Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब भन्दा बढी, कुन बैंकले कति बढाए ?

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १६ : २० मा प्रकाशित

दुई महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब भन्दा बढी, कुन बैंकले कति बढाए ?

बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेप्सेमा सुचिकृत २० वटा वाणिज्य बैंकहरुले दुई महिनामा कूल १७ अर्ब ६९ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका छन् । 

आर्थिक वर्षको पहिलो महिना साउनमा ९ अर्ब १७ करोड रुपियाँ नाफा कमाएका बैंकहरुले पछिल्लो महिना थप ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका हुन् । 

कुन बैंकले कति कमाए नाफा ?

रिपोर्ट अनुसार ५ वटा बैंकले अर्बमाथि नाफा कमाएका छन् भने बाँकी १५ वटा बैंकले अर्ब तल नाफा कमाएका छन् । 
यस्तो छ, बैंकहरुको नाफाको स्थिति: 

संचालनमा रहेका २० वाणिज्य बैंकहरुमा रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक नै अगाडि देखिएको छ । भदौ महिनासम्ममा नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै, इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् । 

यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् । 

त्यस्तै एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एसिया ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकको नाफा अर्ब बढी रहेको छ । सबैभन्दा कम नाफा गर्ने माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख कमाएको छ । 

कुन बैंकले कति बढाए ?

यस अवधिमा नेपाल एसबीआइ बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ । समीक्षा अवधिमा बैंकको नाफा ९५.६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । 

धेरै नाफा बढाउनेको दोस्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकको नाफा ४४.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौसम्म ६१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा धेरै नाफा बढाउनेमा प्रभु बैंक रहेको छ । प्रभुको नाफा ३७.५० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौसम्म ६६ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ९१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, सानिमा बैंकले ३४.६० प्रतिशत, सिटिजन्स बैंकले ३३.१० प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५.१० प्रतिशत, प्राइम बैंकले १६.५० प्रतिशत, एभरेष्ट बैंकले १५.९० प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा कम नाफा राष्ट्रिय वाणिज्य बैंकको बढेको छ । यो बैंकको नाफा १.१० प्रतिशतले मात्र बढेको छ । 

२० वाणिज्य बैंकमा १४ बैंकको नाफा बढ्दा ६ वटा बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको नाफा २७.९० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्म ८० करोड ५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, दोस्रो धेरै नाफा घट्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको नाफा १०.८० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्म १ अर्ब ७५ करोड ५८ लाख कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समीक्षा अवधिमा कुमारीको बैंकको नाफा ५.३० प्रतिशत, हिमालयन बैंकको ५.२० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशत तथा नेपाल बैंकको ४.१० प्रतिशतले नाफा घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको