Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ब्याजदर वृद्धिको प्रभाव, आईपीओ बाँडफाँड, वित्तीय विवरण+अन्य समाचार

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, २२ : ०१ मा प्रकाशित

आज (फागुन १ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ४८ हजार ७ सयले पाए १० कित्ता सेयर 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे  बाँडफाँड आज (फागुन १ गते, आइतबार) टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे । संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका छन् ।

२. नेपाल लाइफको नाफासँगै घट्यो ईपीएस, अधिकांश सूचक नकारात्मक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ६९.६४ प्रतिशतले घटेर १३ करोड ४ लाख ९९ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ५.९८ प्रतिशतले बढेर १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७५ करोड २५ लाख २३ हजार रुपैयाँ सञ्चित रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रूपैयाँ ९४ पैसाबाट घटेर ३ रूपैयाँ ६२ पैसामा झरेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ । 

३. ३०.०५ प्रतिशतले बढ्याे अपि पावरकाे विद्युत बिक्री आम्दानी, प्रतिसेयर आम्दानी १० रूपैयाँ ३७ पैसा

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ३० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.११ प्रतिशतले थाेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ३१ करोड ४६ लाख ८६ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ३०.०५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २४ करोड १९ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य श्राेतबाट २९ लाख ७२ हजार रूपैयाँ आम्दानी गरेकाे छ । त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड २३ लाख ९ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रूपैयाँ ३७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४२ पैसा पुगेको छ । 

४. ब्याजदर वृद्धिको प्रभाव सेयर बजारमा, उच्च अंकले घट्याे नेप्से

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् । आज फागुन १ गतेदेखि लागू हुनेगरी बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छन् । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ । लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका हुन् । अब वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेकाे छ । नेप्से ३.६१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा झरेको छ । कूल २२७ वटा कम्पनीकाे एक कराेड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । त्यसैगरी, आइतबार काराेबार रकममा अपर तामाकाेशीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३२ कराेड ८४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज जम्मा ५ वटा कम्पनीकाे मूल्य बढेकाे छ । ५ वटै म्यूचूअल फण्डहरू हुन् । यस दिन अपर तामाकाेशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.३७ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा झरेकाे छ ।

५. सिटिजन्स बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जाला

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले ५ वर्षसम्म पनि सिटिजन्स बैंकको शेयरधनीले बुझी नलिएको नगद लाभांश लिन अनुराेध गरेकाे हाे । सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सि.बि.आई.एल.क्यापिटल लि.,बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

६. महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित, दीपक कुमार कार्की बने कामु प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित भएका हुन् । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाइने बताए । संविधानको धारा १०१ को (६) (२) अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था उल्लेख छ ।  जबरा निलम्बनमा परेपछि न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

७. एचआईडीसीएलकाे ३ कराेड बढी सेयर आजबाट लिलामीमा

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आज (फागुन १ गते, आइतबार) बाट कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले फागुन १ गतेदेखि फागुन १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

८. १५ सयले बढ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

आइतबार सुनकाे मूल्य ताेलामा १५ सय रूपैयाँले बढेर प्रतिताेला ९५ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको