Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम शेयर खरीद प्रकरणः अर्थ समितिमा चर्काचर्की

पत्रपत्रिका

सोमबार, ३२ साउन २०७८, ०६ : १९ मा प्रकाशित

सर्वोत्तम शेयर खरीद प्रकरणः अर्थ समितिमा चर्काचर्की

बुक बिल्डिङ विधिबाट मूल्य अन्वेषण गरी आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको परिवारको नाममा देखिएकोबारे संघीय संसद्को अर्थ समितिमा छलफल भएको छ ।

समितिले आइतवार यसबारे धितोपत्र बोर्डसँग छलफल गर्न आह्वान गरेको बैठकमा चर्काचर्की परेको छ । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको करीब १६ हजार कित्ता नामसारी गरी बजारमा चलखेल गरेकोबारे स्पष्ट पार्न समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले बैठकको शुरुआतमै उनलाई आग्रह गरे ।

‘शेयरबजार बढिरहेको समयमा बजारलाई असर गर्ने गरी नियामक निकायका प्रमुखको चरित्रमाथि नै किन प्रश्न उठिरहेको छ,’ दाहालको प्रश्न थियो । प्रमुख जिम्मेवारी भएको व्यक्तिले आफ्नो परिवारको नाममा शेयर खरीद गर्न पाउने कि नपाउने रु भनी दाहालले प्रश्न गरेका थिए ।

अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत शेयर निष्कासन हुन लागेको कम्पनीको शेयर खरीदमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

विवाह भएर गइसकेको छोरीले शेयर खरीद गर्न पाउने जिकीर गर्दै बाहिर आएको घटनाले आफ्नो चरित्र हत्या भइरहेको ढुंगानाको भनाइ छ ।

ढुंगानाले स्पष्टीकरणमा पब्लिक कम्पनीको रूपमा दर्ता भए पनि सार्वजनिक निष्कासनमा नगई सकेको सर्वोत्तम सिमेन्टजस्ता कम्पनी र बोर्डको नियमन परिधिमा नरहेका त्यस्ता कम्पनीको शेयर खरीद विक्रीको विषय बोर्डको क्षेत्राधिकारभित्र नपर्ने समेत दाबी गरेका छन् ।

उनका अनुसार ओटीसी बजारमा कारोबार भइसकेपश्चात् मात्र नेप्सेबाट बोर्डमा त्यससम्बन्धी जानकारी प्राप्त हुने हुँदा ओटीसी बजारमा कारोबार हुने कम्पनीको सूचना तथा जानकारी कारोबार अघि तथा कारोबार अवधिमा बोर्ड, बोर्ड सदस्य तथा कर्मचारीलाई कुनै पहुँच नहुने दाबी गरेका छन् ।

समितिमा ढुंगानाले बुझाएको स्पष्टीकरणबाट सदस्यहरू भने सन्तुष्ट भएनन् । अर्थ समिति सदस्य रामकुमारी झाँक्रीले राम्रा कुरामात्रै विवरणमा देखाउने प्रयास भएको भन्दै बोर्डका अध्यक्षले सर्वोत्तमको शेयर खरीद गर्नु नैतिक नभएको बताइन् । अध्यक्षको चरित्रमाथि नै प्रश्न उठिसकेकाले कानूनी छिद्र खोजेर हिँड्न नमिल्ने उनको भनाइ थियो ।

‘पदाधकारीमाथि प्रश्न उठेपछि यसलाइ यहीँ छोड्न मिल्छ ? अध्यक्षज्यूले आफ्नोमात्र सुविधा बढाउनुभएको छ, यसले धितोपत्र बोर्डको विकास गर्छ ?,’ झाँक्रीको प्रश्न थियो । अर्थ मन्त्रालयले यस्तो गम्भीर विषयलाई सामान्य ढंगले छोडेको भन्दै उनले अर्थ मन्त्रालयमाथि नै आशंका गरिन् । अर्की सदस्य प्रमिला राईले धितोपत्र बोर्ड विवादमा पर्न नहुने बताइन् ।

सांसदहरूको जवाफ दिने क्रममा बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार लेखेको, त्यसैका आधारमा अर्थ समितिले स्पष्टीकरण मागेको र अर्थ समितिले वास्तविकता नबुझी यो विषयमा सोधखोज गरेको बताए ।

‘अहिले आएका समाचारमा भ्रमपूर्ण र तथ्यहीन छन् । समाचार माध्यमले लेखेकै भरमा अर्थ समितिले बोर्डका कुनै पनि पदाधिकारीमाथि आपेक्ष लगाउन हुँदैन,’ उनले भने, ‘अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी सबै कारबाही भोग्न तयार छौं । अनुसन्धानमा पनि सघाउँछौं । के–के कागजात चाहिन्छ, भन्नुहोस्, हामी समितिलाई उपलब्ध गराउँछौं ।’

समिति सदस्य जयकुमार राईले गम्भीर विषयमा नियामक निकायले पत्रकारले समाचारका लागि मात्रै समाचार बनाएको भन्नु जिम्मेवार निकाय अध्यक्षको प्रस्तुति आपत्तिजनक भएकाले बताइन् ।

अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले अर्थ समितिले धितोपत्र बोर्डलाई दिएको प्रतिवेदनमा राम्रै काम भएको देखिए पनि आचारसंहितामा पालना गर्ने विषयमा बोर्ड कमजोर देखिएको बताए ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको