Like us!
Follow us!
Connect us!
Watch us!

'रुस - युक्रेन युद्ध कहिले र कसरी टुंगिन्छ स्वयम् पुटिनलाई पनि थाहा छैन, लगानीकर्ता यस्ता कुरामा अल्झिनुहुन्न'

बसन्त पाण्डे

विहीबार, १३ असोज २०७९, १३ : ५६ मा प्रकाशित

'रुस - युक्रेन युद्ध कहिले र कसरी टुंगिन्छ स्वयम् पुटिनलाई पनि थाहा छैन, लगानीकर्ता यस्ता कुरामा अल्झिनुहुन्न'

मैं जिन्दगीका साथ निभाता चला गया,
हर फिक्रको धुवेंमे उडाता चला गया;
जो मिलगया उस हि को मुकद्दर समझलिया,
जो खोगया मैं उसको भुलाता चला गया। 

प्रख्यात भारतीय लगानीकर्ता बिजय केडियाले एक कार्यक्रममा यी लाईनहरु वाचन गर्दै गर्दा तालीको गडगडाहट सुनियो। 'जिरो' बाट 'हिरो' बनेका केडियालाई आदर्श मान्ने लगानीकर्ताहरुको संख्या ठूलो छ। कुनै समयमा आफ्नो छोरालाई मिल्क पाउडर सम्म किन्न नसक्ने अवस्थामा पुगेका केडिया अहिले भारतका सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छन। ३५००० रुपैंयालाई १००० करोडको पोर्टफोलियोमा बदल्न सफल भएपछी अहिले केडियाको सफलताको राज थाहा पाउन सबै लालायित छन।  

'सेयर बजार सहज रुपमा पैसा कमाउने सबैभन्दा कठिन ठाउँ हो' भन्ने केडिया अहिले ओभरनाईट सक्सेस चाहनेहरुको संख्या बढेको प्रति चिन्ता व्यक्त गर्दछन। 'अहिले समस्या नै के छ भने सबैलाई छिटो पैसा कमाउनु छ। सेयर बजारमा गरिने लगानीलाई बिजनेसको रुपमा लिने गर्नुहोस। जस्तै कुनै बिजनेस स्टार्ट गर्दा रातारात सफल हुनेभन्दा पनि कसरी बजारमा टिक्ने र आफ्नो ब्रान्ड स्थापित गर्ने भन्ने बारेमा सोच्ने गरिन्छ। सोहि अनुसारको रणनीति बनाएर अघि बढ्ने गरिन्छ। रातारात म्याजिक त हुँदैन नि ! व्यापार व्यवसायमा सफल हुन पनि समय लाग्छ। त्यस्तै सेयर बजारमा पनि सफल हुन समय लाग्छ।' उनी भन्छन।  

सेयर बजारमा कुनै एकेडेमिक डिग्रिले काम नगर्ने बताउने केडिया बजारको बटम र टप भगवानलाई मात्रै थाहा हुने र अरु कसैले पनि बजारको टप र बटम थाहा नपाउने दावी गर्छन। जसले वियर मार्केट भोगेको छैन त्यो लगानीकर्ताले बजार बुझ्न सक्दैन भन्ने केडिया अनुभवलाई प्राथमिकता दिने गर्दछन। त्यस्तै सेयर बजारमा पैसाले पैसा बनाउने हो भन्ने कुरालाई पनि उनी स्वीकार गर्दैनन्। 'तपाईंको दिमागको क्षमता तपाईंको आर्थिक क्षमता भन्दा महत्वपूर्ण हुन्छ। एउटा मान्छेले त्यति मात्रै गर्न सक्दछ जति उसको दिमागले सोच्न सक्छ। मैले ५ लाख बाट ५०० करोड कमाएका मान्छेहरु पनि देखेको छु। ५०० करोड भएकाहरु सडकमा पुगेको पनि देखेको छु।' केडिया बताउँछन्।  

अरुको नक्कल गर्नु असाध्यै घातक हुने पनि उनको भनाई छ। जिम जोइन गरेको पहिलो दिन नै अरुले ५० केजीको डम्बेल उठाएको देखेर नक्कल गर्न थालियो भने थला परिने भन्दै केडियाले आफ्नो जोखिम लिन सक्ने क्षमताको निकै राम्ररी आँकलन गर्नुपर्ने बताएका छन्।  
सन् १९८९ मा पंजाब ट्र्याक्टर्सबाट ५/६ गुणा नाफा कमाउन सफल भएका केडिया आफ्नो जीवनको टर्निङ्ग पोइन्टको रुपमा अतुल अटोमा गरिएको लगानीलाई लिने गर्दछन। अतुलको २०% हिस्सा हातमा लिएर बसेका केडियाले अतुल अटोबाट १०० गुणासम्म नाफा खाएका थिए। यो सेयरले उनको पोर्टफोलियोको साइज निकै ठूलो बनाइदियो। लगानीको दुनियामा आउनुभन्दा पहिले उनी एक ट्रेडर थिए। ११ वर्षसम्म ट्रेडिङ्ग गर्दा अन्त्यमा उनको हातमा जम्मा ३५००० रुपैयाँ परेको थियो। ट्रेडिङ्ग बाट पार नलाग्ने देखेपछि सोहि ३५००० रुपैयाँबाट लगानीको दुनियाँमा छिरेका केडिया अहिले १००० करोड भारतीय रुपैयाँको मालिक छन्।  

रुस र युक्रेनको युद्ध, त्यस्तै चिन र ताइवानबीचको झगडा अनि सो झगडामा अमेरिकाको संलग्नता र सो का कारण उत्पन्न हुनसक्ने परिस्थितिले चाहिँ सेयर बजारलाई कस्तो प्रभाव पार्न सक्ला भन्ने एक प्रश्नमा जुन कुराको उत्तर छैन त्यो कुरामा धेरै ध्यान दिनु हानीकारक हुने जवाफ केडियाले दिएका छन्। 'यतिबेला स्वयम् रुसी राष्ट्रपती भ्लादिमिर पुटिनलाई पनि रुस युक्रेन युद्ध कहाँ पुगेर टुंगिन्छ भन्ने थाहा छैन न अमेरिकी राष्ट्पति बाइडेन नै ठ्याकै यस्तै हुन्छ भनेर भन्न सक्ने अवस्थामा छन्। यस्तो अवस्थामा हामीले धेरै परिकल्पनाहरु गर्नु त्यति उपयुक्त हुँदैन। युद्द र नीतिहरुका कारण बजारमा छोटो अवधिका लागि मात्रै असर पर्ने गर्दछ। यदि कुनै कुराले कम्पनीको बिजनेस मोडेल नै बिग्रिने अथवा व्यापारमै ठूलो असर पर्ने जस्तो देखियो भने अथवा व्यापारको स्ट्रक्चर नै बिग्रिने अवस्था आयो भने मात्रै चिन्ता गर्नु आवश्यक हुन्छ नत्र यस्ता कुराहरुमा अल्झिन थालियो भने त एउटा लगानीकर्तालाई कसरी निन्द्रा लाग्छ र ? विश्वयुद्धहरु आए, गए; तरपनि सबै कुरा चल्दै गयो। सबै राम्रै नै भयो। शताब्दीकै सबैभन्दा डरलाग्दो कोरोना महामारी आयो, गयो; त्यसपछी पनि सबै राम्रै भईरहेको छ।' 

बजारमा बुल र बियरको शृंखला चलिरहने र जसले मूल्य सस्तो हुँदा किन्ने हिम्मत राख्दछ उसैले बुल मार्केटको स्वाद चाख्न पाउने बताउँदै केडियाले बियरिस बजारमा भविष्यमा तहल्का मच्चाउन सक्ने किसिमका कम्पनीका सेयरहरु ठूलो कित्ता किन्न सकियो भने धनी बन्न समय नलाग्ने आफ्नो अनुभव पनि सेयर गरेका छन्। आफूले बजार घटिरहेको अवस्थामा थुप्रै कम्पनीहरुको सेयर खरिद गरेको र सोहि सेयरहरुले आफूलाई अर्बपती बनाएको पनि केडियाले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको