Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा जेनजी युवाको प्रदर्शन

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०८ : ५२ मा प्रकाशित

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा जेनजी युवाको प्रदर्शन

सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेनजी पुस्ताका युवाहरू आज राजधानीको सडकमा उत्रिन लागेका छन्। सोमबार बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने यो शान्तिपूर्ण प्रदर्शन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलसम्म पुग्नेछ।

‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’ को ब्यानरमा आयोजना हुने प्रदर्शनमा सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका, २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुनेछन्। आयोजक सवल गौतम र पुरुषोत्तम यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलन “जवाफदेही, पारदर्शिता र सुधार” को मागसहित भ्रष्टाचार र बेथितिको अन्त्यतर्फ केन्द्रित हुने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “हामी कानुनी, पारदर्शी र हस्तक्षेपविहीन प्रणालीका लागि उभिएका छौँ, जसले भ्रष्टाचारलाई कमजोर पार्छ र न्याय, शान्ति तथा विकासलाई सम्भव बनाउँछ।”

आयोजकहरूले आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नहुने स्पष्ट पारेका छन्। विद्यार्थी तथा युवाहरू मात्र सहभागी हुने जनाइएको छ। प्रदर्शनमा सहभागी हुनेहरूलाई विद्यार्थी पोसाक र परिचयपत्रसहित आउन आह्वान गरिएको छ, जसले आन्दोलनलाई राजनीतिकरहित र शुद्ध विद्यार्थी आन्दोलनको रुपमा देखाउनेछ।

यस आन्दोलनलाई विभिन्न संघसंस्था र व्यक्तिहरूले समर्थन जनाइसकेका छन्। सामाजिक सञ्जाल बन्दलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहारका रूपमा व्याख्या गर्दै उनीहरूले युवाको अभियानलाई एक्यवद्धता दिएका हुन्।

यता, प्रहरीले भने प्रदर्शनमा ‘घुसपैठ हुन सक्ने जोखिम’ रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको छ। आइतबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित अवरोधलाई ध्यानमा राख्दै माइतीघर र नयाँ बानेश्वर क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा लिएको छ।

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले असन्तुष्ट बनेको डिजिटल पुस्ता सडकमा उत्रन लागेको यो पहिलो ठूलो प्रदर्शन हो, जसले युवापुस्ताको असन्तोष स्पष्ट देखाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको