Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्नुमा दोषी को ? राष्ट्र बैंक कि लगानीकर्ता स्वयम ?

निशा हुमाँगाई

मंगलबार, १५ भदौ २०७८, १६ : २० मा प्रकाशित

सेयर बजार घट्नुमा दोषी को ? राष्ट्र बैंक कि लगानीकर्ता स्वयम ?

आज (मंगलबार ) नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेकाे छ । सेयर बजार घट्नु अर्थात् करेक्सन बजारको लागि सुखद पक्ष भएता पनि एकाएक सबै १३ उपसमूह मध्ये सबै १३ वटै उपसमूह एकै साथ घट्नु राम्रो पक्ष भने होइन ।

बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरू एक तिर त्रसित मानसिकतामा छन् भने भोलि झन् बजार घटे आफ्नो सम्पति घट्ने त्रासमा देखिन्छन् । सामाजिक सञ्जाल हेरे त हरेक लगानीकर्ताको आफ्नै-आफ्नै विचार।

एक खालका लगानीकर्ता अहिले किन्ने सहि मौका र अब बजार ३५०० पुग्ने भन्दै छन् भने  कोही अब बजार बेरिसमा गएको र कोही बजार अब २५०० भन्दै आफ्नो तर्क राख्दै छन।  सामाजिक सञ्जालको तर्कले त लगानीकर्तालाई झन अलमलमा परेको देखिन्छ।

धेरै लगानीकर्ताको बुझाइ हालै मात्र  राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति तथा एकीकृत निर्देशनले एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेकाे हुनाले बजारमा बेच्ने चाप अधिक भएको बताउँछन् ।

यसरी सबैले आफ्नो-आफ्नो बुझाई राखी रहँदा हामीले सेयर बजारकै जाने बुझेका केही जानकार लगानीकर्ता तथा विश्लेषकहरूसँग अहिले बजारको अवस्था के हो बुझ्न कोसिस गरेका छौँ। 

केशव कोइराला, सेयर विश्लेषक एवमं लगानीकर्ता

बजार २८ सयबाट ३२ सयसम्म पुगेपछि २ सय जति घट्नु खासै अस्वभाविक नरहेको उनले बताए । नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋण मुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका उनी बताउँछन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको उनको तर्क छ । अहिले बजार बाउन्स ब्याक भएर तुरून्तै माथि जाला जस्तो नलागेको उनले बताए । बीचबीचमा छोटा छोटा बाउन्स ब्याकहरू भएपनि बजार २ महिनासम्म जति साइड वेभमा जाने जस्तो देखिएको उनी बताउँछन् । हाइड्रोपावर र फाइनान्स जस्ता पत्रु कम्पनीहरूमा चलखेल गर्ने ठूला लगानीकर्ताहरूको योजना असफल पार्न राष्ट्र बैंकले  ऋणको नीतिमा कडाई गरेको उनको तर्क छ । जबसम्म यस्ता कम्पनीहरूबाट ठूला लगानीकर्ताहरूको मोह सकिँदैन तब सम्म बजार फर्केर तुरून्तै माथि नजाने उनी बताउँछन् ।

रोहन कार्की, युवा लगानीकर्ता 

ठूला खेलाडीहरूले साना लगानीकर्तालाई प्यानिक बनाउन आक्रामक ढङ्गले सेयर बेचेका र साना लगानीकर्ताहरूले आत्तिएर आफ्नो सेयर बेचेका देखिएको उनी बताउँछन् । बजारले खोजेको जति करेक्सन पुगी सकेको भन्दै समग्रमा अहिले बजार घट्न कुनै कारण नदेखिएको उनले बताए । बजार अहिले यो भन्दा घट्ने अवस्थामा नरहेको उनको तर्क छ । लगानीकर्ताहरू आत्तिएका देखिएको भन्दै लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको उनी बताउँछन् । बजार घटाएर सेयरमूल्य सस्तो बनाई किन्न ठूला लगानीकर्ताहरू हावी भएका देखिएको उनको तर्क छ । लगानीकर्तालाई सेयर होल्ड गर्न आग्रह गर्दै उनले अहिले बजारमा किन्ने अवसर रहेको बताए । समग्रमा बजार अहिले सबै कुराले उत्तम रहेको उनको भनाइ छ ।

हरि ढकाल, सेयर लगानीकर्ता दवाव समुहका संयोजक

यसअघि ट्रेड गर्नेहरूले गर्दा ट्रेडिङको आधारमा बजार बढेको बताउँदै हालसम्म पनि राम्रा र बलिया आधारभुत पक्ष भएका कम्पनीहरूको मूल्य नबढेको उनले बताए । उनका अनुसार आईपीओ निष्कासन भएर आएका नयाँ कम्पनीहरूको मुल्य लगातार बढिरहेको भएपनि लाभांश क्षमता राम्रा भएका पुराना कम्पनीहरूको मूल्य बढेको थिएन । खेलाडीहरूले बजारलाई कर्नरिङ र चलखेल गर्ने बनाइरहेको अवस्थामा बजारलाई नियन्त्रण गर्न राष्ट्र बैंकले नीति जारी गरेको उनले बताए । बजारमा अझै करेक्सन आउने उनको तर्क छ । करेक्सन आइरहँदा यो सँगसँगै बीचमा लाभांश सिजन सुरू हुने भएकाले नयाँ लगानीकर्ताहरूमा कसले कति लाभांश दिन्छ, कम्पनीको आधारभूत पक्षहरू कस्तो छ भन्ने कुराहरू अध्ययन गर्ने बानी बस्ने उनी बताउँछन् । समग्रमा भन्दा बजारको बुल हालसम्म नसकिएको उनले बताए । 

गोपाल स्वामी, नेपाल स्टक मार्केट एनालाईसिस एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवमं अनुभवी लगानीकर्ता

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा सेयर बजार तल झरेको उनले बताएका छन् । राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण अझै पनि बजारले पचाउन नसकेको उनले बताए । बजार घट्न अन्य कुनै कारण नरहेको उनी बताउँछन् । ठुला लगानीकर्ताहरूले ऋण सल्टाउन थाल्दा बजार प्रभावित भएको उनले बताए । १२ १३ सयको इन्डेक्समा ऋण लिएका ठूला लगानीकर्ताहरूले अहिले ऋण सल्टाउँदा उनीहरू घाटामा नजाने बताउँदै यसले गर्दा साना लगानीकर्ताहरू मारमा परेका उनले बताएका छन् । ढिलो या चाँडो राष्ट्र बैंकले यो नीतिको समिक्षा गर्नुपर्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको