Like us!
Follow us!
Connect us!
Watch us!

९ आर्थिक समाचार एकै साथ

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, ०८ : १० मा प्रकाशित

आज फागुन २ गते, साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्ट, हमालकाे सम्भावना बलियाे

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको हो । ५ जनामा डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका थिए ।यी ३ जनामध्ये पनि रमेश हमालको सम्भावना बलियो रहेको बताइन्छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेकाे छ । हमाललाई नियुक्ती दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको स्रोतको दाबी छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनी एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

२. नेशनल हाइड्रोपावरले गर्यो लाभांश घोषणा, ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार अनलाइनकाे माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयाेजनका लागि फागुन १३ गते एक दिन बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।

३. ग्रीन भेन्चर्सकाे आईपीओ आजदेखि खुल्यो, आयोजना प्रभावित क्षेत्रका स्थानीयले भर्न पाउने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आज फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।  कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाकाे खिजिदेम्बा गाउँपालिका १, २, ३, ओखलढुङ्गा, लिखु गाउँपालिका-९ तथा रामेछाप, लिखु तामाकोशी गाउँपालिका-२ र उमाकुण्ड गाउँपालिका-७ का बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडाैँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडाैँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धाेबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलाे चरणकाे आईपीओ बाँडफाँड भएपछि दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । 

४. नेप्सेमा सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । हिजाे १०० अंक भन्दा धेरैले घटेकाे बजार आज अन्तिममा हरियाे भएर बन्द भएकाे छ ।  हिजाे भारी गिरावट देखिएकाे बजारमा आज भने सुधारकाे संकेत देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेकाे छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० विन्दुमा झरेकाे छ । कूल २२७ वटा कम्पनीकाे ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । त्यसैगरी, साेमबार काराेबारमा नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड अब्बल रहेकाे छ । कम्पनीकाे ५४ कराेड ९१ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१३ प्रतिशतले बढेर ६ सय ६५ रूपैयाँ पुगेकाे छ । यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५ सय ७५ रूपैयाँ कायम भएकाे छ । 

५. तरलताको संकट देखाउँदै वृद्धि गरिएको ब्याजदर पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको आग्रह

नेपाल इन्भेष्टर्स फोरमले तरलताको संकट देखाउँदै अत्याधिक वृद्धि गरिएको ब्याजदर पुनरावलोकन गर्न आग्रह गरेकाे छ । फाेरमले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लगानीकर्ताकाे भावना र मर्म विपरित एकतर्फी रूपमा तरलताकाे संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक बद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न सम्बन्धित निकायसँग अनुराेध गरेकाे हाे । आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजी बजार भएको हुनाले पूँजी बजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढी गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरू संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्न पनि फाेरमले विज्ञप्ति मार्फत् अनुराेध गरेकाे छ ।

६. युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो साधारण सभा, लगानीकर्ताकाे हात खाली

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा फागुन २६ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले कम्पनीका लगानीकर्ताहरूकाे हात खाली हुने भएकाे छ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

७. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ज्याेति विकास बैंक लिमिटेडकाे ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो । त्यसैगरी, नेपाल ल्युब आ​यल लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।

८. नाडेप लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा २ करोड एक लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.७५ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ५६ लाख ३१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख ६४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १३ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ५७.७२ प्रतिशतले घटेर २ करोड ९३ लाख ७४ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ६ करोड ९४ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्यस्तै, संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ९ पैसा रहेकाे छ ।

९. साेमबार सुन चाँदी दुवैकाे मूल्य स्थिर

साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुनकाे मूल्य प्रतिताेला ९५ हजार ५ सय रूपैयाँमा र चाँदीकाे मूल्य प्रतिताेला एक हजार ३ सय रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको