Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुको एउटै गुनासो, ब्रोकरहरु व्यवसायी हैन मालिक बने

अर्थ संसार

बुधबार, ३० असार २०७८, ०८ : ५४ मा प्रकाशित

लगानीकर्ताहरुको एउटै गुनासो, ब्रोकरहरु व्यवसायी हैन मालिक बने

करिब १ बर्ष अघि पूँजी बजारमा करिब ६ लाखले आईपिओमा आवेदन दिन्थे । त्यस्तै १ लाखको हारहारीमा दैनिक दोस्रो बजारमा कारोबार गर्ने गर्नेहरु थिए ।  दैनिक कारोबार रकम पनि १/२ अर्बको आसपासमा हुन्थ्यो । 

अहिले अवस्था फेरिएको छ । करिब २० लाखले प्राथमिक निस्कासनमा आवेदन दिन्छन् । त्यस्तै ७ लाखभन्दा बढी लगानीकर्ताहरुले नेप्सेको अनलाईन ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टिएमएस) को युजरनेम र पासवार्ड लिएका छन् । कारोबार रकम १७ अर्ब नाघिसकेको छ । 

यो एक बर्षमा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या र कारोबार रकममा कैयौँ गुणाले बृद्धि भएको छ । तर लगानीकर्ताहरुको तर्फबाट धितोपत्र खरिद बिक्री गरि  दिने धितोपत्र ब्यवसायी (स्टक ब्रोकर) को संख्या भने जत्तिको त्यति नै छ । 

हिजो १ लाख लगानीकर्ताहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएका ५० वटा ब्रोकर कम्पनीहरुले अहिले ७ लाख लगानीकर्ताहरुलाई सेवा प्रवाह गरिरहेका छन् । 

पहिलो कुरा त लगानीकर्ताहरुले चाहेको समयमा कुनै पनि ब्रोकर कम्पनीहरुको कार्यालयमा समयमा फोन लाग्दैन । कहिले फोन लागि हाले उठ्दैन । कतै उठिहाल्यो भने पनि यो शाखा वा त्यो शाखामा गर्नुहोस् भनेर फोन राखिदिन्छन् । 

आफ्नो पैसा हालेर किनेको सेयर समयमा खातामा हाँलिदेउ, बेचेको सेयरको पैसा समयमा देउ भन्न पनि उनिहरुलाई हारगुहार गर्नुपर्ने अबस्था छ । उनीहरुले निशुल्क सेवा प्रवाह गरिरहेको जत्तिकै गर्छन् । 

सामान्यतः व्यवसायीहरुका लागि ग्राहक भनेका देवता समान हुन् । तर ब्रोकर कम्पनीहरु सेवा प्रदायक हैन मालिक बन्न खोजिरहेको एक लगानीकर्ताले नाम  उल्लेख नगर्ने सर्तमा गुनासो गरे । 

समयमा पैसा नदिने, समयमा सेयर खातामा नहाल्ने त ब्रोकरहरुको सामान्य  भैसक्यो । अहिले कतिपय ब्रोकरहरुले त लगानीकर्ताहरुको हिसाकिताबसमेत गोलमाल गरिरहेको गुनासो लगानीकर्ताहरुको सुनिने गर्छ । 

सामान्यतः सेयर खरिद गर्नुपूर्व आफूले सेयर खरिद गर्ने रकमको २५ प्रतिशत रकम धितोका रुपमा राख्नुपर्ने नियम छ । यो रकम अनलाइनमार्फत नगदै वा ब्रोकर अफिसमा गएर चेकमार्फत पनि राख्न सकिन्छ । अहिले कतिपय ब्रोकरहरुले भने सेयर किन्ने रकम बराबर रकम नै धितोबापत नगद मागिरहेको गुनासो लगानीकर्ताहरुको छ । 

अहिले बजारमा सीमित ब्रोकरको सिन्डिकेट भएकाले पनि आफूहरुले दुःख पाइरहेको लगानीकर्ताहरुको गुनासो छ । जबसम्म बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाईसेन्स पाउदैनन्, तबसम्म यी ब्रोकरहरुको रबैया परिबर्तन नहुने बताउछन् पुराना लगानीकर्ता डमरुबल्लभ घिमिरे । 

सुरुमा २ करोड रुपैयाँ लगानी गरेर स्थापना भएका ब्रोकरहरुले अहिले महिनामै त्योभन्दा बढि मुनाफा कमाइरहेका छन् । यो नाफा हामीजस्तै लगानीकर्ताहरुले कारोबार गरिदिएकै कारण  सम्भव भएको हो । यो कुरा किन ब्रोकरहरु बुझ्दैनन्, घिमिरेले प्रश्न गरे,यदि ब्रोकरहरुको रबैया यस्तै रहिरहने हो भने यसले नेपालको पूँजी बजारलाई नै बर्बाद पार्नसक्छ । त्यसै कारण नियामक निकायहरुले बेलैमा यसतर्फ ध्यान पुर्याउनु जरुरी देखिन्छ । जबसम्म बजारमा यिनका प्रतिस्पर्धी आउँदैनन्, तब सम्म यी सुध्रिने छाटकाट नदेखिएको घिमिरे बताउँछन् । 

आँफूले ब्रोकर नम्बर ८ (आशुतोष खरिद बिक्रि केन्द्र) बाट कारोबार गर्ने गरेको र ब्रोकरले टि प्लस टु प्रणालीमा अहिलेसम्म भुक्तानी नदिएको उनी बताउँछन् । बेचेको सेयरको भुक्तानी दिन १०-१५ दिन लगाउँछन् । लगानीकर्ताहरुले कहिले काँहि किनेको सेयरको पैसा तिर्न ढिला गर्यो भने पेनाल्टी लगाउँछन् । साँच्चिकै ब्याज लगाउने नियम हो भने ब्रोकरहरुले पनि ढिला भुक्तानी गरेको हर्जना लगानीकर्ताहरुलाई बुझाउनु पर्ने घिमिरेको तर्क छ । 

आँफूले सेयर बजारमा कारोबार सुरु गरेको ४४ बर्ष भइसकेको भए पनि अहिले जस्तो ब्रोकरहरुको दादागिरी कहिल्यै नदेखेको उनको अनुभव छ । अहिले धितोपत्र बोर्ड पनि ब्रोकरहरुको अगाडि निरिह बनेको देख्दा आफू छक्क परेको बताउँछन् उनी ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको