Like us!
Follow us!
Connect us!
Watch us!

५४ वर्षदेखि बजारमा सक्रिय डमरू भन्छन्, ‘बैंक र इन्स्योरेन्सकाे सेयर सिरानीमुनि राखेर सुत्दा हुन्छ’

लगानीकर्ताको आवाज

सोमबार, ०७ चैत्र २०७८, १२ : ४८ मा प्रकाशित

विसं २०२७ सालमा एनआईडिसी डेभलपमेन्ट बैंकमा जागिर खाँदै गर्दा त्यहाँका हाकीमहरूले सेयर बजारमा लगानी गरेको देखेर सेयर बजारको बारेमा बुझ्न मन लाग्यो नेपाली सेयर बजारका पुराना एवमं अनुवभी लगानीकर्ता डमरू बल्लभ घिमिरेलाई । त्यसपछि विसं २०३४ सालमा नेपाल बैंकको आईपीओ भरेर उनी सेयर बजारमा प्रवेश गरे । सुरूसुरूमा आईपीओ निष्कासन गर्दा कम्पनीहरूले सेयर बेच्नलाई विज्ञापन छाप्ने र किस्ताबन्दीमा किन्नलाई बोलाउन जाने गरेका सम्झँदा र अहिले हरेक आईपीओमा २० लाख बढीको आवेदन देख्दा उनलाई बजारको राम्रो विकास भएको लाग्छ । 

पहिलाको बजारमा सिमित व्यक्तिहरूसँग मात्रै सेयर हुने र ५-६ जना व्यक्तिले ब्रोकरलाई नै कन्ट्रोल गर्ने अवस्था रहेको उनले सुनाए । त्यो अवस्थाबाट पार हुँदै अहिलेको अवस्थामा ५० लाख बढीले डिम्याट खाता खोलिसकेका देख्दा आम व्यक्तिहरूमा जागरूकता बढेको उनको अनुमान छ । पहिलाको बजारसँग अहिलेको बजारलाई तुलना गर्दा सपना झैँ लाग्छ उनलाई ।  

सेयर बजारबाट अत्यन्तै सन्तुष्ट छन् उनी । त्यो बेलामा सेयर बजारमा प्रवेश गरेर एकदमै सही गरेछु जस्तो लागेको छ उनीलाई । उनलाई सेयर बजारले एउटा छुट्टै शक्ति र उर्जा दिएको छ । सेयर बजारलाई सम्मानित र आनन्दित पेशाका रूपमा व्याख्या गर्दछन् उनी । नयाँ लगानीकर्ताहरूलाई पनि स्थिर भएर सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् उनले । बरू वर्षौँसम्म होल्ड गरेपनि परेको भाउ भन्दा कम मूल्यमा सेयर नबेच्न उनको आग्रह छ ।  आत्तिएर र घाटामा परेर सेयर बेच्न नहुने उनको अनुभवले बताएको छ । 

 

आफूले कुनैपनि कम्पनीको सेयर किन्नु भन्दा अगाडि त्यस कम्पनीको बारेमा विस्तृत अध्ययन गर्ने गरेको उनी बताउँछन् । राति सुत्नुभन्दा अगाडि एक डेढ घण्टा कम्पनीको ब्यालेन्स सीट नहेरी आफूलाई निन्द्रा नै नलाग्ने उनले बताए । कम्पनीको ब्यालेन्स सीट पढ्न उनको लत बसिसकेको छ । 

बजारको वर्तमान अवस्था हेर्दा अहिलेको बजारको स्थितीलाई व्याजदर र राजनीतिका कुराहरूले प्रभाव पारेको उनको बुझाई छ । एनटीसीले इतिहासमै पहिलो पटक बोनस घोषणा गर्दा पनि मूल्य नबढेको उदाहरण दिँदै अहिलेको बजारमा लगानीकर्ताहरू सचेत बनेका देखिएको उनी बताउँछन् । 

एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता होः अम्बिका पौडेल

नेपाली सेयर बजारमा सूचना लिक गर्ने परम्पराको अन्त्य हुनु एकदमै जरूरी रहेको उनले बताएका छन् । सूचना लिक हुँदा पछि गएर कम्पनीहरूलाई नै अफ्ठ्यारो हुने उनी बताउँछन् । धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जलाई यस्ता गतिविधीहरूको बारेमा ध्यान दिन उनले आग्रह गरेका छन् । 

नेपाली बजारमा सूचिकृत कम्पनीहरूको अवस्थाको बारेमा कुराकानी गर्दै उनले अहिलेको तत्कालीन अवस्था अनुसार बैंक र इन्स्योरेन्स कम्पनीहरू सीरानीमुनि राखेर सुत्दा हुने बताए । अरू कम्पनीहरूमा भने आफूलाई कता कता शङ्का लागेको उनी बताउँछन् । लाभांश नदिने फाइनान्स कम्पनीहरूको मूल्य अचाक्लीसँग बढ्नुमा ठूला लगानीकर्ताहरूको चलखेल रहेको उनको बुझाई छ । साना लगानीकर्ताहरूलाई यस्ता कम्पनीबाट सेफ लेन्डिङमा बस्न उनले विनम्र अनुरोध गरेका छन् । 

ब्रोकरहरूको सेवाको बारेमा लगानीकर्ताको चरम असन्तुष्टी अहिलेको जल्दोबल्दो समस्या रहेको उनले बताए । की भने बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने की त ब्रोकरको संख्या बढाउनुपर्ने उनको तर्क छ । चीनजान छैन भने ब्रोकरहरूलाई सम्पर्क गर्न पनि धौधौ पर्ने हुँदा साना लगानीकर्ताहरूले अवसर नपाएका उनको गुनासो छ । ब्रोकरहरूको एकदमै सिन्डीकेट चलेको उनको आरोप छ । हालै अर्थात् फागुन ३० गते नेप्से बन्द हुनुमा पनि ब्रोकरहरूकै चलखेल रहेको उनले दावी गरेका छन् । बैंकहरूको भने कहिल्यै सर्भर डाउन भएको नसुनिने सधैँभरी नेप्सेकै मात्र बारम्बार सर्भर डाउन हुनु भनेको ब्रोकरहरूको चालु रहेको उनी बताउँछन् । 

उनै डमरू बल्लभसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको