Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव घोषणाले बढेन नेप्से,१३२ रुपैयाँ ईपीएस, नयाँ आईपीओ + ५ जनाको नाम सर्ट लिस्ट

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, २० : ४३ मा प्रकाशित

आज (माघ २५ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१. प्रुडेन्सियल इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, ७ प्रतिशत बोनस दिने

प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे माघ २४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. लगानीको नयाँ अवसर : राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि खुल्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते, बुधबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन ८ गतेदेखि ढीलाेमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

३. धितोपत्र बोर्ड अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्ट

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको हो । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्नेछ । अब ५ जनामध्येबाट फेरि ३ जना सर्ट लिस्ट हुनेछन् । त्यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई बाेर्डकाे अध्यक्ष चयन गर्नेछ । 

४. जीवन विकास लघुवित्तको नाफासँगै चम्किए अन्य सूचक, १३२ रुपैयाँ नाघ्याे ईपीएस

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.०९ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १०९.३९ प्रतिशतले बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ४४३.२२ प्रतिशतले बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ७ कराेड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख  रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी ( ईपीएस) १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेकाे छ ।

५. समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद खुल्ला गर्ने, पौष ८ गतेसम्म कायम हुनेले भर्न पाउने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले २:१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

६. ठूला तथा संस्थागत लगानीकर्ताकाे म्यासिभ सेलले बजार प्रभावित, चुनाव घोषणाले पनि बढेन नेप्से

आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । चुनावकाे मिति ताेकिँदा सेयर बजारमा सकारात्मक उछाल देखिने लगानीकर्ताकाे अपेक्षा थियाे । तर आज बजार घटेकाे छ । ठूला तथा संस्थागत लगानीकर्ताहरूले म्यासिभ सेल गरेका कारण बजार प्रभावित भएकाे जानकार बताउँछन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५३२.४९ विन्दुमा झरेकाे छ । कूल २३० वटा कम्पनीकाे एक कराेड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । मंगलबार काराेबारमा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीकाे ३५ कराेड ८५ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ६.१५ प्रतिशतले बढेर ४ सय ८१ रूपैयाँ ९० पैसा पुगेकाे छ । यस दिन लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.२७ प्रतिशतले घटेर ३ सय ८९ रूपैयाँ कायम भएकाे छ । 

७. अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी

अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।

८. माउन्टेन इनर्जीको नाफामा ७८८ प्रतिशतको उछाल, ईपीएसमा छलाङ

माउन्टेन इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७८८.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ६८ करोड २१ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा पुगेको छ गत बर्षको यसै अवधिमा कम्पनीको ईपीएस २.८५ पैसा मात्र थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २५ पैसा पुगेको छ । 

९. प्रिमियममा आईपीओ ल्याउन लागेको रिलायबल लाइफको नाफासँगै अन्य सूचक सकारात्मक 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १.४६ प्रतिशतले बढेर १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा काेषमा १ अर्ब ६० लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे जीवन बीमा काेषको आकार ८९.२८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेकाे छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ गते सेबोनमा निवेदन पेश गरेको छ ।

१०. ५ सयले बढ्याे सुनकाे भाउ, ५ रूपैयाँले बढ्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार एक सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको