Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डले लागू गर्यो कमोडिटी बजार सञ्चालनको निर्देशिका, के-के छन् नयाँ व्यवस्था ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १५ : ३५ मा प्रकाशित

बोर्डले लागू गर्यो कमोडिटी बजार सञ्चालनको निर्देशिका, के-के छन् नयाँ व्यवस्था ?

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेकाे छ । सेबाेनले आज (असार १५ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ निर्देशिका जारी गरेकाे हाे ।

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकाले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम यो निर्देशिका जारी गरिएको बाेर्डले जनाएको छ । 

याे निर्देशिकामा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न आवश्यक पर्ने चुक्ता पुँजी, सेयर संरचना, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, कारोबार गर्न पाउने वस्तुको सूची लगायतका विषयहरू समावेश गरिएकाे छ । 

कारोबार गरिने वस्तुका आधारमा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँ हुनुपर्ने निर्देशिकामा उल्लेख छ । वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न १ अर्ब ५० करोड चुक्ता पुँजी र वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्नको लागि २ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने भएकाे हाे । 

त्यसैगरी, बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले न्यूनतम ५१ प्रतिशत र बढीमा शतप्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनुपर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ ।

पूर्णपाठ हेर्न तल थिच्नुहाेस् :

 ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको