Like us!
Follow us!
Connect us!
Watch us!

‘बुलिस ट्रेन्ड’तर्फ सेयर बजार, बनाउन सक्छ नयाँ रेकर्ड !

अर्थ संसार

विहीबार, १७ साउन २०८१, ०८ : ३५ मा प्रकाशित

‘बुलिस ट्रेन्ड’तर्फ सेयर बजार, बनाउन सक्छ नयाँ रेकर्ड !

लामो समयपछि सेयर बजारमा बुलको संकेत देखिएको छ। प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन्। सेयर बजार परिसूचक बढ्न थालेसँगै कारोबार रकम समेत बढ्न थालेको छ। असार १६ गतेतर्फ औसतमा ३–४ अर्ब रुपैयाँको कारोबार रकम बढेर आज झन्डै २२ अर्ब रुपैयाँ नजिक पुगिसकेको छ । यो नेप्से इतिहासमा नै अहिलेसम्मको सबैभन्दा उच्चतम कारोबार रकम हो ।

यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता निरन्तर घट्दो अवस्थामा रहेको कारोबार रकम यति बेला फेरी बढ्न थालेको हो । असार ३१ गते अधिकतम ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । साउन १ गते बजार ७० अंकले बढ्दा ९ अर्ब १३ करोड रुपैयाँले परिसूचक बढेको थियो । त्यसयता भने दैनिक १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ। साउन २ गते १२ अर्ब, ३ गते १५ अर्ब र ६ गते १५ अर्ब रुपैयाँको कारोबार भएको थियो ।त्यस यता निरन्तर रुपमा औसतमा १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भइरहेको छ।

बैंकको ब्याज एकल बिन्दुमा छ। बैंकमा पर्याप्त लगानीयोग्य रकम छ। विदेशी मुद्रा सञ्चिती पर्याप्त छ। रेमिट्यान्स आप्रवाह बढेको छ । यसले पनि सेयर बजार बढ्न सकारात्मक भूमिका खेलेको छ। सेयर बजारमा विस्तारै बुलिस ट्रेन्ड सुरु भएको लगानीकर्ताले बताएका छन् । अर्थतन्त्रमा उल्लेख्य सुधार नभए पनि सेयर बजारमा उछाल आएर बुल आउने खालको ‘ट्रेन्ड’ देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अर्थमन्त्री पौडेलले पद बहाली गर्दाको दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो ट्युनिङ मिल्ने बताएका थिए। एमाले नेतृत्वकै सरकारले अधिकारीलाई नियुक्त गरेकाले पनि अर्थमन्त्री पौडेलले संकेत गरेअनुसार लचिलो मौद्रिक नीति आउने अनुमान पनी लगानीकर्ताले गरेका थिए। 

गभर्नर अधिकारीले सेयर बजारको व्यक्तिगततर्फको १५ करोडको सीमा यथावत् राखेर संस्थागततर्फको २० करोडको सीमा हटाइदिएका छन् । यसबाट सेयर बजारमा संस्थागत लगानीकर्ताले चाहे जति लगानी खन्याउन पाउँछन् र चाहे जति बजार बढाउन पाउँछन् ।

यसबाहेक मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार घटायो। यसअघि यो सीमासम्मको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो। २० करोडको सीमा हटाउँदै ठुला संस्थागत लगानीकर्तालाई सहजीकरण गरेको राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाउँदै साना लगानीकर्तालाई समेत खुसी पार्‍यो। यसले बजारमा सकारात्मक प्रभाव देखाउने नै भयो।

करिब तीन वर्षपछि सेयर बजारमा निकै उत्साह देखिएको छ। नेप्सेमा उच्च कारोबारसहित उछाल आएपछि लगानीकर्ता हौसिएका छन्। बजार सधैँ चलायमान हुन्छ, स्थिर रहँदैन । तर लामो अवधिसम्म १८०० देखि २००० विन्दुको आसपास बसिरहेको बजार  पछिल्ला केही वर्षमा बजार स्थिरजस्तो देखिन्थ्यो । नयाँ सरकार आउनु र मौद्रिक नीति खुकुलो बन्दै जानुले सेयर बजारलाई बढाउन भूमिका खेलेको छ ।

नेपालको भन्दा खराब अर्थतन्त्र भएका मुलुकमा पनि सेयर बजार उच्च बिन्दुमा भएकाले मुलुकमा अहिलेको अर्थतन्त्रका आधारमा बजार अझ बढ्न सक्ने बताउँछन्। अर्थतन्त्रका आन्तरिक सूचकमा उल्लेख्य सुधार नभए पनि विदेशी विनिमय सञ्चिति, सोधनान्तर, रेमिटेन्स आगमनलगायतका सूचक भने सकारात्मक छन्। 

अर्थमन्त्री विष्णु पौडेलले भने धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका पदाधिकारीसँगको भेटघाटमा पनी पुँजी बजारप्रति आफू सकारात्मक रहेको बताएका थिए। पुँजी बजारको विकास तथा स्थायित्वका लागि सक्रिय पहल गर्ने आश्वासन दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको