Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर, ३ सयले बढ्याे ,२१ प्रतिशत बाेनस दिने,नाेक्सानी घट्याे

अर्थ संसार

बुधबार, २६ माघ २०७८, २१ : ०१ मा प्रकाशित

आज माघ २६ गते, बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. लगानीकाे अवसर : इमर्जिङ नेपालकाे आईपीओ आजदेखि खुल्याे

इमर्जिङ नेपाल लिमिटेडले आज माघ २६ गते, बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओको कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. आरम्भ चाैतारी लघुवित्तले गर्याे लाभांश घाेषणा, २१ प्रतिशत बाेनस दिने

आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाकाे हिजाे माघ २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. २२ अंकले घट्यो नेप्से, काराेबारमा अरूण भ्याली अब्बल

आज (बुधबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.०६ अंकले घटेर २८१३.५२ विन्दुमा पुगेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.५१ अंकले घटेर ५२८.९९ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । बुधबार पनि कारोबारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.०८ प्रतिशतले बढेर ४ सय १ रूपैयाँ पुगेको छ । यस दिन बुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर ६ सय ८६ रूपैयाँ कायम भएको छ । 

४. नयाँ सारथी लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने १४.२९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ११ कराेड ६१ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी ( ईपीएस) ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेकाे छ ।

५. धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा 'आरजु' फ्याक्टर हाबी हुनसक्ने !

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलको नाम सर्ट लिस्ट गरिसकेको छ । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको हो । अब यी ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई बोर्डको अध्यक्ष चयन गर्नेछ । अन्तवार्ताका लागि छनौट भएकाहरुमध्ये पनि रमेश हमालको सम्भावना बलियो देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा समेत बोर्डमा हमाललाई ल्याउन चाहान्छन् उनिसंग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेको बताइन्छ । हमाललाई नियुक्ती दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको स्रोतको दाबी छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनि एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् । देउवा प्रधानमन्त्री बनेदेखि नै विभिन्न नियुक्ती, सरुवा र बढुवामा आरजु र उनको सचिवालय हाबी हुने गरेको स्रोतको दाबी छ । 

६. भर्खरै आईपीओ निष्कासन गरेकाे मध्य भोटेकोशी जलविद्युतकाे नाेक्सानी घट्याे

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ३ लाख ७० हजार रुपैयाँ नाेक्सानमा रहेकाे थियो । कम्पनीले हालसम्म विद्युत बिक्री गरेकाे छैन । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनी २ कराेड ७६ लाख २२ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी २ कराेड ४८ लाख १७ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे थियाे । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३२ पैसा पुगेको छ ।  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

७. ३ सयले बढ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार ४ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ८० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको