामित्व भएकाले सर्वसाधारणले ती कम्पनीमा विश्वास गरेर लगानी गरेका छन् । तर बोर्ड ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण भन्छ । 

लगानीकर्ताहरूले दैनिक बजारमा वेथितीहरू भोग्दै आएका छन्  ।  टिएमएस राम्रोसँग चल्दैन, क्लोज आउटको पीडा उस्तै छ, मेरो सेयरबाट समयमा इडिइआएस गर्न सकिँदैन । सर्वसाधारण लगानीकर्ताहरूको पहुँचमा ब्रोकर कम्पनीहरू छैनन् । सर्वशुलभ पहुँच पुर्याउन देशव्यापी ब्रोकरहरूको उपस्थिति गराउन नयाँ ब्रोकरलाई लाईसेन्स दिने, बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर कारोवारमा पहुँच,खरिद र बिक्रीमा लाग्दै आएको चर्को कमिशनमा एकततर्फी कमिशनको व्यवस्था, खरिद बिक्रीमा लिँईदै आएको कमिशनमा पुनरावलोकन, पूँजिगत लाभकर घटाउने जस्ता लगानीकर्ताहरूको सर्वोपरी हितको कार्यक्रमहरूप्रति धितोपत्र बोर्डलाइ कुनै चासो छैन । 

उसलाइ बजार कसरी घटाउनेमा मात्र चिन्ता देखिन्छ । त्यसमा पनि कम्पनी तोकेर लिस्ट तयार भएपछि आफ्ना लगानीकर्तालाइ खबर गरेर धितोपत्र बिक्री गर्न लगाउने अनि विज्ञप्ति प्रकाशन गरेर लगानीर्तालाइ प्यानिक बनाइ बजार घटाउने गरेको लगानीकर्ताको आरोप छ । यस्तो आरोपमा धेरै सत्यता देखिन्छ । 

बोर्डको विज्ञप्तिप्रति लगानीकर्ताहरूले त आपत्ती जनाएका छन् नै, फ्रन्टलाइन नियामक नेपाल स्टक एक्स्चेन्जले समेत गैरकानुनी भनिसकेको छ । यस्तो बेला लगानीकर्ताले आत्तिनु पर्ने अबस्था छैन । धितोपत्र बोर्डलाइ गलत सावित गर्ने भनेको बजारमा संयमित भएर सेयर खरिद विक्री गर्नु हो । कसैले पनि हत्तारिएर सेयर बेच्नुआवश्यक छैन । बेच्न नहत्तारिएपछि बजारमा मूल्य पनि घट्दैन । त्यसैले बजार आफ्नै लयमा जानेछ । यसरी बोर्डलाइ गलत साबित गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको