Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकायले नीतिगत भ्रष्टाचार गर्न थाले : उत्तम अर्याल

अर्थ संसार

विहीबार, १० असार २०७८, १५ : ४९ मा प्रकाशित

नियामक निकायले नीतिगत भ्रष्टाचार गर्न थाले : उत्तम अर्याल

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले अहिलेकाे समय बजारमा खेती गरेर खेती पाक्ने बेलाकाे समय रहेकाे बताएका छन् ।

एउटा लयमा गइरहेको बजारलाई धितोपत्र बोर्डको प्रकरणले धमिल्याएको उनी बताउँछन् । यो सम्हालिनलाई केही समय लाग्ने उनको भनाइ छ । कतिपय कम्पनीहरूमा नियमन गर्ने निकायको आँखा लागेका हुनाले ठूला लगानीकर्ताहरूलाई आफू सुरक्षित हुनुपर्छ भन्ने लागेको उनको भनाइ छ । 

लगानीकर्ताहरूले आफूले लगानी गर्ने बेलामा सोचेर विचार गरेर लगानी गरेका कम्पनीहरू गन्तव्यमा नपुगेसम्म (प्रतिफल दिने बेला नभएसम्म) यस्ता सानातिना झन्झट्हरू आएपनि आफ्नो थैलीको मुख राम्ररी बाँधेर राख्नुपर्ने उनको तर्क छ । यसो गरेमा बाटोमा आएर झम्टिन खोज्ने तत्वहरूबाट आफू राम्ररी उम्किन सकिने उनी बताउँछन् । 

आफूले लगानी गर्ने बेलामा आफूलाई फाइदा हुने कम्पनी हेरेर छनोट गर्नुपर्ने उनले बताए । यो कम्पनी मेरो लागि उपयुक्त छ र यो कम्पनीबाट मैले राम्रो कमाउन सक्दछु भन्ने कुरा लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने उनी बताउँछन् । यस्तो गर्दा अहिलेको अवस्थाबाट आफू सजिलै बच्न सकिने उनी बताउँछन् । 

अहिलेको बजारको अवस्थामा लगानीकर्ताहरू धेरै नआत्तिने र धेरै नमात्तिने हुनुपर्ने उनले बताएका छन् । विश्वमा नभएका नियामक निकायहरू नेपालमा छन् भन्ने बताउँदै उनले बजारको अवस्थाहरू लगानीकर्ताहरू आफू सुरक्षित बस्नुपर्ने बताउँछन् । उनले अहिलेको अवस्थामा राम्ररी होल्ड गरेर बस्न सबै लगानीकर्ताहरूलाई सुझाव दिएका छन् । 

नियमनकारी निकायहरूको प्रवृत्तिले गर्दा सेयर बजार सँगसँगै कारोबार रकममा पनि गिरावट आएको उनको भनाइ छ । आजकाल नियामक निकायले नीतिगत भ्रष्टाचार गर्न थालेका उनी बताउँछन् । नियामक निकायहरूको काम सूचना दिने रहेकोमा यहाँ बजारलाई नै नियन्त्रण गर्न खोजिएको उनी बताउँछन् ।

पछिल्लाे समय नेपाली सेयर बजारले लगातार  ओरालो यात्रा तय गरिरहेकाे छ । गत मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिक गरेको हुनाले सेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा पुगेकाे छ । नेप्से ०.५९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ५२५.६४ विन्दुमा पुगेको छ । कूल २१९ वटा कम्पनीकाे एक कराेड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३३ करोड ६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको