Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुले क्लोजआउटको २०% तिरेझैँ समयमा सेयर नआउँदा २०% क्षतिपूर्ति किन नपाउने ?

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ११ : ३७ मा प्रकाशित

लगानीकर्ताहरुले क्लोजआउटको २०% तिरेझैँ समयमा सेयर नआउँदा २०% क्षतिपूर्ति किन नपाउने ?

हिजो मेरोसेयर खोल्दा यस्तो संदेश देखियो:
हाम्रो Application मा प्राविधिक समस्याका कारणले गर्दा मिति २०७९/१०/०५ गतेको Settlement लाई अघि बढाउन सकेनौं। त्यसैले मिति २०७९/०१०/०५ गतेको भोलि मिति २०७९/१०/१० गतेका लागि स्थगित गर्नेछौं। यसबाट पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।  

२०७९/१०/०५ गते बिहिबार खरिद गरेको सेयर हिजो २०७९/१०/०९ गते लगानीकर्ताहरुको डिम्याटमा आउनुपर्ने थियो। तर सीडिएस को याप्लिकेसनमा प्राविधिक समस्या आएको कारण देखाउंदै ५ गते बिहिबार खरिद गरिएको सेयर डिम्याटमा आएन। 

सेयर बजार निकै संवेदनशील क्षेत्र हो। यहाँ मूल्यमा उतार चढाव भईरहन्छ। हिजो खातामा आउनुपर्ने सेयर नआउँदा लगानीकर्ताहरुले ठूलो घात व्यहोर्नुपर्ने हुनसक्छ। यस्तो कुरा सीडिएसले पक्कै बुझ्नुपर्ने हो। तर यस्तो संवेदनशिल कुरामा प्राविधिक समस्याको बहानामा लगानीकर्ताको खातामा सेयर नपठाउनु निकै गैरजिम्मेवारपूर्ण कार्य हो।  

सेयरलाई लिक्विड सम्पति मानिन्छ। लगानीकर्ताहरुले चाहेका बखत सेयर बिक्रि गरि नगद बनाउन पाउनुपर्छ। 

अझ कारोबारीहरुले त छोटो समयको उतार चढावहरुलाई मौकाको रुपमा सदुपयोग गर्ने गर्दछन। आउनुपर्ने सयमा सेयर खातामा नआउँदा कारोबारीहरूलाई निकै घाटा हुन जान्छ। यस्तो कुरामा नियामकहरु संवेदनशिल नभईदिंदा लगानीकर्ताहरु बारम्बार प्रताडित हुनुपर्ने अवस्था छ।  
अर्कोतर्फ लगानीकर्ताहरुले ईडिआईएस गर्न बिर्सदा वा विभिन्न समस्यामा परी ईडीआईएस गर्न नसक्दा क्लोजआउटमा पर्ने र २०% जरिवाना तिर्नुपर्ने नियम छ। पछिल्लो समय त मेरोसेयर र टिएमएस रियल टाइममा अपडेट हुन नसक्दा टिएमएसमा सेयर देखाउने र बिक्रि पनि गर्न मिल्ने अनि बिक्रि हुने तर डिम्याटमा सो सेयर नहुँदा सेटल गर्न नमिल्ने भएर पनि धेरै लगानीकर्ताहरु क्लोजआउटको मारमा पर्ने गरेका छन्। यो विषयमा धेरै लगानीकर्ताहरुले नेप्से र सीडिएसमा गुनासो दर्ता गराए तापनि नेप्से सीडिएसलाई देखाएर पन्छिने अनि सीडिएस नेप्सेलाई देखाएर पन्छिने गरेको छ। आफ्नो सिस्टमलाइ अपडेट गर्न न नेप्सेलाई चासो छ न त सीडिएसलाई नै ! 

विश्वमा रियल टाईममा कारोबार हुने अत्याधुनिक सिस्टमहरुको प्रयोग गरिन्छ। सेयर बजारमा उच्चस्तरीय प्रविधिहरुको प्रयोग गर्ने गरिन्छ। नेपालमा भने नेप्से, सीडिएस, धितोपत्र बोर्ड सबैले लगानीकर्तासंग चर्को शुल्क लिने गर्दछन तर उच्चस्तरीय प्रविधि भित्र्याएर कसरी लगानीकर्ताहरुलाई  अत्याधुनिक सुविधा दिने भन्ने बारेमा सोचेकोसम्म पनि पाइदैन।  

लगानीकर्ताहरुले आज किनेको सेयर तिन दिनपछि (टि +२) मात्रै खातामा आउने सिस्टमलाइ अपग्रेड गर्दै किनेको दिनै वा बढीमा टि +१ अथवा भोलिपल्टसम्म खातामा आइपुग्ने र पर्सिपल्ट बेच्न पाईने सिस्टम लागू गर्न माग गरेको पनि धेरै भईसक्यो। त्यतातर्फ कदम बढाउनु त कता हो कता यहाँ त आउनुपर्ने समयमा पनि सेयर खातामा आईदिदैन। सीडिएसको यस्तो गैरजिम्मेवारीपूर्ण कदमबाट लगानीकर्ताहरुलाई हुन गएको क्षतिको जिम्मेवारी कसले लिने ? लगानीकर्ताहरुले बेचेको सेयर समयमा नपठाउँदा २०% जरिवाना लगाउने नियम बनाउने नियामकहरुले लगानीकर्ताहरुले किनेको सेयर समयमा पठाउन नसक्दा लगानीकर्ताहरुलाई २०% हर्जना तिर्ने कि नतिर्ने ? यो प्रश्नको जवाफ कसले देला ? लगानीकर्ताहरुको आवाजको सम्बोधन हुने समय कहिले आउला नेपालको पूँजी बजारमा ? यी सबै प्रश्नको जवाफ लगानीकर्ताहरुले निकै व्यग्र रुपमा प्रतीक्षा गरिरहेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको