पछिल्लाे समय प्रविधिकाे प्रयाेगहरू दिनानुदिन बढ्दै गएकाे छ । विश्व नै प्रविधिमैत्री बनेकाे छ । प्रविधिका नयाँ-नयाँ माध्यमहरू धमाधम सञ्चालन भइरहेका छन् । झन् सामाजिक सञ्जालहरूमा त प्रयाेगकर्ताहरूकाे माेह नै छुट्टै हुन्छ । सामाजिक सञ्जालकै बारेमा कुरा गर्नुपर्दा विभिन्न सामाजिक सञ्जालहरूमध्ये आजकाल एकाएक चर्चामा आएकाे छ, क्लब हाउस । नेपालमा छाेटाे समयमा नै क्लब हाउसले राम्राे लाेकप्रियता पाएकाे छ । हरेक व्यक्तिकाे अधिकांश समय माेबाइलमा नै व्यतित हुन्छ । माेबाइल चलाउँदा यस्ता नयाँ-नयाँ सामाजिक सञ्जालहरूप्रति त झन् प्रयाेगकर्ताहरूकाे रूची बढ्ने भयाे नै ।
क्लब हाउस भनेकाे के हाे ?
विभिन्न सामाजिक सञ्जालहरूमध्ये, क्लब हाउस पनि एउटा सामाजिक सञ्जाल एप हाे । खासगरी सन् २०२० मा पल डेभिसन र रोहन सेथले स्टार्टअपको रूपमा डिसकसन प्लेटफर्मका लागी क्लब हाउस बनाएका थिए । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेकाे थिएन । याे एप एन्ड्रोइड भर्सनमा ल्याइएपछि भने यसले व्यापक चर्चा पाएकाे छ । क्लबहाउसमा एउटै रुममा पाँचहजारसम्म व्यक्ति सहभागी हुन सक्नेछन् । याे एउटा भर्चुअल रूम हाे । यो एपमा तीन किसिमका भर्चुअल रुम छन् । ती हुन् : ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम ।
यस एपमा आवाजको माध्यमबाट प्रयोगकर्ताहरुबीच विभिन्न विषयमा सामूहिक र छुट्टाछुट्टै रूममा ‘भ्वाइस’ को माध्यमबाट जोडिन सकिन्छ । क्लब हाउसमा प्रयोगकर्ताहरूले आफूलाई मन लागेको विषयमा भइरहेको कुराकानी सुन्न वा आफैले समुह बनाई अन्तक्रिया गर्न सक्नेछन् । क्लब हाउस भनेकाे कुनै एक विषयमा एउटा कोठाभित्र छलफल गरेजस्तै हो ।
सेयर बजार
क्लब हाउसकाे बारेमा त हामीले बुझिहाल्याैँ । अब कुरा गराैँ सेयर बजारकाे । सेयर बजार सामान्यतय लगानी गर्ने एउटा वित्तीय औजार हाे । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो । सेयर किनबेच हुने बजारलाई सेयर बजार भनिन्छ । कुनै पनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा सेयर बजारबाट बेच्न वा किन्न सकिन्छ ।
नेपालमा सेयर बजारतिर लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । पछिल्लाे समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ ।
अघिल्लो वर्षको वैशाखमा करिब ४ लाखको संख्यामा आईपिओमा आवेदन पर्ने गरेकोमा अहिले वृद्धि भएर करिब २२ लाखसम्मले आवेदन गरेको रेकर्ड छ । हालसम्म ७७ निक्षेप सदस्यहरुबाट देशभर ३६ लाख ३१ हजारभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् । जसमध्ये २७ लाख ४० हजारभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
क्लब हाउस र सेयर बजार
क्लब हाउसमा सेयर लगानीकर्ताहरू तथा सेयर विश्लेषकहरूले सेयर बजारका विभिन्न विषयहरूमा छलफल एवमं बहस गरिरहेका हुन्छन् ।
हरेक कुराकाे सकारात्मक र नकारात्मक दुवै पक्षहरू हुन्छन् । सेयर बजारका विभिन्न विषयहरूमा आजकाल क्लब हाउसमा हुने छलफलकाे पनि फाइदा र बेफाइदा दुवै छ ।
क्लब हाउसकाे माध्यमबाट लगानीकर्ता एवमं विश्लेषकहरूले आफ्ना विचारहरू व्यक्त गर्न पाएका छन् । नयाँ लगानीकर्ताहरूले साेही छलफलहरूमा समावेश भएर आफूलाई थाहा नभएकाे कुराहरू सिक्ने माैका पाएका छन् ।
तर केही लगानीकर्ताहरूले भने क्लब हाउसकाे दुरूपयाेग गरिरहेका आराेप लागेकाे छ ।
एक उदाहरण
क्लब हाउसमा यही सोमबार छलफलका क्रममा दुई समूहबीच चर्काचर्की भएको थियो । साेमबार क्लब हाउसमा NICL कम्पनीका विषयमा दुई समूहकाबीच चर्काचर्की भयो । नेपाली सेयर बजारका एक ठूला लगानीकर्ताले आफ्नो प्रिमियम इलाइट सेयर ग्रुप भन्ने समूहमा "NICL बुम बुम" भन्ने शिर्षकमा छलफल चलाएपछि दुई समूहको चर्काचकी परेको हो ।
त्यही चर्काचर्कीकै प्रभाव स्वरुप मंगलबार कम्पनीको सेयरमूल्यमा गिरावट आएको कतिपय लगानीकर्ताहरुको तर्क छ ।
"NICL बुम बुम’ को नामबाट क्लब हाउसमा छलफल चलाएपछि अर्का एक लगानीकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । यसकै कारण यी दुई समूहकाबीच सार्वजनिक रुपमै आरोपप्रत्यारोप भयो । यी दुई समूहबीच केहि दिन अघि पनि क्लब हाउस मै चर्काचर्की परेको थियो ।
कानुनमा के छ ?
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ अनुसार कुनै पनि लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र किन्न वा बेच्न प्रभाव पार्नुका साथै कम्पनीको मूल्य बढाउने/घटाउने कार्य गरेमा ५० हजार रूपैयाँदेखि १ लाख ५० हजार रूपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी–नोक्सानी पर्न गएकाे रहेछ भने त्यस्ताे हानी-नाेक्सानी समेत भराई दिनुपर्नेछ ।
के भन्छन् क्लब हाउसमा सक्रिय लगानीकर्ता ?
क्लब हाउसमा सेयर बजार सम्बन्धी विभिन्न छलफलहरूमा सक्रिय भइरहने वित्तीय अर्थशास्त्री तथा सेयर विश्लेषक मुक्ति अर्यालले हरेक कुराहरू सदुपयाेग गर्ने की दुरूपयाेग गर्ने आफूमा भरपर्ने बताउछन् । सही प्रयाेग गर्ने हाे भने क्लब हाउस विभिन्न कुराहरू सिक्नका लागि एउटा राम्राे प्लाटफर्म रहेकाे उनकाे भनाइ छ । क्लब हाउसमा आफूसँग भएका ज्ञानहरू आदान प्रदान गर्न सहज भएकाे छ । क्लब हाउसमा व्यक्तिगत आलाेचना र आक्षेपमा नगएर राम्रा विषयहरूमा छलफल गर्नुपर्नेमा उनकाे जाेड छ । प्रायजसाे हरेक सामाजिक सञ्जालमा झगडाहरू देखिइरहने हुँदा क्लब हाउसमा पनि झगडा हुनु सामान्य रहेकाे उनकाे भनाइ छ । दुरूपयाेग गर्नेहरूले हरेक कुराकाे दुरूपयाेग गर्छन् भन्दै उनले क्लब हाउसकाे राम्ररी सदुपयाेग गर्दा लगानीकर्ताहरूले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।
क्लब हाउसमा सक्रिय अर्का एक लगानीकर्ताले क्लब हाउसले गर्दा नयाँ लगानीकर्ताहरूलाई शिक्षा मिलिरहेकाे बताए । तर विभिन्न समूहमा कम्पनीकाे नामै ताेकेर हुने गरेकाे अस्वस्थ्य प्रचारबाजी गलत रहेकाे उनकाे तर्क छ । यसका लागि नियमनकारी निकाय नेपाल धिताेपत्र बाेर्डले पनि आवश्यक कदम चाल्न नसकेकाे उनी बताउँछन् । उनले पनि माथी उल्लेख गरिएकाे दुई समूहबीचकाे चर्काचर्कीकाे कुरा गर्दै अहिले क्लब हाउसमा विकृती भएकाे स्वीकार गरेका छन् । उनले यी कुराहरूलाई नियमनकारी निकायहरूले नियन्त्रणमा लिनुपर्ने बताएका छन् ।
यही विषयमा बाेल्दै इन्जिनीयर तथा युवा लगानीकर्ता रोहन कार्कीले पछिल्लाे समय क्लब हाउसमा विकृती फैलिएकाे बताएका छन् । नियम/कानुनकाे धज्जी उडाएर क्लब हाउसमा Stock Manipulation, Unhealthy Discussion जस्ता कार्यहरू भइरहेकाे उनकाे तर्क छ । यी कुरामा नियमनकारी निकायहरू पनि आँखामा पट्टी बाँधेर बसे भने लाखाैँ लगानीकर्ताहरूकाे खर्बाैँ रूपैयाँकाे लगानी नै प्रभावित हुने उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस