Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

पत्रपत्रिका

बुधबार, १३ साउन २०७८, ०६ : २९ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको प्रमाण हिमालखबरले फेला पारेको छ। ढुंगानाले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको हो।

नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ ले ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख छ। तर, ढुंगानाले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनु अगावै व्यक्तिगत प्रभावका आधारमा विदेशमा बसोबास गरिरहेकी छोरीको नाममा किनेको भेटिएको हो।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। बुक बिल्डिङ भनेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया हो, जसमा पूँजी बजारका संस्थागत लगानीकर्ताले निष्कासन गरिन लागेको कम्पनीको शेयरलाई आफूहरूले तिर्नसक्ने मूल्य तोक्छन्। यसैका आधारमा मूल्य तय भएर उक्त कम्पनीको शेयर निष्कासन हुन्छ।

गत आर्थिक वर्षमा शेयर निष्कासनको तयारी गरे पनि प्रक्रिया पूरा नभएकाले आगामी २० साउनमा निष्कासनका लागि अनुमति दिन धितोपत्र बोर्ड समक्ष प्रस्ताव गरिन लागेको कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए। शेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ । 

सर्वोत्तमले प्रतिकित्ता रू. ७५० मा शेयर बिक्रीका लागि प्रस्ताव गरेको कम्पनीका अध्यक्ष न्यौपानेले बताए। तर, यो मूल्य बुक बिल्डिङको प्रक्रियापछि मात्रै तय हुनेछ। 

सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन्। सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६/७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हो। 

२१ पुस २०७६ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भीष्म ढुंगानाले सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरिसकेपछि पारिवारिक सदस्यका नाममा शेयर किनेको देखिएको छ। कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए।

ढुंगानाले विदेश बस्ने छोरीका नाममा शेयर रहेको स्विकार्दै यो छोरीले अमेरिकाबाट पैसा पठाएर किनेको उनको आफ्नै शेयर भएको बताए। “म धितोपत्र बोर्डको अध्यक्ष हुँदैमा विवाहिता छोरीले शेयर किन्न कानूनले छेकेको छैन। कि विवाहित छोरीलाई पनि मैले नै पाल्नुपर्‍यो, नत्र उनीहरूले शेयर किन्न नहुने भन्ने हुँदैन,” ढुंगानाले भने।

ढुंगाना नेपाल राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक हुन्। उनलाई २०७६ सालमा सरकारले धितोपत्र बोर्डको चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिशमा ढुंगानाले अध्यक्ष पद हात पारेको चर्चा चलेको थियो।

तर, बुक बिल्डिङ मार्फत महँगो मूल्यमा शेयर निष्कासन गर्न लागेको कम्पनीका बारेमा शुरूमै सूचना भएका अध्यक्ष ढुंगानाले छोरी मार्फत शेयर किन्नुले भित्री कारोबार गरिएको अर्थ्याउने धितोपत्र कानूनका एक जानकारले बताए। “यो सरासर भित्री कारोबार हो, यसमा तलमाथिको कुनै प्रश्नै छैन,” उनले भने। 

धितोपत्र ऐनको दफा ९१ ले भित्री कारोबारका सम्बन्धमा व्याख्या गर्दै ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ।

धितोपत्र बजारका विज्ञ अधिवक्ता अमृत खरेलले निष्कासन गर्न लागेको कम्पनीका विषयमा सूचना हुने व्यक्तिको तीन पुस्तासम्मले शुरूमै शेयर किन्नु आचारसंहिताको हिसाबले अनैतिक मात्र नभई भित्री कारोबार नै भएको बताए। “निष्कासन भइसकेको वा हुन लागेको कम्पनीको भित्री सूचना हुने धितोपत्र बोर्डका सदस्य वा कर्मचारीले त्यस्तो गरिएको भेटिए उनीहरूमाथि छानबिन आवश्यक हुन्छ,” उनले भने। 

सर्वोत्तम सिमेन्टमा धितोपत्र बोर्डका अध्यक्षसहित यसको बिक्री प्रबन्धकको पनि स्वार्थ बाझिएको देखिएको छ। सर्वोत्तम सिमेन्टको प्रमुख बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई ब्यांकको सहायक कम्पनी हो। ग्लोबल आईएमई ब्यांकमा सर्वोत्तमका अध्यक्ष न्यौपानेकै एक लाख कित्ताभन्दा धेरै शेयर स्वामित्व रहेको न्यौपानेले हिमालखबरसँग बताए। 

ग्लोबल आईएमई ब्यांकका प्रमुख शेयरधनी हेमराज ढकालले पनि शेयर निष्कासन गर्न लागेको कम्पनी सर्वोत्तम सिमेन्टको शुरूमै शेयर किनेर राखिसकेको देखिएको छ। ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर छ। ग्लोबल आईएमई ब्यांकमा ढकाल परिवारको १० प्रतिशतभन्दा धेरै शेयर स्वामित्व छ। हेमराजका सहोदर दाइ चन्द्रप्रसाद ढकाल धितोपत्र बोर्डका सदस्य छन्। त्यसैगरी, अम्बिकाप्रसाद पौडेलको नाममा एक लाख ७८ हजार ६७६ कित्ता, हाथवे इन्भेस्टमेन्टका नाममा एक लाख १९ हजार ११८ कित्ता, चन्द्र टण्डनका नाममा एक लाख ११७ कित्ता शेयर छ। हाथवेमा विभिन्न ब्यांक तथा वित्तीय संस्थाका उच्च तहका कर्मचारीको पनि शेयर लगानी छ। त्यसैगरी, व्यवसायी दीपक मल्होत्राको नाममा ८९ हजार ३३८ कित्ता शेयर छ। यी सबै शेयर सर्वोत्तम सिमेन्टका अधयक्ष न्यौपानेले टुक्र्याएर हस्तान्तरण गरेका हुन्।

न्यौपानेले साधारण शेयर निष्कासन गर्न लागेकाले कानूनले मिल्ने गरी शेयर बिक्री गरिएको बताए। “व्यापारमा विभिन्न समूहले मिलिजुली काम गर्छन्, सर्वोत्तमको शेयर हामीलाई पनि दिनुपर्‍यो भनेपछि मैले आईएमई समूह लगायतका साथीहरुलाई दिएको हुँ,” न्यौपानेले भने।

सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६/७७ मा रू. ७७ करोड ७६ लाख नाफा कमाएको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्ष यसको नाफा रू. १ अर्ब १७ करोड १७ लाख थियो। अध्यक्ष न्यौपानेका अनुसार, गत आर्थिक वर्ष २०७७ ७८ मा यसको खूद नाफा सवा अर्ब हाराहारीमा हुने अनुमान गरिएको छ। 

यो समाचार हिमाल खबर पत्रिकामा रमेशकुमार न्यौपानेले लेखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको