नेप्से परिसूचक लगातार चार दिनसम्म लगातार घटेको छ। २७७५.८५ बिन्दुमा रहेको नेप्से चार दिनमा घटेर २६७६.१५ बिन्दुमा झरेको छ। यो गिरावटले लगानीकर्ताहरूमा एक किसिमको प्यानिकको अवस्था सिर्जना गरेको छ। तर, सेयर बजारको स्वभावलाई हेर्दा यो गिरावटलाई सामान्य चक्रका रूपमा लिन सकिन्छ। बजार कहिल्यै स्थिर हुँदैन; यो समुद्रका छालहरूसरह उचारचढाव भोग्ने प्रक्रियामा हुन्छ।
हालैको गिरावट कुनै ठोस आर्थिक कारणले नभई बजारमा फैलिएका अफवाहका कारण निम्तिएको विश्लेषण गरिएको छ। केही सामाजिक सञ्जालहरू र मिडियामा आएका अफवाहले लगानीकर्ताहरूको मानसिकतामा असर पुर्याएको देखिन्छ।
एक अफवाहले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संकटमा रहेको र अर्थमन्त्री विष्णु पौडेललाई हटाउन दबाब परेको दाबी गर्यो। तर, यथार्थमा प्रधानमन्त्री ओली झापाको दमकमा १८ तले दमक टावरको उद्घाटन गरिरहेका थिए। यस्तो ठोस कार्यक्रम चलिरहेको अवस्थामा सरकार ढल्ने सम्भावना अत्यन्त न्यून देखिन्छ।
अर्को अफवाहले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रालयहरू साटफेर गर्ने सहमति भएको बतायो। यो अफवाह पनि तथ्यविहीन देखिन्छ। अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीबीच मनमुटाव नरहेको स्पष्ट पारिएको छ। मन्त्रिमण्डल पुनर्गठन भइहालेपनि बजारमा त्यस कारणबाट असर हुन पर्ने देखिन्न।
यी अफवाहहरूले लगानीकर्ताहरूलाई अन्योलमा पारेका छन्। बजारमा हुने यस्ता नकारात्मक हल्लाले लगानीकर्ताको मनोबल गिराउने काम गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा अफवाह फैलाउने गतिविधिहरूले बजारलाई अनावश्यक रुपमा प्रभावित बनाएको छ।
नेप्सेमा आएको गिरावट अस्थायी हो। सेयर बजारले सधैं यस्तै उतारचढाव सामना गर्ने भएकाले लगानीकर्ताले धैर्य गर्न आवश्यक छ। बजारले समयसँगै बाउन्स ब्याक गर्ने र नयाँ उच्च बिन्दुमा पुग्ने सम्भावना प्रबल छ।
सेयर बजारमा आउने अफवाहले लगानीकर्ताको मनोबलमा ठूलो असर पुर्याउन सक्छ। सामाजिक सञ्जाल र अनौपचारिक चर्चाहरूले बजारबारे भ्रम उत्पन्न गर्ने सम्भावना रहन्छ। यसकारण, कुनै पनि निर्णय गर्नुअघि स्रोतको विश्वसनीयता सुनिश्चित गर्नु अत्यन्तै आवश्यक छ। अफवाहलाई सत्य मानेर हतारमा सेयर किनबेच गर्दा घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। त्यसैले, सूचना तथा विश्लेषणमा आधारित निर्णय लिनुहोस्।
सामाजिक सञ्जालमा आउने नकारात्मक हल्लाहरूको सट्टा, योग्य वित्तीय विश्लेषक वा आधिकारिक स्रोतहरूको सल्लाहमा भर पर्नुहोस्। सेयर बजारको वास्तविकता बुझ्न कम्पनीहरूको वार्षिक रिपोर्ट, सार्वजनिक सूचना, र आर्थिक संकेतकहरूको गहन अध्ययन गर्नुपर्छ।
सेयर बजार छोटो समयमा ठूलो नाफा कमाउने खेल होइन। यसलाई दीर्घकालीन दृष्टिकोणले हेर्दा मात्र सफलताको सम्भावना हुन्छ। अल्पकालीन उतारचढावलाई सामान्य मान्दै, स्थिर सोच र योजनासहित लगानी गर्नु अत्यावश्यक छ।
उदाहरणका लागि, कुनै कम्पनीको सेयर मूल्य हाल घटेको देखिए पनि, त्यस कम्पनीको भविष्यमा हुने सम्भावित वृद्धिको आकलन गर्नुपर्छ। बजारले समयसँगै आफूलाई सुधार गर्ने क्रममा हुने भएकाले, धैर्यका साथ सही निर्णय गर्ने लगानीकर्ताले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त गर्ने सम्भावना रहन्छ।
आफ्नो सम्पूर्ण लगानी एउटै कम्पनी वा उद्योगमा सीमित गर्दा जोखिम बढ्छ। कुनै एक क्षेत्रमा आएको समस्या वा गिरावटले सम्पूर्ण लगानीमा असर पुर्याउन सक्छ। तसर्थ, विभिन्न क्षेत्रका कम्पनीहरूमा लगानी गर्ने बानी बसाल्नुपर्छ। उदाहरणका लागि, बैंकिङ, ऊर्जा, उत्पादन, बिमा वा अरु क्षेत्रका कम्पनीहरूमा लगानी गरेर पोर्टफोलियो विविध बनाउनु राम्रो हो। विविधिकरणले लगानी जोखिमलाई न्यून बनाउनुका साथै प्रतिफलमा सन्तुलन कायम राख्छ।
कुनै पनि लगानी गर्ने निर्णय अघि, बजारको आर्थिक, राजनीतिक, र अन्तर्राष्ट्रिय परिदृश्यको गहिरो अध्ययन गर्नु अपरिहार्य छ। अफवाहको भरपर्दा गलत निर्णय लिने सम्भावना हुन्छ, तर तथ्यमा आधारित विश्लेषणले सही दिशा दिन्छ।
जस्तै, कुनै कम्पनीको वित्तीय अवस्था, व्यवस्थापनको क्षमत, बजारमा उसले ओगटेको हिस्सा, र भविष्यमा उसले प्रदान गर्न सक्ने सेवाहरूको समीक्षा गर्नुपर्छ। त्यसका साथै, नेपालको आर्थिक नीतिहरू, सरकारी निर्णयहरू, र अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित घटकहरूको अध्ययन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
सेयर बजारका उतारचढाव स्वाभाविक छन्। यस्तो अवस्थामा, सकारात्मक मानसिकता राख्नु लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
सेयर बजार समुद्रका छालजस्तै हो, जहाँ उतारचढाव सामान्य प्रक्रिया हो। अल्पकालीन उतारचढावको डरले नअत्तालिइकन, दीर्घकालीन दृष्टिकोण राख्दै, तथ्यमा आधारित निर्णय लिनुपर्छ। अफवाहबाट टाढा रहँदै, सही विश्लेषण र धैर्यका साथ लगानी गर्नेहरूले दीर्घकालीन लाभ सुनिश्चित गर्न सक्छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस