Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, करोड बढीको लोन १० प्रतिशतले घट्दा थोरै रकम लिने बढे

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १५ : ४१ मा प्रकाशित

आज (पाैष २५ गते, आइतबार) दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. राष्ट्र बैंकको ४/१२ नीतिको प्रभावः करोड बढीको लोन १० प्रतिशतले घट्दा, थोरै रकम लिने बढे

चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाहरुले सेयर धितो कर्जा शीर्षकमा १ खर्ब १ अर्ब ९५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यो रकम कर्जा प्रवाह गरेका हुन् ।राष्ट्र बैंकको प्रतिवेदन अनुसार यस्तो कर्जा अघिल्लो ४ महिनाको तुलनामा ४.१ प्रतिशतले कम हो । चार महिना अघि सन् २०२१ जुलाईमा यस्तो कर्जा लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा एक करोड भन्दा बढी सेयर कर्जा रकम घटेको छ भने १ करोड भन्दा कम सेयर कर्जा रकममा भने वृद्धि भएको छ । उक्त प्रतिवेदन अनुसार यो ४ महिनाको समिक्षा अवधिमा १ करोड भन्दा बढीको सेयर कर्जा लगानी १०.७ प्रतिशतले घटेको छ भने, ५० लाखदेखि १ करोडसम्मको लगानी ५.७ प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १२.३ प्रतिशतले बढ्दा २५ लाख भन्दा कम रकमको कर्जा पनि १६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४-१२ को क्यापका कारण १ करोड भन्दा बढीको कर्जा लगानी केही घटेको देखिन्छ ।

२. नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने, सेयरधनीलाई २० प्रतिशतसम्म बोनस

नेशनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने भएको छ । सुनकोशी हाइड्रोपावर लिमिटेडमा एनएचपीसीकै बढी सेयर स्वामित्व छ । त्यसलाई अहिले आएर एनएचपीसीले मर्ज गर्न लागेको हो । एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले सुनकोशी हाइड्रापावर लिमिटेडलाई गाभ्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको उनको भनाइ छ । उक्त कम्पनीमा एनएचपीसीको ९७ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । यसअघि साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि उक्त कम्पनी स्थापना गरिएको थियो । तर, बीचमा प्राविधिक समस्याका कारण त्यस आयोजनाको लाइसेन्स खोसिएको थियो । अहिले त्यो आयोजनाको लाइसेन्स एनएचपीसीले पाइसकेको छ । अहिले सुनकोशीसँग कुनै पनि आयोजनाको लाइसेन्स छैन । त्यसैले त्यसलाई एनएचपपीसीमा नै गाभ्न लागिएको पाण्डेको भनाइ छ । माघ मसान्तभित्र मर्जर प्रक्रिया पुरा हुने उनको भनाइ छ । कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस शेयरको रूपमा शेयरधनीलाई वितरण गर्दैछ । आउँदो साधारण सभाबाट शेयरधनीलाई २० प्रतिशतसम्म बोनस शेयर दिइने पाण्डेले बताए ।

३. एभरेष्ट बैंकको ऋणपत्र माघ ३ गतेबाट बजारमा आउँदै, ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

४. सेयर बजारमा सकारात्मक माहाेल : नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकममा उछाल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकममा पनि उछाल देखिएकाे छ । पछिल्लाे समय औषतमा ४ अर्ब रूपैयाँ बराबरकाे काराेबार भइरहेकाेमा आज भने ७ अर्बमाथिकाे काराेबार छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेकाे छ । नेप्से २.७१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । कूल २३९ वटा कम्पनीकाे एक कराेड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रूपैयाँ ११ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । आइतबार पनि अपि पावर कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २९ कराेड २२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस्तै युनियन हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.९८ प्रतिशत र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेकाे छ । यस दिन १०% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त ॠणपत्रकाे मूल्य १.४२ प्रतिशतले घटेर एक हजार १० रूपैयाँमा झरेकाे छ । 

५. सहकारीको सन्दर्भ ब्याजदर स्वचालित बनाउन गृहकार्य

सहकारीको ऋणमा अधिकतम ब्याजको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन तथा कार्यान्वयमा समस्या हुन थालेपछि सहकारी विभागले स्वचालित बनाउने भएको छ । बजारमा ब्याजदर बढ्दा सन्दर्भ ब्याजदर पनि बढ्ने र घट्दा पनि घट्ने गरी ब्याजदर पुनरावलोकन गर्ने नीति बनाउन लागेको हो । यसका लागि सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उपसमिति’ गठन गरेको छ । समितिले बजारको अवस्थाका आधारमा ब्याजदर निर्धारणसम्बन्धी मापदण्डका तय गर्न सुझाव दिने कार्यभार तोकिएको छ । सहकारी ऐन तथा नियामावलीमा सहकारीको ऋण लगानीको ब्याजमा सीमा रहने गरी सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरिएको छ । सोही प्रावधानका आधारमा सहकारी विभागका रजिष्टारको संयोजकत्वमा रहेको समितिले ब्याजदर तोक्ने व्यवस्था छ । उक्त समितिले २०७६ साउनदेखि सहकारीमा १६ प्रतिशत ब्याजदर कायम गरिएको थियो । त्यसपछि १५ कात्तिक २०७७ देखि घटाएर १४.७५ प्रतिशतमा झारिएको थियो । अहिले बजारमा तरलता अभाव भएपछि ब्याजदर पुनरावलोकन गर्न दबाब बढेपछि समितिले कुनै निर्णय गर्न सकेको छैन ।

६. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार कुमारी बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस बापतकाे ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । त्यसैगरी,  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

७. बुद्धभुमि नेपालको आईपीओ डिम्याट खातामा जम्मा, यसै साताभित्र काराेबार खुलाउने तयारी

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BNHC सिम्बाेल पाएकाे छ । हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे । उक्त आईपीओ असाेज २२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

८. विजय लघुवित्तको साधारण सभा सम्पन्न, २१.०८५ प्रतिशत लाभांश पारित

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा हिजाे पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा सम्पन्न भएकाे छ ।संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

९.  आइतबार सुन–चाँदीको मूल्य स्थिर

 आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेकाे छ ।  आज पनि सुन प्रतिताेला ९१ हजार ६ सय र चाँदी प्रतिताेला एक हजार २ सय २५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको