नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको वित्तीय जानकारी इकाई (एफआईयू) ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणाली, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा वित्तीय अपराधसम्बन्धी विवरण समेटिएको छ।
प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, २०६४ अन्तर्गत रिपोर्टिङ्ग गर्ने संस्थाहरूको संख्या १,६३९ पुगेको छ। साथै, आर्थिक वर्ष २०७९/८० मा १६,९८,३९८ वटा सीमा कारोबार रिपोर्ट गरिएका थिए भने २०८०/८१ मा सो सङ्ख्या १६,९७,७१२ रहेको छ।
शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (एसटीआर) को संख्या भने २४ प्रतिशतले वृद्धि भई ७,३३८ पुगेको प्रतिवेदनमा उल्लेख छ। यी कारोबारमध्ये अधिकांश कर छली, मौद्रिक अनियमितता, बैंकिङ्ग तथा विदेशी विनिमय अपराध, बीमा तथा सहकारी अनियमितता, ठगी तथा जुवा-सट्टेबाजी जस्ता विषयसँग सम्बन्धित रहेको देखिएको छ।
गत वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भई १,६३२ वटा शङ्कास्पद प्रतिवेदनको विश्लेषण सम्पन्न भएको छ। तीमध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकाय तथा नियामकीय संस्थाहरूमा पठाइएको छ भने ७४६ वटा प्रतिवेदन भविष्यमा पुनः विश्लेषणका लागि अभिलेखीकरण गरिएको छ।
नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित एफआईयूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्दै आएको छ। सन् २०२३ मा नेपालले तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न गरेको थियो, जसअन्तर्गत एफएटिएफ (Financial Action Task Force - FATF) ले नेपाललाई थप अनुगमन सूची (Grey List) मा राखेको छ। सो सूचीबाट बाहिरिन नेपालले विभिन्न सुधार कार्य अघि बढाइरहेको प्रतिवेदनमा उल्लेख छ।
वित्तीय जानकारी इकाईले वित्तीय अपराध न्यूनीकरणका लागि बैंक, बीमा, सहकारी तथा अन्य वित्तीय संस्थाहरूलाई सचेत गराउने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्रतिवेदनमा हुण्डी, साइबर ठगी, अनलाइन जुवा तथा सट्टेबाजी, अभौतिक सम्पत्ति कारोबार, कर छली, भ्रष्टाचार जस्ता आर्थिक अपराधका प्रवृत्तिहरू उल्लेख गरिएको छ।
प्रतिवेदनको पूर्ण विवरण नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस