Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले गरे नगद लाभांशलाई स्वागत, सिटिजन र निफ्राको मूल्य बढ्दै

बसन्त पाण्डे

विहीबार, १३ असोज २०७९, १६ : ४२ मा प्रकाशित

लगानीकर्ताले गरे नगद लाभांशलाई स्वागत, सिटिजन र निफ्राको मूल्य बढ्दै

नेपाली सेयर बजारमा बोनस सेयरलाई निकै रुचाउने गरिन्छ। कुनै कम्पनीले लाभांशको रुपमा स्टक डिभिडेण्ड दिने घोषणा गर्यो भने सो कम्पनीको सेयरमूल्य बढ्ने गरेको पाइन्छ। थप कित्ता सेयर पाईने र सेयर संख्या बढ्ने भएकाले बोनस सेयर र हकप्रद भनेपछि नेपाली  लगानीकर्ताहरु हुरुक्कै हुने गरेका छन्। 

तर अब भने त्यो परिस्थिति फेरिने हो कि जस्तो देखिएको छ। सिटिजन बैंकले ९% नगद लाभांश घोषणा गरेपछि सिटिजनको सेयरमूल्य निकै घट्ने आँकलन गरिएको थियो। तर आँकलन विपरित सिटिजन बैंकको सेयरमूल्य बढ्दो ट्रेन्डमा देखिएको छ। असोज ८ गते लाभांश घोषणा गर्नुअघि सिटिजनको सेयरमूल्य १८८ रुपैयाँमा क्लोज भएको देखिन्छ। लाभांश घोषणा भएको भोलिपल्ट मूल्य घटेर १८२ रुपैयाँमा अन्तिम कारोबार हुँदै बजार बन्द भएको देखिन्छ भने सो को भोलिपल्ट १७९ रुपैंयासम्म झरेर सिटिजनको सेयरमूल्य बढ्न थालेको थियो। आज असोज १३ गते बिहिबार सिटिजन बैंकको सेयर १९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।  

त्यस्तै ४.२% नगद लाभांश घोषणा गरेको नेपाल इन्फ्र्यास्ट्रक्चर बैंक लिमिटेडको सेयरमूल्य पनि बढिरहेको छ। निकै कम नगद लाभांश घोषणा गरेको निफ्राको सेयरमूल्य निकै तल्लो बिन्दुमा झर्ने लगानीकर्ताहरुको आँकलन विपरित सेयरमूल्य बढेको छ। लाभांश घोषणा भएको भोलिपल्ट १९५ रुपैयाँबाट १७९ रुपैयाँसम्म झरेको निफ्राको सेयर आज बिहिबार १९२ रुपैयाँमा क्लोज भएको छ।  

यसरी नगद लाभांश घोषणा गरेका कम्पनीहरुको सेयरमूल्य घट्नुको साटो बढ्दै जानुले अब नेपाली सेयर लगानीकर्ताहरु पनि परिपक्व बन्दै गएको संकेत गरेको सेयर विश्लेषक सन्दिप कुमार चौधरी बताउँछन्। ' जुनसुकै देशमा पनि सेयर बजार विकासको क्रममा छँदा बोनस सेयरलाई लगानीकर्ताहरुले बढी रुचाउने र पछि बजार विकसित हुँदै गएपछि बोनस भन्दा त क्यास नै राम्रो भन्ने धारणा विकसित हुँदै जाने गरेको देखिन्छ। नेपालमा पनि लगानीकर्ताहरुले वास्तविकता बुझ्दै गएपछि नगद लाभांश नै मन पराउन थाल्नेछन।' अर्थसंसारसँग कुरा गर्दै उनले भने।  

त्यस्तै बजारका अनुभवी लगानीकर्ता केशव कोइराला 'काका' नगद लाभांशलाई नै वास्तविक लाभांश मान्छन। स्टक डिभिडेण्ड र हकप्रद सेयरकै कारण नेपालको सेयर बजार लामो समय वियर फेजमा रहने गरेको उनी बताउँछन। 'बुलमा प्राय: सबै कम्पनीका संचालकहरुले कम्पनीको सेयर मूल्य बढाउन अनावश्यक रुपमा बोनस र हकप्रद घोषणा गर्ने गर्दछन। बोनस र हकप्रद घोषणा पछि सेयरमूल्य उच्च रुपमा बढेको मौका छोपी उनीहरु बजारबाट निस्किन्छन। बोनस र हकप्रदको भारले कम्पनीको प्रतिसेयर आम्दानी, रिजर्भ कोष निकै कमजोर हुन जान्छ। सेयर संख्या बढेर सेयर आपूर्ति निकै ठूलो मात्रामा हुने गर्दछ जसका कारण सेयरमूल्य लामो समयसम्म तल्लो बिन्दुमा नै रहने गरेको छ।' उनी बताउँछन।  

अहिले कमर्सियल बैंकहरुलाई पुँजी बढाउनुपर्ने वाध्यता नरहेको र राष्ट्र बैंकले सतप्रतिशत नगद लाभांश दिए पनि हुने गरी निर्देशिका संसोधन गरेको हुँदा प्राय: वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्दा नगदमै फोकस गर्नसक्ने देखिएको छ। एकाध बाहेकका अधिकांश कम्पनीहरुले क्यास डिभिडेण्ड दिनसक्ने सम्भावना देखिएको छ। क्यास डिभिडेण्ड दिँदा एक त मूल्य समायोजन नहुने (मार्केट प्राइसको १०% भन्दा तलको डिभिडेण्डमा), अर्को सेयर संख्या नबढ्ने हुँदा आपूर्ति पनि नबढ्ने, सेयर संख्या स्थिर रहँदा प्रतिसेयर आम्दानी पनि मेन्टेन हुने हुँदा त्यसको प्रभाव दिर्घकालमा राम्रो पर्ने देखिन्छ। त्यस्तै अहिले अधिकांश कम्पनीहरु १५ भन्दा तलको पीईमा आईसकेको हुँदा अब सेयरमूल्य थप घट्ने ठाउँ खासै नरहेको विश्लेषकहरु बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको