कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरीद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।
कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरीद सापटी कर्जा शुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।
जग्गा खरीद सापटीको अधिकतम सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलवमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० लाख वा जग्गा खरीदविक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिनेछ ।
कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम १० वर्षको हुनेछ । कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ ।
सञ्चयकर्ताले पहिले लिएको जग्गा खरीद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरीद सापटी लिन सक्नेछन् । जग्गा खरीद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौं उपत्यकाभित्र कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्नेछ ।
सञ्चयकर्ताले जग्गा खरीद सापटी लिन काठमाडौं उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यलयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्नेछ ।
कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरलचक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ, भने औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षासुविधा समेत प्रदान गर्दै आइरहेको छ ।
अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीलाई कर्मचारी सञ्चय कोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य छ । कोषको गत कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २०३११ जनालाई रू. ३७ अर्ब ७८ करोड, शैक्षिक सापटी तर्फ ६६१ जनालाई रू. ५९ करोड, घर मर्मत सापटीतर्फ १७७९ जनालाई रू. एक अर्ब ८७ करोड र सरलचक्र कर्जा तर्फ ३३८५ जनालाई रू. ४ अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा रू. ४५ अर्ब १७ करोड लगानी छ ।
कोभिड–१९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको भए पनि देशको आर्थिक गतिविधिमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावण देखियता चार महीनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई रू. तीन अर्ब २७ करोड कर्जा प्रवाह भएको छ ।
कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कोभिड–१९ को अवधिमा आव २०७७/७८ मा १५४४२ जना सञ्चयकर्ताले रू. ८ करोड ४३ लाख ५७ हजार ब्याजमा छूट सुविधा पाएका छन् । गतवर्ष आव २०७६/७७ मा कोभिड–१९ को अवधिमा १५ हजार ९०३ जना सञ्चयकर्ताले रू. ८ करोड ४३ लाख १६ हजार ब्याजमा छूट सुविधा पाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस