सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई अब चारगुणासम्म बढी शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार बीमा नवीकरणको म्याद छुटाउनेले अब सेवा सुविधाको साटो आर्थिक भार ब्यहोर्नुपर्नेछ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित शुल्क अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्दा नियमित प्रिमियम (हाल पाँचजना परिवारको लागि ३ हजार ५००) मा थप ३५० रुपैयाँ तिर्नुपर्नेछ।
यदि सेवाग्राहीले म्याद सकिएको ६ महिनाभित्र मात्र नवीकरण गरेमा ४ हजार ५५० तिर्नुपर्नेछ। त्यसैगरी, बीमा म्याद सकिएको ६ महिना देखि एक वर्षभित्र नवीकरण गर्दा ५ हजार २५० रुपैयाँ तिर्नुपर्नेछ।
एक वर्षपछि नवीकरण गर्दा शुल्क ७ हजार रुपैयाँ पुग्छ। त्यस्तै, दुई वर्षपछि नवीकरण गर्दा १० हजार ५००, तीन वर्षसम्म नवीकरण नगरेको अवस्थामा १४ हजार र तीन वर्षभन्दा बढी विलम्ब गरे १७ हजार ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
नयाँ नवीकरण नीति २४ असारमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकबाट स्वीकृत भएको हो। बोर्डका अधिकारीहरूका अनुसार बीमामा नयाँ नागरिक जोड्न जत्तिकै चुनौती, पुराना सदस्यहरूलाई नियमित नवीकरण गराइराख्न पनि उत्तिकै कठिन भइरहेको छ। त्यसैले, सेवाग्राहीलाई समयमै नवीकरण गराउन प्रेरित गर्न यस्तो कडा व्यवस्था ल्याइएको बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस